स्वास्थ्यका कर्मचारीको समायोजनमा अझै ७ हजार समस्या, यस्तो छ मन्त्री ढकालको व्यवस्थापन योजना

सरकार तथा कर्मचारीको टाउकोदुखाइको विषय बन्दै आएको स्वास्थ्यका कर्मचारीको समायोजनले पूर्णता पाउन अझै समय लाग्ने भएको छ । केही महिनादेखि समायोजनको काम लगभग पूरा भइसकेको दाबी गर्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक अझै करिब ७ हजार कर्मचारीको समायोजनमा समस्या रहेको बताएको छ । सोमबार मन्त्रालयले गरेको एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभुक्त ढकालले समायोजन टुंगोमा पुर्याउनमा विभिन्न समस्याले बाधा पुगिरहेको बताएका छन् ।

‘कतिपयको पद नमिलेको छ भने केही कर्मचारीको योग्यताअनुसार समायोजन भएको छैन,’ मन्त्री ढकालले भने, ‘यो समस्या सुल्झाउन छलफल भइरहेको छ ।’ समायोजनलाई जतिसक्दो चाँडो टुंगोमा पुर्याउने काम मन्त्रालयान्तर गरी निकै भरोसाका साथ स्वास्थ्यमा ल्याइएका मन्त्री ढकालको परीक्षाको विषय बन्ने निश्चित छ । हिजो जो कर्मचारी जुन पदमा थिए, त्यो पदभन्दा तल नझार्ने गरी समायोजन गर्दा २ हजारको हाराहरीमा समस्या हल गर्न सकिने मन्त्री ढकाल बताउँछन् । गुनासो सम्बोधनका क्रममा मन्त्रालयले एक हजारजतिको व्यवस्थापन गरिसकेको र त्यति नै संख्यामा गुनोसो सम्बोधन गर्ने तयारी भइरहेको मन्त्रालयले बताएको छ ।

‘पहाडी र हिमाली जिल्लाहरूमा जहाँ दरबन्दी खाली छन्, जहाँ म जान पाऊँ भनेर कर्मचारीले माग गरेको अवस्था छ, त्यस्ता कर्मचारीलाई प्रेरित गरेर खाली हुने ठाउँबाट सेवा सञ्चालन गर्न सक्छौँ,’ मन्त्री ढकालले भने । कतिपय गुनासोमा गहिरो अध्ययन गरेर र समस्या समधान नहुने हिसाबको गुनासो भए यो कारणले सम्बोधन गर्न सकिँदैन भनेर मन्त्रालयले जानकारी दिने मन्त्री ढकालको भनाइ छ । यसपछि पनि समस्या बाँकी भएमा कतिपय डाक्टर तथा अन्यको दरबन्दी सिर्जना गरेर अत्याआवश्यक भएको क्षेत्रमा सेवा दिलाउने गरी योजना बनाएको मन्त्री ढकाल बताउँछन् ।

संघीयता कार्यान्वयनका क्रममा समान्यले पुनःसंरचित संगठन संरचनाअनुसार गत चैत तथा वैशाखमा विभिन्न चरणमा गरी स्वास्थ्यका करिब २७ हजार कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको थियो । सूची सार्वजनिक भएसँगै कर्मचारीले समायोजनमा व्यापक लापरबाही भएको भएको भन्दै सप्रमाण असन्तुष्टि जनाएका थिए । १३ वर्षअघि नै मृत्यु भइसकेका कर्मचारीको समेत समायोजन गरिएको लगायत विविध प्राविधिक तथा व्यावहारिक त्रुटि भएकाले राम्ररी अध्ययन गरेर मात्र समायोजन टुंग्याउन कर्मचारीका संघ–संगठनहरूले माग गरेका थिए ।

मन्त्रालयले असोजमा समायोजनबारेका गुनासो दर्ताका लागि म्याद दिएको थियो । तर, गुनासो दर्ता गराउन आउनेक्रम नरोकिएपछि पछि एकमुष्ट लिइएको थियो । समिति नै बनाएर गुनासो अध्ययन तथा अव्यवस्थापनका लागि सिफारिस गरेर सामायोजन सूची सच्याइँदा पनि अझै ७ हजारको हाराहारीमा समस्या रहेकाले स्वास्थ्यका कर्मचारीको समायोजनले अझै केही महिना समय लिने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय