भारतीय संस्थाद्वारा राजधानीमा अवार्ड विक्री, ५३ जनाबाट लाखौँ असुली, सरकार बेखबर

हेल्थपोस्ट नेपाल

भारतीय एक गैरसरकारी संस्थाले हचुवाको भरमा नेपालमा आएर पैसा उठाउँदै अवार्ड बाँडेको पाइएको छ । भारतको ‘वर्ल्ड सिएसआर डे’ नामक संस्थाले कुनै मापदण्ड र आधारविना ‘नेपाल हेल्थ केयर लिडरसिप अवार्ड २०१९’ नाम दिएर विभिन्न विधा खडा गरी ५३ जना नेपालीलाई अवार्ड वितरण गरेको हो । वास्तवमा भारतीय संस्था नेपालीको योगदानको कदर गरेर अवार्ड दिन नभई उनीहरूबाट पैसा असुल्न नेपाल आएको थियो ।

संस्थाले अवार्डका नाममा राजधानीको मुटुमा सार्वजनिक रूपमै नेपालीलाई ठगी गरेर करोडभन्दा बढी रकम विदेश लग्यो, तर सरकारलाई त्यसको पत्तोखबर नै भएन । ठगीकर्ता संस्थाको वेवसाइटमा डा. आरएल भाटियालाई फाउन्डरका रूपमा उल्लेख गरिएको छ । अवार्ड प्राप्त गरेकाहरूबाट प्रतिव्यक्ति दुई सय डलर (करिब २२ हजार रूपैयाँ) लिएको पाइएको हो । संस्थाले अवार्ड पाउने ५३ जनाबाट करिब १२ लाख लाख रूपैयाँ असुलेको देखिन्छ । यो ५३ नेपालीसित गरिएको आर्थिक ठगीको मात्र नभई नेपालीको आत्मसम्मानसँग पनि जोडिएको विषय हो ।

भारतीय संस्थाले राजधानीको सोल्टी होटेलमा कार्यक्रमको आयोजना गरी अवार्ड विक्री गरेको हो । अवार्ड वितरण कार्यक्रममा कुनै पनि सरकारी पदाधिकारीको सहभागिता नभएको पाइएको छ । संस्थाले २४ मंसिरमा अवार्ड वितरण कार्यक्रमको आयोजना गरेको थियो ।

यसरी गरियो अवार्ड विक्री, प्रतिअवार्ड २ सय डलर
‘वर्ल्ड सिएसआर डे’ नामक संस्थाले सोल्टी होटेलमा अवार्ड वितरण कार्यक्रम राखेर विभिन्न व्यक्तिलाई अवार्ड लिनका लागि इमेल पठाएको थियो । इमेलमा २ सय डलर तिरेर अवार्ड लिनका लागि प्रस्ताव गरिएको थियो । सो प्रस्तावलाई स्वीकार गरेर तोकिएको रकम बुझाउनेहरूलाई शिक्षा, स्वास्थ्य, मनोरञ्जन, उद्योग, युवालगायत विधा निर्धारण गरी अवार्ड वितरण गरेको थियो ।

‘वुमन लिडरसिप अवार्ड’ अवार्ड खरिद गरेकी महिला भन्छिन्– अवार्ड पाउँदा खुसी छु
कार्यक्रममा अवार्ड प्राप्त गरेकी एक महिलाले आफूलाई एक्कासि अवार्ड प्रदान गर्ने जानकारी मेलमार्फत आएको बताइन् । ‘मेल आउँदा मलाई पत्यार लागेको थिएन,’ २ सय डलर बुझाएर ‘वुमन लिडरसिप अवार्ड’ थापेकी ती महिलाले भनिन्, ‘तर, अन्य साथीलाई पनि आएको थाहा पाएपछि अवार्ड लिन काठमाडौं आएँ ।’

सरकार भन्छ– हाम्रो जानकारीमै छैन
‘वर्ल्ड सिएसआर डे’ नामक भारतीय संस्थाले नेपालमा अवार्ड वितरणको कार्यक्रम राखेको बारे आफूहरूलाई कुनै जानकारी नभएको सरकारी अधिकारीहरू बताउँछन् । संस्थाले कार्यक्रमका लागि सरकारसित कुनै अनुमति लिएको पनि खुलेको छैन । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सो संस्थाले कार्यक्रमका लागि मन्त्रालयबाट अनुमति लिएको छैन । राजधानीको प्रमुख होटेलमा केही दिनको हल्लाखल्लाका बीच सार्वजनिक कार्यक्रम नै गरेर विदेशीले करिब ६ दर्जन नेपालीबाट लाखौँ ठगी गर्दा या त सरकार बेखबर रह्यो, या त मौन । दुवै अवस्था सरकारका निम्ति लज्जास्पद छन् र यसले सरकारको निरीहता दर्साइरहेको छ ।

अर्कोतर्फ पैसा तिरेर अवार्ड लिनेहरूको सोच उदेकलाग्दो छ । कुनै गुमनाम विदेशी संस्थालाई पैसा बुझाएर लिइने अवार्डले सम्मान नभएर अपमान दिनेतर्फ उनीहरूको ध्यान पुग्न सकेको देखिँदैन । अवार्ड खरिद–विक्रीको विषय होइन भन्ने बुझेको भए सायद उनीहरू ठगिनुपर्ने थिएन । यहाँ अवार्ड खरिदकर्ता मात्र ठगिएका छैनन्, लाखौँ नेपाली रूपैयाँ विशुद्ध ठगीका रूपमा बिदेसिँदा समग्र देश र अर्थतन्त्र पनि ठगिएको छ । त्योभन्दा पनि बढी नेपालीको आत्मसम्मानमा ठेस पुगेको छ ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *