९५% स्वास्थ्यसंस्थाले गर्दैनन् फोहोरको उचित व्यवस्थापन, ठूला अस्पताल बढी ‘फोहोरी’, १३ कारबाहीमा

नेपालमा ९५ प्रतिशत स्वास्थ्यसंस्थाले फोहोरको उचित व्यवस्थापन नगर्ने गरेको पाइएको छ । सन् २०१९ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र जेएनपीले संयुक्त रूपमा गरेको अध्ययनमा नेपालका कुल स्वास्थ्यसंस्थाको ५ प्रतिशतले मात्र फोहोरको उचित व्यवस्थापनको अभ्यास गरेको देखाएको छ । अध्ययनका अनुसार ९५ प्रतिशतले अझै पनि फोहोरको उचित व्यवस्थापन गर्ने गरेका छैनन् । स्वास्थ्यसंस्था ठूलो परिमाणमा फोहोर उत्पादन गर्ने स्थानमध्ये पर्छ ।

डब्लुएचओको मापदण्डभन्दा बढी जोखिमयुक्त फोहोर उत्पादन हुँदै
स्वास्थ्य सेवाप्रदायक क्षेत्रबाट उत्पन्न हुने ७५ देखि ९० प्रतिशत फोहोर सामान्य किसिमका हुने १० देखि २५ प्रतिशतसम्म फाहोर निकै हानिकारक हुने डब्लुएचओको आकलन छ । केही वर्षअघि नुवाकोट जिल्लाको विदुर नगरपालिकाका स्वास्थ्यसंस्थामा प्रतिदिन उत्पादन हुने कुल फाहोरमध्ये ३७ प्रतिशत जोखिमयुक्त र ६३ प्रतिशत सामान्य किसिमका रहेको पाइएको थियो, जब कि विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार जोखिमयुक्त फोहोर १० देखि २५ प्रतिशत मात्र उत्पादन हुनुपर्छ । यसरी जोखिमयुक्त फोहोर बढी उत्पादन हुनुको एक प्रमुख कारण संक्रमित फोहोर नछुट्याई अन्य फोहोरमा जथाभावी मिसाउनु रहेको पाइएको छ ।

स्वास्थ्यसेवा प्रदान गर्नेक्रममा स्वास्थ्यसंस्थाहरूबाट ठूलो मात्रामा स्वास्थ्योपचारजन्य फोहोर उत्पादन हुने भएकाले यस्ता हानिकारक फोहोरको उचित र दिगो व्यवस्थापन आजको प्रमुख चुनौतीका रूपमा रहेको स्वास्थ्यसेवा विभागका व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल बताउँछन् ।
‘स्वास्थ्य क्षेत्रमा उत्पादित रासायनिक फोहोरको विसर्जन अव्यवस्थित रूपमा गर्दा जमिन तथा पानीका स्रोत प्रदूषित भई समग्र वातावरणलाई नै नकारात्मक प्रभाव पारिरहेको र खाद्यप्रणाली चक्रमा समेत मिसिन गई मानव स्वास्थ्यसँगै जैविक स्वास्थ्यमा असर गरिरहेको छ,’ डोटेल भन्छन्, ‘स्वास्थ्यसंस्थाबाट निस्किएका फाहोर जसरी जलाइँदै आएको छ, विषादीयुक्त धुवाँ उत्पन्न भई मानव स्वास्थ्यमा असर पनि उत्तिकै गराइरहेको छ ।’

१ बिरामीबाट प्रतिदिन १.७ केजी फोहोर उत्पादन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयअघि स्वास्थ्य सेवाप्रदायक क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापन क्षेत्रमा गरेको एक अध्ययनमा एक बिरामीले औसात प्रतिदिन १.७ केजी फोहोर उत्पादन गर्ने तथ्य उजागर गरेको थियो । यसमध्ये २० प्रतिशत संक्रामक फोहोर हुने गरेको पाइएको थियो ।

फोहोर व्यवस्थापनमा स्वास्थ्यसंस्थाको प्राथमिकता नहुनु, यसबारे कर्मचारीलाई क्षमता अभिवृद्धिको प्रत्यक्ष तथा अप्रत्यक्ष तालिम तथा अभिमुखीकरणको अभाव, उचित ज्ञान, सीप र प्रविधिको कमी, वस्तुजन्य फोहोर छुट्याउने व्यवस्थापन गर्ने पद्धतिको विकास नहुनु, वर्तमान मापदण्ड र कानुनको प्रभावकारी कार्यान्वयन नहुनु आजको प्रमुख चुनौतीका रूपमा रहेको वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख चूडामणि भण्डारी बताउँछन् ।

फोहोरमैलाको संक्रमणबाट विश्वमा वार्षिक ४ लाख ३० हजार नवजात शिशुको मृत्यु
सुई तथा सुईजन्य सामग्रीबाट चोटपटकका कारण स्वास्थ्यकर्मीलाई नै हेपाटाइटिस बी, सी र एचआइभीजस्ता रोगको संक्रमण भइरहेको अध्ययनले देखाएको छ । स्वास्थ्यसंस्थाहरूमा फोहोरको उचित व्यवस्थापन नगर्दा संक्रमणबाट बच्चा, बिरामी, करुवा र स्वास्थ्यकर्मीसमेत प्रभावित हुँदै आएका छन् । त्यस्ता संक्रमणका कारण नेपालमा पनि थुप्रै सर्ने तथा नसर्ने रोगको भार थपिने गरेको छ । विश्वका अस्पताल तथा स्वास्थ्यसंस्थाबाट बिरामीलाई हुने संक्रमणका कारण वार्षिक करिब ४ लाख ३० हजार नवजात शिशुको मृत्यु हुने गरेको छ ।

स्वास्थ्य सेवा विभागको आयोजनामा स्वास्थ्यसंस्थाजन्य फोहोरमैला व्यवस्थापन तथा स्वास्थ्यसंस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी तीनदिने राष्ट्रिय कार्यशाला गोष्ठी चलिरहेको छ । काठमाडौंको हायात होटलमा चलिरहेको गोष्ठीबाट फोहोरमैलाका कारण मानवीय स्वास्थ्य तथा वातावरणमा पर्ने नकारात्मक असरबाट बच्ने उपायबारे छलफल भइरहेको छ ।

ठूला अस्पतालले गर्छन् वातावरण प्रदूषण, यस्ता छन् कारबाहीमा पर्ने ‘फोहोरी’ अस्पताल
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले चालू आर्थिक वर्षमा वातावरण प्रदूषण गरेको भन्दै १३ वटा अस्पताललाई कारबाहीका लागि सिफरिस गरेको थियो । यसरी कारबाही सिफारिस गरिएका अस्पतालमा केन्द्रीय सरकारी अस्पतालदेखि ठूला निजी अस्पतालसम्म छन् ।
वातावरण प्रदूषण गरेको भन्दै विभागले टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिपुरेश्वको नेपाल आँखा अस्पताल, थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताललाई जरिवानासहित कारबाही गरेको थियो ।
यस्तै, जरिवाना तथा कारबाहीमा पर्नेमा ललितपुरको गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर, ललितपुरकै किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, काठमाडौंको आयुर्वेदिक चिकित्सालय नरदेवी, काठमाडौंको सिनामंगलमा रहेको नोबेल हस्पिटल प्रालि, सुन्धारामा रहेको काठमाडौं भ्याली अस्पताल, जावलाखेलको अल्का अस्पताल प्रालि, भरतपुरको चितवन मेडिकल कलेज र नयाँ बानेश्वरको एभरेस्ट हस्पिटल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय