सिओपिडी दमबारे व्याप्त भ्रम चिर्नु पहिलो चुनौती

सिओपिडी दम श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग हो । यसमा मुख्यतया श्वासप्रश्वासको प्रवाह कमजोर हुने गर्छ । विशेषतः यो समयक्रमसँगै बिग्रँदै जाने हुन्छ । तर, समयमै पहिचान गर्न सकेमा वा सजगता अपनाएमा यो रोगको रोकथाम तथा उपचार सम्भव छ ।

सिओपिडी दमको प्रमुख कारण धूमपान हो । हाम्रो सहर तथा गाउँमा धूमपान गर्ने मानिसको संख्या दिनानुदिन बढ्दै गएको छ । सामान्यतया हामीले हेर्दा धूमपान नगर्नेको फोक्सोमा रगतको प्रवाह नर्मल हुन्छ भने यो रातो रङको हुन्छ । धूमपान गर्ने मानिसको फोक्सो धुवाँका कण, धुवाँबाट निस्कने विभिन्न रसायन जम्मा भएपछि कालो रङको देखिन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार नेपालमा प्रत्येक ३ जनामध्ये १ जना (एकतिहाइ) ले धूमपान गर्दै आएका छन् या त विगतमा धूमपान गरेका थिए । हाल प्रत्येक ५ जनामध्ये एक (२०%) ले धूमपान गरिरहेका छन् ।

धूमपान सिओपिडीको मुख्य कारण भए पनि यसका अन्य कारण पनि छन् । बढ्दो सहरीकरण, वायु प्रदूषण पनि सिओपिडीका कारण हुन् । ग्रामीण भेगमा मुख्य रूपमा चुलोमा प्रयोग गरिने दाउरा, गुइँठा, पराललगायतबाट निस्कने धुवाँका कारण भान्सामा काम गर्ने महिलामा सिओपीडी दमको समस्या बढ्दै गएको छ । यसका साथै बढ्दो विकास निर्माणका कार्य, विभिन्न उद्योगबाट निस्कने धुवाँ, धुलोले वायुलाई प्रदूषित बनाइरहेका छन्, जसका कारण विशेषगरी त्यहाँ काम गर्ने मजदुर सबैभन्दा प्रभावित भइरहेका छन् । यद्यपि, यसको असर कामदारमा मात्र सीमित नभई सर्वसाधारणमा पनि काफी मात्रामा परेको छ । वायु प्रदूषणका हिसाबले नेपाल खराब ५ मुलुकको सूचीमा परेको छ । वायु प्रदूषणबाट बर्सेनि १० हजारभन्दा बढी नेपालीले ज्यान गुमाइरहेका छन् ।

२५ करोड मानिसमा सिओपिडी दम, अकाल मृत्युको तेस्रो कारण बन्दै
विश्व स्वास्थ्य संगठनको २०१६ को प्रतिवेदनअनुसार विश्वमा २५ करोड मानिस सिओपिडी दमबाट प्रभावित छन् । यसबाट वार्षिक मृत्युदर ३१.७ लाख रहेको छ, जुन कुल मृत्युको ६ प्रतिशत हो । हाल सिओपिडी अकाल मृत्युको चाथौ कारण हो र सन् २०३० सम्ममा अकाल मृत्युको तेस्रो प्रमुख कारण सिओपिडी बन्ने प्रक्षेपण गरिएको छ ।

सिओपिडीबाट हुने मृत्युको ९० प्रतिशत कम विकसित र अति कम विकसित मुलुकमा हुने गरेको छ । नेपालको सन्दर्भमा सिओपिडीको अवस्था झन् विकराल छ । विश्वस्तरमा अकाल मृत्युको चौथो नम्बरमा रहेको सिओपिडी नेपालको सन्दर्भमा दोस्रो स्थानमा छ । वायु प्रदूषण धूमपान गर्ने मानिसको संख्या बढेसँगै सिओपिडीको स्थान पनि माथि जाने देखिन्छ ।

सिओपिडी दमका लक्षण
सिओपिडी दममा मुख्यतया दुईवटा समस्या देखिन्छन्– श्वासप्रश्वासमा समस्या हुने, स्वाँ–स्वाँ हुने । सुरुवातको चरणमा गाह्रो काम गर्दा वा भारी बोक्दा, उकालो चढ्दा स्वाँ–स्वाँ हुने हुन्छ भने बिस्तारै रोग गएपछि सामान्य कार्य गर्दा पनि स्वाँ–स्वाँ हुने हुन्छ । यसका अलावा खोकी लाग्नु पनि यसको प्रमुख लक्षण हो । खोकी लाग्दा सेतो वा पहेँलो खकार आउने हुन्छ । त्यसैगरी अन्य लक्षणमा छाती ध्वार–ध्वार गराउने, औँला वा जिब्रो निलो हुने, दुवै खुट्टा सुन्निने, पटक–पटक छातीको संक्रमण भएर निरन्तर स्वास्थ्यसंस्थामा गइराख्नुपर्ने हुन्छ ।

३४ लाख नेपाली सिओपिडीको सिकार, पुरुषमा केही बढी
करिब ३४ लाख नेपालीमा सिओपिडी रोग भएको अनुमान गरिएको छ । नेपालमा गरिएको पछिल्लो एक अनुसन्धानमा ११ दशमलव ७ प्रतिशत मानिसमा सिओपिडी दमको प्रभाव देखिएको छ । यसको चपेटामा महिला र पुरुष दुवै छन् । १२ दशमलव ६ प्रतिशत पुरुष र ११ प्रतिशत महिलामा सिओपिडी देखिएको छ । प्रत्येक १० मध्ये १ नेपाली सिओपिडी रोगबाट पीडित छन् ।

कुन प्रदेशमा कति ?
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी कर्णाली प्रदेशबासी सिओपिडीको सिकार बनिरहेका छन् । कर्णालीमा सिओपिडीपीडितको संख्या २५ प्रतिशत छ । त्यस्तै, प्रदेश २ मा १६.२ प्रतिशत, सुदूरपश्चिममा १४.३ प्रतिशत, प्रदेश ३ मा ११ प्रतिशत, प्रदेश ५ मा ९.५ र प्रदेश १ र गण्डकीमा प्रदेशमा ६ प्रतिशत जनतामा सिओपिडी रोग भएको अनुसन्धानले देखाएको छ ।

उपचार
इन्हेलर सिओपिडी रोगको मुख्य र सबैभन्दा प्रभावकारी उपचारपद्धति हो । यो उपचारपद्धतिमा श्वासप्रश्वासको माध्यमबाट सीधै फोक्सोमा औषधि पुर्याइन्छ । कुल बिरामीको ३ प्रतिशत मात्रै इन्हेलर उपचारपद्धतिमा आबद्ध भएको पाइएको छ । यो उपचारपद्धतिबारे हाम्रो समाजमा निकै नकारात्मक सोच रहेको छ । यो अन्तिम अवस्थामा प्रयोग गर्ने औषधि हो, सकेसम्म लिन हुन्न, बानी पार्न हुँदैन भन्ने सोच व्याप्त छ । सिओपिडीका ३४ लाख बिरामीमध्ये ५० हजारले मात्र सही उपचार पाएका छन् ।

सिओपिडीको मुख्य उपचारपद्धति नै इन्हेलरको प्रयोग गर्नु हो । नियमित रूपमा चिकित्सकसँग जाँच गराएर यो रोगको प्रकोपबाट बच्च सकिन्छ । दोस्रो उपाय भनेको जोखिम कम गर्नु हो । यसका लागि धूमपान, वायु प्रदूषण आदि कम गर्नुपर्ने हुन्छ । सिओपिडी भएका मानिसलाई उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक तनावको जोखिम बढी हुन्छ । सिओपिडीका बिरामीले नियमित व्यायम गर्नुपर्ने हुन्छ । दम भएका मानिसले व्यायम गर्नुहुँदैन भन्ने छाप परेको छ, जुन गलत हो । सामान्य मानिसका लागि जति व्यायमको आवश्यकता छ, त्यति नै सिओपिडीका बिरामीका लागि पनि व्यायम जरुरी छ । स्वस्थ्यकर आहारले पनि सिओपिडीको उपचारमा मद्दत पुर्याउँछ ।

सिओपिडीका भ्रम र यथार्थ
सिओपिडीबारे केही भ्रम रहेका छन्, जसलाई चिर्नु आवश्यक छ ।
भ्रम १ :  सिओपिडी रोग धेरै मानिसलाई हुँदैन ।
धूमपान र प्रदूषणको चपेटामा आउने तथा वंशानुगत जोखिम भएका जोकोहीलाई सिओपिडी रोग हुन सक्छ । नेपालमा प्रत्येक १० जनामध्ये १ मा सिओपिडी छ र यो संख्या केही वर्षमा उल्लेख्य मात्रामा बढ्ने अनुमान छ ।
भ्रम २ :  सिओपिडी दम धूमपान गर्नेलाई मात्र हुन्छ ।
सिओपिडी धूमपान गर्ने मानिसलाई धेरै हुने भए पनि वायु प्रदूषण तथा वशांनुगत जोखिम भएका मानिसमा पनि हुने गर्छ ।
भ्रम ३ : सिओपिडीका बिरामीले व्यायाम गर्नुहुँदैन ।
सिओपिडी दमका बिरामीले नियमित व्यायाम गर्नुपर्ने हुन्छ । एक स्वस्थ र सामान्य मानिससहर दमका बिरामीलाई पनि व्यायाम आवश्यक हुन्छ ।
भ्रम ४ : अन्तिम अवस्था नआएसम्म दमको तान्ने औषधि इन्हेलरको प्रयोग गर्नुहुँदैन ।
यो गलत हो । सिओपिडी दमको सबैभन्दा प्रभावकारी उपचारपद्धति नै इन्हेलर हो । त्यसैले दमका रोगीले चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा इन्हेलरको प्रयोग गर्नुपर्छ ।
भ्रम ५ : उमेर बढ्दै गएपछि स्वाँ–स्वाँ हुनु सामान्य हो ।
स्वाँ–स्वाँ हुनु स्वाभाविक प्रक्रिया नभएर सिओपिडीको पहिलो लक्षण हो । सुरुवाती चरणमा उपचार गरेको खण्डमा यो रोग पूर्ण रूपमा निको हुन्छ । सिओपिडी रोगको पूर्ण उपचार सम्भव छैन, सही उपचारपद्धति अपनाएको खण्डमा आममानिसको जस्तै समान्य जीवन जिउन सकिन्छ ।  सिओपिडीको उपचार धेरै मानिसलाई जीवनभर गर्नुपर्ने हुन सक्छ, तर नियमित उपचार गरिएको खण्डमा यी बिरामीले सामान्य जीवनयापन गर्न सक्छन् ।

चुनौती
सिओपिडी दमसम्बन्धी जनचेतना कम रहेको छ । धूमपानविरुद्धको जनचेतना पर्याप्न बन्न सकेको छैन । धूमपान सिओपिडीको मात्र होइन, क्यान्सर, मुटुसम्बन्धी रोग, छाला तथा आँखासम्बन्धी अनगिन्ती रोगको कारक हो ।  ग्रामीण भेगमा अहिले पनि आगो फुक्न गुइँठा, पराल, दाउरा आदिको प्रयोग भइरहेको छ । बढ्दो सहरीकरणले वायु प्रदूषण र पेसागत जोखिम बढाइरहेको छ । भौगोलिक विकटता र गरिबी भएका स्थानमा सिओपिडी रोगको प्रभाव बढी देखिएको छ । त्यसैगरी, इन्हेलर उपचार पद्धतिप्रतिको नकारात्मक धारणा जनमासमा व्याप्त छ । सिओपिडीको निदान र उपचार सुविधा प्राथमिक उपचार गर्ने संस्थाहरूमा नहुनु, स्पाइरोमेट्री तथा सोसम्बन्धी तालिम भएका जनशक्तिको कमी हुनु, आसपासमा चेस्ट हस्पिटलको अभाव हुनु, रेफरल सिस्टमको विकास हुन नसक्नु, उपचार महँगो हुनु, अधिकांश रोगी स्वास्थ्यबिमाको पहुँचमा नहुनु यस रोगको नियन्त्रण तथा उपचारका प्रमुख चुनौती हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय