मौसममा शनिबार सुधार आउने, हिमपात र वर्षाले शुक्रबार देशभरको जनजीवन प्रभावित

बुधबारदेखि नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित बनाएको छ । यतिवेला देशभर हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ भने पश्चिम पहाडी भाग, काठमाडौं उपत्यकासहित मध्यभाग तथा तराईमा वर्षा भइरहेको छ । सामान्य वर्षा देशका सबैजसो भूभागमा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम शनिबारसम्म रहने महाशाखाको अनुमान छ ।

‘काठमाडौंलगायत देशका अधिकांश भागमा शनिबार दिनभरजसो पानी परिरह्यो, जुन अहिले पनि जारी छ,’ महाशाखाका मौसमविद् समीर श्रेष्ठले हेल्थपोस्टसित भने, ‘भोलि (शनिबार) आजको भन्दा निकै सुधार आउने छ र बेलुकीसम्म वा आइतबार बिहानसम्म मौसम पूरै सफा हुनेछ ।’

मौसमविद् श्रेष्ठका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको असरका कारण देशैभर बदली भई पानी परेको हो । ‘भोलि बिहानसम्म यो प्रणाली निकै कमजोर भइसक्नेछ र दिनभरमा मौसममा निकै सुधार आउनेछ,’ उनले भने ।

वर्षाका कारण काठमाडौंसँगै देशभरको तापक्रम घटेको छ । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ११ डिग्री सेन्टिग्रेट मापन गरिएको छ, जुन दुई दिनअघि १६ डिग्री सेन्टिग्रेट थियो । न्यूनतम तापक्रम भने ८ डिग्री सेन्टिग्रेट मापन गरिएको महाशाखाले जनाएको छ । श्रेष्ठका अनुसार वर्षा हुँदा अधिकतम तापक्रम घट्छ भने न्यूनतम तापक्रम बढी नै रहन्छ । तर, वर्षा रोकिएपछि भने न्यूनतम तापक्रम घट्ने उनको भनाइ छ ।

शुक्रबार देशका सबैजसो क्षेत्रमा मध्यमखाले वर्षा भइरहेको छ । यसकारण विद्यार्थीको पठन–पाठन तथा स्वास्थ्यसेवामा समेत असर पुगेको छ । शुक्रबार कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान पूरै हिउँमय देखिएको छ । वर्षा र हिमपातका कारण सर्वसाधारणको दैनिकी समेत प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय