अतिरिक्त शुल्कको विषयमा युनिभर्सल मेडिकल कलेज प्रशासन र विद्यार्थीबीच ६ बुँदे सहमति

अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनरत युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका विद्यार्थी र कलेज प्रशासनबीच ६ बुँदे सहमति भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीको रोहबहरमा आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच शनिबार राति सहमति भएको हो । शैक्षिक वर्ष २०७५ र ०७६ को हकमा विद्यार्थीले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्कसमेत तिरिसकेको हकमा त्रिवि रजिस्ट्रेसन शुल्क, काउन्सिल रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकेबमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गर्ने सहमतिमा उल्लेख छ ।

सहमतिमा ‘०७४ र ०७५ मा विद्यार्थी पहिलो, दोस्रो र तेस्रो किस्ताको रकम र अन्य शीर्षकमा थप रकम बुझाइसकेकाको हकमा त्रिवि रजिस्ट्रेसन शुल्क, काउन्सिल रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकेबमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम आजैका मितिबाट समायोजन वा फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने’ भनिएको छ । शनिबार राति १२ बजे भएको सहमतिमा कलेजका तर्फबाट अजयकुमार पिएस र सन्तोषकुमार बिएन र विद्यार्थीका तर्फबाट अशोक छत्कुली, रूद्रनारायण शाह, राजेश पौडेल, सुभाष झालगायत १५ विद्यार्थीले हस्ताक्षर गरेका छन् । सहमतिपछि विद्यार्थीले आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्ने र कलेजले शैक्षिक, प्रशासनिक एवं प्राज्ञिक क्रियाकलाप सञ्चालन गर्ने बताइएको छ ।

शनिबार भएको वार्तामा शुल्क फिर्ताको विषयमा सहमति भए पनि एमबिबिएस र बिडिएसको प्रथम वर्षको परीक्षामा भने विद्यार्थी सहभागी भएका थिएनन् । युनिभर्सल कलेजका एक एमबिबिएस विद्यार्थीका अनुसार रेगुरलतर्फ एमबिबिएसका सय र बिडिएसका ४० जना विद्यार्थीले वार्षिक परीक्षा बहिष्कार गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय