त्रिवि आयुर्वेद क्याम्पसमा स्ववियु र प्रशासनबीच सहमति, २२ दिनपछि खुल्यो ताला

त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पसमा तीन साताभन्दा लामो समयदेखि लागाइएको ताला बुधबार खुलेको छ । आन्दोलनरत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले उठाएका माग पूरा गर्न क्याम्पस प्रशासन सहमत भएपछि ३ मंसिरमा क्याम्पस प्रशासनमा लगाइएको ताला खुलेको हो ।

२७ कात्तिकमा क्याम्पस प्रशासनले विभिन्न विषयका लागि शिक्षण सहायक (करार) नियुक्ति प्रक्रिया अघि बढाएपछि स्ववियुले विभिन्न माग राखेर आन्दोलन सुरु गरेको थियो । बुधबारको सहमतिमा सो नियुक्ति प्रक्रिया यथास्थितिमा राखेर सोबारे आवश्यक निर्णयका लागि स्ववियु, प्राध्यापक संघ, क्याम्पस प्रशासन तथा त्रिवि अनुगमन निर्देशनालयका प्रतिनिधि सम्मिलित समिति गठन गर्न क्याम्पस प्रशासन सहमत भएपछि विद्यार्थीले आन्दोलन फिर्ता लिएका हुन् । प्राध्यापक संघका अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । क्याम्पसका लागि द्रव्यगुण, शल्यविज्ञान, रोग तथा विकृति विज्ञानजस्ता विषयमा शिक्षण सहायकको करार नियुक्तिमा प्रशासनले आफूनिकट व्यक्तिलाई भर्ती गर्न खोजेको भन्दै स्ववियुले शिक्षक नियुक्ति प्रक्रिया पूर्णतः निष्पक्ष र पारदर्शी हुनुपर्ने माग राखेको थियो ।

यस्तै, छात्रावासको स्थायी भवन निर्माणबारे पनि विद्यार्थी र प्रशासनबीच सहमति भएको छ । सहमतिमा २ महिनाभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी छात्रावासको भवन निर्माणको काम प्रारम्भ गरिने उल्लेख छ ।

त्यसैगरी, त्रिविअन्तर्गत आयुर्वेद अध्ययन संस्थान गठनका लागि पहल गर्ने सहमति भएको स्ववियुले जनाएको छ । यसका लागि कुलपति, सहकुलपति, उपकुलपतिलगायतकहाँ डेलिगेसन जाने सहमतिमा उल्लेख छ । त्यस्तै अन्य मागको पनि यथोचित सम्बोधन गर्न क्याम्पस प्रशासन राजी भएकाले आन्दोलन फिर्ता लिई ताला खोलिएको स्ववियुले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘क्याम्पस प्रशासन हाम्रा सम्पूर्ण मागको यथोचित सम्बोधन गर्न सकारात्मक देखिएको छ र हाम्रा मागमा सहमति पनि गरेको छ,’ स्ववियुका कार्यवाहक अध्यक्ष सरोजमणि पोखरेलले भने, ‘हाम्रो आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद दिन्छु ।’ सहमतिको कार्यान्वयनका लागि स्ववियुले निरन्तर पहरेदारी गरिरहने उनले बताए ।

यसअघि दुईपटकसम्म बसेको वार्ताका क्रममा क्याम्पसप्रमुख डा. शिवमंगल प्रसादले स्ववियुका पदाधिकारीलाई अपमानजनक व्यवहार गरेको भन्दै विद्यार्थीले उनले मागी नमागेसम्म वार्तामा नबस्ने अडान राख्दै आएका थिए । पछिल्लो समय काउन्टर विद्यार्थी खडा गरेर स्ववियुको आन्दोलनमाथि धावा बोलिएपछि विद्यार्थीबीच भिडन्तको अवस्था सिर्जना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय