स्वदेशमै ‘क्लिनिकल ट्रायल रजिस्ट्री’ स्थापना, दर्ता निःशुल्क, अब नेपाली विदेश होइन विदेशी नेपालमा

नेपालमा पहिलोपटक ‘क्लिनिकल ट्रायल रजिस्ट्री’को स्थापना गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विश्व स्वास्थ्य संगठनको अर्थिक तथा प्राविधिक सहयोगमा नेपाल क्लिनिकल ट्रायल रजिस्ट्री (एनपिसिटिआर) को स्थापना गरेर ट्रायल रजिस्ट्रीका लागि विदेश धाउनुपर्ने झन्झटबाट मुक्ति दिएको हो । अब उप्रान्त नेपालमा हुने ट्रायलको दर्ताका लागि कुनै पनि अन्तर्राष्ट्रिय मुलुकका रजिस्ट्रीमा धाइरहनुनपर्ने परिषद्ले बताएको छ । यसअघि औषधिको ट्रायल विदेश वा स्वदेशमै गरिए पनि त्यसको दर्ताका लागि विदेशमै जानुपर्ने बाध्यता थियो ।

स्वदेशमा परीक्षण गरिएका औषधिको समेत ट्रायल विदेशमा लगेर दर्ता गर्नुपर्दा ‘ट्रायल’को वनरसिप विदेशीलाई जाने गरेको थियो । स्वदेशमै दर्ता प्रणाली स्थापना भएपछि अब विदेशीसमेत ट्रायल दर्ताका लागि नेपाल आउने र विदेशी विशेषज्ञहरूले नेपालसित मिलेर काम गर्न सक्ने परिषद्ले जनाएको छ ।

के हो क्लिनिकल ट्रायल रजिस्ट्री’ ? किन भयो स्वदेशमै स्थापना आवश्यक ?
क्लिनिकल ट्रायललाई औषधि/खोप/उपकरण आदिको प्रभावकारिताको अध्ययन–अनुसन्धान गर्ने कार्यका रूपमा बुझिन्छ । त्यस्तै, क्लिनिकल ट्रायल रजिस्ट्री भनेको क्लिनिकल ट्रायलको अध्ययन–अनुसन्धान दर्ता गर्ने साझा तथा आधिकारिक ‘प्लेटफर्म’ हो, जसमा अनुसन्धानकर्ताले ट्रायलसम्बन्धी खोज तथा अनुसन्धान दर्ता गर्ने गर्छन् ।

नेपालमा क्लिनिकल ट्रायलसम्बन्धी अनुसन्धान दिन प्रतिदिन बढिरहेका छन् । सन् २०१९ मा मात्र स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिता बोर्डबाट २१ वटा क्लिनिकल ट्रायलसम्बन्धी अनुसन्धान प्रस्तावले स्वीकृति प्राप्त गरेका छन् । नेपालमा यति ठूलो संख्यामा गुणत्मक हिसाबले पनि महत्त्वपूर्ण ट्रायल हुने तर दर्ता भने अन्यत्र गर्ने गरेको थियो । यसो गर्दा त्यस्ता महत्त्वपूर्ण ट्रायलका महत्त्वपूर्ण डाटा विदेशीमै सीमित हुने भएकाले त्यसबाट नेपाल र नेपालीले यथेष्ट लाभ लिन सकिरहेका थिएनन् । त्यसैले परिषद्ले स्वदेशमै क्लिनिकल ट्रायल रजिस्ट्रीको स्थापना गरेको हो ।

एकल प्रणालीबाट चल्ने विश्वव्यापी क्लिनिकल ट्रायल रजिस्ट्रीको अवधारणा
सन् २००४ नोभेम्बरमा मेक्सिकोको राजधानी मेक्सिको सिटीमा आयोजित ‘मिनिस्टेरियल समिट अन हेल्थ रिसर्च’ कार्यशाला गोष्ठीमा उठेको एकल प्रणालीबाट विश्वव्यापी क्लिनिकल ट्रायल रजिस्ट्रीको अन्तर्राष्ट्रिय सञ्जाल बनाउनुपर्ने मागबमोजिम ५८औँ विश्व स्वास्थ्य महासभामा एकल प्रणालीबाट चल्ने क्लिनिकल ट्रायल रजिस्ट्री बनाउने निर्णय गरिएको थियो । सो अवधारणाबमोजिम हाल डब्लुएचओको आइसिटिआरपी नेटवर्कमा विश्वका १८ देशका प्राइमरी रजिस्ट्री आबद्ध भएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले डब्लुएचओको प्राविधिक सहयोगमा परिषद्मा कार्यरत २ जना अनुसन्धान अधिकृतलाई क्लिनिक ट्रायल रजिस्ट्री अफ इन्डिया (सिटिआरआई) मा प्रशिक्षण गराई सफ्टवेयर निर्माण गरी एनपिसिटिआर स्थापनामा सफलता हात पारेको हो ।

कुनै पनि रजिस्ट्रीमा दर्ता नभएका ट्रायलसम्बन्धी अध्ययन–अनुसन्धानबाट प्राप्त लेखहरू इन्टरनेसनल कमिटी अफ मेडिकल जर्नल (आइसिएमजेई) समूहमा आबद्ध रिसर्च जर्नल तथा पब्मेड इन्डेक्स रिसर्च जर्नलमा प्रकाशन हुने हुँदा अनुसन्धानकर्ताले अनिवार्य रूपमा आफ्नो ट्रायलसम्बन्धी अध्ययन–अनुसन्धानलाई ट्रायल राजिस्ट्रीमा दर्ता गर्न आवश्यक भएकाले नेपालमा क्लिनिकल ट्रायल रजिस्ट्री प्लेटफर्म स्थापित गरिएको परिषद्को भनाइ छ ।

नेपाली वैज्ञानिकले डब्लुएचओको आइसिटिआरपीमा अनुबन्धित ट्रायल रजिस्ट्रीहरू (क्लिनिकलडटजिओभी, सिटिआरआई आदि) मा आफ्नो ट्रायल दर्ता गर्ने गरेका छन् । नेपालमा हुने सबै ट्रायलको यकिन तथ्यांक राख्न, उपयुक्त वैज्ञानिक अनुगमन गर्न तथा नेपालमा हुने गरेका ट्रायलसम्बन्धी अनुसन्धान नेपालमै उपयोग होस् भन्ने हेतुले नेपाल क्लिनिकल ट्रायल रजिस्ट्री (एनपिसिटिआर) को स्थापना गरिएको परिषद्को भनाइ छ ।

यसरी सम्भव भयो एनपिसिटिआरको स्थापना, डब्लुएचओको सहयोग, भारतमा प्रशिक्षण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले डब्लुएचओको प्राविधिक सहयोगमा परिषद्मा कार्यरत २ जना अनुसन्धान अधिकृतलाई क्लिनिक ट्रायल रजिस्ट्री अफ इन्डिया (सिटिआरआई) मा प्रशिक्षण गराई सफ्टवेयर निर्माण गरी एनपिसिटिआर स्थापनामा सफलता हात पारेको हो । परिषद्का अनुसार डब्लुएचओको निरन्तर सहयोग, परिषद्का पदाधिकारी र कर्मचारीको अथक मिहिनेतबाट नै एनपिसिटिआरको स्थापना सम्भव भएको हो ।

एनपिसिटिआरको स्थापनाले नेपाली वैज्ञानिकमा ट्रायल कार्यमा रहेका बाधा–व्यवधान र अड्चनमा कमी आई अनुसन्धान संस्कृतिको संख्यात्मक तथा गुणात्मक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास परिषद्ले व्यक्त गरेको छ ।

विश्वका जुनसुकै देशका वैज्ञानिकले दर्ता गर्न सक्ने, नेपाली ट्रायलमा दर्ता अनिवार्य
एनपिसिटिआरमा विश्वका जुनसुकै देशका वैज्ञानिकले ट्रायल रजिस्ट्रेसन गर्न पाउनेछन् परिषद्ले जनाएको छ । नेपालमा हुने ट्रायलहरू अनिवार्य रूपमा एनपिसिटिआर प्लेटफर्ममा दर्ता गर्नुपर्नेछ । यो प्लेटफर्ममा ट्रायल रजिस्टर गर्दा कुनै शुल्क नलाग्ने परिषद्ले जनाएको छ ।

दर्ताका लागि डब्लुएचओको आइसिटिआरपीले व्यवस्था गरेका सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्नेछ । यो प्लेटफर्ममा जोसुकै अनुसन्धानकर्ताले जुनसुकै ठाउँबाट रजिस्टर भइसकेका ट्रायलबारे जानकारी लिन सक्नेछन् । निकट भविष्यमै एनपिसिटिआरले डब्लुएचओसित समन्वय र सहकार्य गरेर डब्लुएचओको आइसिटिआरपी नेटवर्कमा आफ्नो सदस्यता बनाउने परिषद्ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय