त्रिवि आयुर्वेदमा चुलियो विवाद, आन्दोलनरत स्ववियुको ‘काउन्टर’मा विद्यार्थी उतारिएपछि भिडन्तको अवस्था

त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले क्याम्पसप्रमुखको राजीनामा मागेको छ । वरिष्ठताका आधारमा क्याम्पसप्रमुख बनाइनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरिरहेका छन् । क्याम्पसका लागि द्रव्यगुण, शल्यविज्ञान, रोग तथा विकृति विज्ञानजस्ता विषयमा शिक्षण सहायक छनोट गर्दा प्रतिस्पर्धा नगराई आफूअनुकूलका व्यक्तिलाई भर्ती गराउन खाजेको भन्दै स्ववियुले ३ सातादेखि कलेज प्रशासनमा तालाबन्दी गरेर आन्दोलन जारी राखेको छ । तर, कलेज प्रशासनले विद्यार्थीको माग सुनुवाइ नगरेपछि स्ववियुले क्याम्पसप्रमुखको राजीनामा मागेको हो । क्याम्पसप्रमुख डा. शिवमंगल प्रसादले आफ्नो मात्र हैकम चलाएर मनपरीतन्त्र चलाउँदै आएको आरोप विद्यार्थीले लगाएका छन् ।

विद्यार्थीले विभिन्न ७ बुँदे माग राख्दै ३ मंसिरमा कलेज प्रशासनमा ताला लगाएका थिए । यसबीचमा ३ चरणसम्म क्याम्पस प्रशासन र आन्दोलनरत स्ववियु पदाधिकारीबीच छलफल भए पनि समस्याको हल निस्किन सकेन । वार्तापछि झन् एकअर्काबीच मनमुटाव बढेको थियो । छलफलका क्रममा क्याम्पसप्रमुखले विद्यार्थीबाट निर्वाचित प्रतिनिधिलाई अपमानजनक शब्दप्रयोगसँगै तुच्छ व्यवहार देखाएका कारण वार्ताको वातावरण धमिलिएको विद्यार्थीको भनाइ छ । ‘छलफल भयो, तर क्याम्पसप्रमुख हाम्रो मागप्रति गम्भीर देखिनुभएन,’ स्ववियुका कार्यवाहक अध्यक्ष सरोजमणि पोखरेलले भने, ‘उल्टै हामीले उहाँबाट तुच्छ व्यवहार खेप्नुपर्यो ।’

स्ववियुको काउन्टरमा खडा गरिए विद्यार्थी, स्ववियु पदाधिकारीलाई क्याम्पस प्रवेशमा रोक, प्रशासननिकटबाट पो पठन–पाठन अवरुद्ध !
स्ववियुको आन्दोलन ३ साता पुग्दासमेत विद्यार्थीको माग सुनुवाइ नगरिरहँदा आन्दोलनको विरुद्धमा विद्यार्थीको एक समूह खडा भएको छ । क्याम्पसप्रमुखले विद्यार्थीको आन्दोलन तुहाएर आफ्ना कर्तुतहरू छिपाउने षड्यन्त्रस्वरूप आफूनिकट (सत्तारूढ दलनिकट) केही विद्यार्थीलाई आफूविरुद्ध प्रयोग गरेको स्ववियुको आरोप छ । आन्दोलनको विरुद्धमा देखिएको विद्यार्थी समूहले स्ववियुका पदाधिकारी तथा आन्दोलनका समर्थक विद्यार्थीलाई कलेज प्रवेशमा समेत रोक लगाएको कावा अध्यक्ष पोखरेलले बताए । स्ववियुले ३ सातादेखि आन्दोलन चलाइरहँदा समेत पठन–पाठन अवरुद्ध नगरी क्याम्पस प्रशासनमा मात्र तालाबन्दी गरेकोमा काउन्टरमा उत्रिएका प्रशासनद्वारा परिचालित विद्यार्थीले पठन–पाठन ठप्प हुने गरी क्याम्पस बन्द गरेको उनले जानकारी दिए ।

क्याम्पसमा स्त्रीरोग, बालरोग, नाक–कान–घाँटीलगायत कुनै पनि फ्याकल्टी पूरा नभएको र पूरा गर्नका लागि पटक–पटक क्याम्पसप्रमुखको ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नदिएको विद्यार्थीको भनाइ छ । राजनीतिक भागबन्डाका कारण विद्यार्थीले धेरै सास्ती भोग्दै आएको गुनासो विद्यार्थीको छ ।

शिक्षकको छनोटमा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाई पारदर्शिता कायम गर्नुपर्ने, क्याम्पसका रिक्त सम्पूर्ण विभाग यथाशीघ्र एकमुष्ट रूपमा पूर्ति गरिनुपर्ने, अस्थायी छात्रावासमा सिटसंख्या वृृद्धि गरिनुपर्ने, स्तातकोत्तर अध्ययन–अध्यापनको सुरुवातका लागि तत्काल पहल गर्नुपर्नेलगायत मागसहित स्ववियु आन्दोलनमा छ । यसअघि स्ववियुले रिक्त पदहरूको एकमुष्ट पूर्तिका लागि ३ मंसिरमा दिएको ५ दिने अल्टिमेटमप्रति क्याम्पस प्रशासनले बेवास्ता गरेको तथा विद्यार्थीका जायज मागप्रति गैरजिम्मेवार बनेको भन्दै स्ववियु आन्दोलनमा उत्रिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय