पतिको देनमा शरीरमा एचआइभी पालिरहेकी मथुराको डेढ दशकको जीवनसंघर्ष

नखाएको विष पनि लाग्दो रै’छ कहिलेकाहीँ ।
आफ्नै छाया आफूसित भाग्दो रै’छ कहिलेकाहीँ ।।
आफू जति मुढोतिर सोझ्याउन खोजे पनि
बन्चरो त उल्टै घुँडो ताक्दो रै’छ कहिलेकाहीँ ।

कहिलेकाहीँ नियतिले यस्तो खेला गर्छ कि, विनागल्ती जीवनभर सजायँ बेहोनुपर्ने हुन्छ । भनिन्छ, कहिलेकाहीँ नखाएको विष पनि लाग्छ, नभरेको बन्दुक पनि पड्किन्छ । त्यस्तै नियतिको सिकार बनेकी पात्र हुन्, अछामकी मथुरा कुँवर । १८ वर्षदेखि आफ्नै पतिमार्फत एचआइभी संक्रमण बेहोरेकी मथुराको जीवनमा माथिको गजलका पंक्तिहरू चरितार्थ भएका छन् । विनाकुनै कसुर उनको शरीरमा यस्तो भाइरसले प्रवेश पायो, जो एकपटक छिरेपछि निस्कन असम्भव छ । एचआइभी संक्रमणको सुरुका दिनमा पीडाको आँसु झार्नेबाहेक बाटो नभेट्टाएकी मथुरा पछिल्लो समय आफूजस्तै संक्रमित महिलाको पथप्रदर्शक बनेकी छिन् । गत हप्ता शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा नियमित जाँचका लागि आएकी मथुराको जीवनमा आफूमाथि वज्रपातकै रूपमा अकस्मात् घटेको घटना र त्यससँग जोडिएका कथा–व्यथाको पोको यसरी फुकाइन्–

श्रीमान् रोजगारीको सिलसिलामा भारत गएका थिए । वि.सं. ०५८ मा घरमा खबर आयो, श्रीमान् बिरामी परेका छन्, तुरुन्तै जानू । चार छोराछोरीलाई घरमा छोडेर मथुरा भारततर्फ हानिइन् । ‘शरीर सुकेर एक मुठीको हुनुभएको रहेछ, अस्पतालमा चेकजाँच गराएँ, तर उहाँको रोग पत्ता लागेन,’ मथुरा भन्छिन्, ‘धेरै ठाउँमा श्रीमान्को उपचारका लागि भौँतारिएँ, धेरै पछि मात्र एचआइभी पोजेटिभ भएको पत्ता लाग्यो ।’ एचआइभी रोगबारेमा मथुरालाई केही जानकारी थिएन । श्रीमान्को मिति पो तोकिदियो अस्पतालले । डाक्टरले अबको विकल्प मृत्युबाहेक केही नभएको जनाउँदै घर लान निर्देशन दियो ।

पतिको मृत्युपछि समाजले यसको लोग्ने त एड्स लागेर मरेको हो, यसलाई पनि छ भनेर कुरा काट्न थाले । उनलाई एचआइभी छ भन्ने हल्ला गाउँमा फैलिएपछि गाउँलेले अब यसले दुनियाँलाई दुनियाँलाई रोग सार्ने भई भन्न थाले । एचआइभी भएकै कारण छिमेकीले धारो÷कुवामा, मेलापातमा छिछि–दूरदूर गरे । यति मात्र होइन, उनी समाजका हरेक क्रियाकलापबाट वञ्चित बनिन् ।

मथुरा छाँगाबाट खसेजस्तो भइन् । यस्तो के रोग लाग्यो उहाँलाई ? उपचारका लागि आफूले लगाएको सुन, जग्गा जमिनसमेत बेचिन् । ‘घरमा खाने एक गेडो अन्न पनि नराखेर उपचार गराएँ,’ मथुरा भन्छिन्, ‘मृत्युलाई कसैले छेकेर छेक्न सक्दो रहेनछ ।’ डाक्टरले मथुराको पनि चेकजाँच गरे । विडम्बना ! उनको नतिजा पनि पोजेटिभ नै आयो । आकाशबाट खसेझैँ भइन् उनी, पाउमुनि जमिन रहेन । डाक्टरले श्रीमान्को एक महिनाभित्र मृत्यु हुने बताएका थिए । मथुराले घरमा ल्याएर स्याहार–सुसार गरेर ५ महिनासम्म बचाइन्, त्यसपछि भने उनको सुसार र मायाले धान्न सकेन ।

पतिको मृत्युपछि समाजले यसको लोग्ने त एड्स लागेर मरेको हो, यसलाई पनि छ भनेर कुरा काट्न थाले । उनलाई एचआइभी छ भन्ने हल्ला गाउँमा फैलिएपछि गाउँलेले अब यसले दुनियाँलाई दुनियाँलाई रोग सार्ने भई भन्न थाले । एचआइभी भएकै कारण छिमेकीले धारो÷कुवामा, मेलापातमा छिछि–दूरदूर गरे । यति मात्र होइन, उनी समाजका हरेक क्रियाकलापबाट वञ्चित बनिन् । पतिका कारण एचआइभी सर्यो तर कुनै कसुर नभईकन सजायँ उनले भोगिन् । मरेर जानेलाई भन्दा समाजको चरम तिरस्कारका बीच रोग बोकेर संघर्ष गर्नेले झेलेको पीडा वर्णन गर्न नसकिने हुन्छ ।

मथुरा कुँवर

‘पँधेरोको पानी खान पाइनँ, कुनै समारोहमा जान पाइनँ, राम्रो लुगा लगाउन पाइनँ,’ मथुरा भन्छिन्, ‘मरेको लास जलाउनसमेत समाज तयार भएन ।’ समाजले एचआइभी लागेको कुरा लिएर मथुराको परिवारलाई समाजबाट वञ्चित गरायो । बाबुको रोगका कारण बालबालिकाले अनेक लाञ्छना भोग्नुपर्यो । एचआइभी लागेको मानिसलाई गौगोति नामक संस्थाले गाउँमा सहयोग गरिरहेको मथुराले सुनिन् । उनी संस्थाको सम्पर्कमा पुगिन् । संस्थाले मथुरालाई तालिम दियो । आफ्नो मनोबल उच्च बनाउँदै गइन् । आफूले जस्तो पीडा अरुले खेप्नुनपरोस् भन्दै उनले प्रण गरिन्, ‘अब म आफ्नो बाँकी जीवन एचआइभी लागेका महिलाको सहयोगमा बिताउँछु ।’

उनले सुनौलो बिहानी समाज नेपाल नामक संस्था स्थापना गरिन् । आफूजस्तै एचआइभी संक्रमितलाई जीवन जिउने भरोसा जगाउन थालिन् । सामाजिक उत्प्रेरकका रूपमा काम गर्न थालिन् । उनले गरेको कामले निरन्तरता पाउँदै गयो । तर, छरछिमेकको सोच बदलिएको थिएन । उनले गरेको कामप्रति खिस्सी गरिरहेका हुन्थे । ‘एड्स लागेकीले के सम्झाउँछे ?’ मथुराको जवाफ हुन्थो, ‘विनाकसुर मलाई एड्स लाग्यो, मजस्तै अरुले भोग्नुनपरोस्, एचआइभीबाट बचून् भनेर सम्झाउन हिँडेकी हुँ ।’

उनी अरु महिलाहरूलाई सम्झाउँदै, सिकाउँदै हिँडिन् । माया, सद्भावका कारण जीवनलाई अझै लामो बनाउन सकिँदो रहेछ भन्ने विश्वास उनमा थपिँदै गयो । एचआइभी संक्रमित महिलाको राष्ट्रिय महासंघको सम्मेलनमा बोल्ने अवसर पाइन् । उनको त्यो बोलीबाट प्रभावित भएर सहभागी सदस्यहरूले उनलाई महासंघको अध्यक्षमा चयन गरे । महासंघमा मथुराले दुई–दुई वर्षका दुई कार्यकाल कुशलतापूर्वक नेतृत्व दिइन् ।

‘एचआइभी लागेका पनि मानिस हुन्, यिनीहरूलाई पनि उपचार, माया दिनुपर्छ भनेर मानवीय भावनाले नै भनेका होलान्,’ मथुरा भन्छिन्, ‘अस्पतालमा डाक्टर, नर्सबाट पनि हामीले लाञ्छना खेप्नुपरेको छ ।’ बिरामी वा दुर्घटना भएको अवस्थामा एचआइभी संक्रमित भनेर राम्रो उपचार हुँदैन, यस्तै कारणबाट पनि अझै पनि एचआइभी संक्रमितहरू खुलेर बाहिर नआउन नसकेको मथुरा बताउँछिन् ।

१६ वर्षसम्म भोलेन्टियर जीवन बिताएकी उनले धेरै दुःख–कष्ट पार गर्दै जीवनरूपी रथलाई सार्थक रूपमा अघि बढाउँदै गइन् । संस्थामा आएको प्रोजेक्टमा एड्भोकेसी अफिसर भएर काम गरिरहेकी मथुराले त्यसैबाट आफ्नो रोजीरोटी चलाइरहेकी थिएन् । तर, अब उनको एक गुनासो छ, ‘जीवन चलाउन खाएको यो सानो जागिरबाट पनि निकालेर मेरो रोजी–रोटी खोस्न लागिपरेका छन् ।’ उमेर पुगेको भन्दै आफूलाई जागिरबाट निकाल्न लागिएको उनी बताउँछिन् । मथुरा भन्छिन्, ‘अहिलेसम्म यही जागिरबाट गुजारा चलाउँदै आएको थिएँ, अब म घर न घाटको भएकी छु ।’

जनचेतनाका कारण एचआइभी लागेको मानिसलाई हेर्ने समाजको दृष्टिकोणमा पछिल्लो समय केही परिवर्तन आएको उनको अनुभव छ । ‘एचआइभी लागेका पनि मानिस हुन्, यिनीहरूलाई पनि उपचार, माया दिनुपर्छ भनेर मानवीय भावनाले नै भनेका होलान्,’ मथुरा भन्छिन्, ‘अस्पतालमा डाक्टर, नर्सबाट पनि हामीले लाञ्छना खेप्नुपरेको छ ।’ बिरामी वा दुर्घटना भएको अवस्थामा एचआइभी संक्रमित भनेर राम्रो उपचार हुँदैन, यस्तै कारणबाट पनि अझै पनि एचआइभी संक्रमितहरू खुलेर बाहिर नआउन नसकेको मथुरा बताउँछिन् । सुरुको भन्दा हेर्ने दृष्टिकोणमा केही सुधार आएको छ, तर लाञ्छना र भेदभाव पूरै हट्न भने नसकेको उनी महसुस गर्छिन् ।

जेठो छोरो हृदयाघातका कारण गुमाउनुपर्यो
मथुराका तीन छोरा र एक छोरी थिए । तर, एक वर्षअघि उनीमाथि अर्को वज्रपात भयो । उनी पहिलो सन्तानलाई हृदयाघातका कारण गुमाउन पुगिन् । छोरा आर्थिक अभावका कारण विभिन्न तनावबाट गुज्रिएका थिए । अत्यधिक मद्यपान गर्न थालेका थिए । बेलुका सुतेको सन्तानले बिहानको घाम देख्न पाएनन् । ‘४ नातिनी, दुई नातिले टुहुरो हुनुपर्यो,’ मथुरा भन्छिन्, ‘न धन छ, न त घर–जग्गा नै ।’

माहिलो छोरोको विवाह गर्न केटी नदिने वातावरण बन्यो
केही समयअघि माहिलो छोरोको विवाह हुन लाग्दा एचआइभी संक्रमित महिलाको सन्तानलाई छोरी नदिने भनेर अपहेलना भयो । तर, समाजका केही बुझेका समाजसेवीको सहयोगमा छोरोको विवाह भयो । जागिरबाट निकालिएको दिनपछि घाटको वास हुने मथुरा बताउँछिन् ।  ‘वि.सं. ०७२ को भूकम्पबाट घर चिरा–चिरा भएको छ,’ मथुरा भन्छिन्, ‘भएको घर पनि देवरहरूको समेत गरेर ३ जनाको नाममा छ ।’ यद्यपि, आफूजस्तो अरु महिलाले रोग बेहोर्नुनपरोस्, अपमान खेप्न नपरोस् भनेर जागरणमा लाग्ने अठोट भने लगनशीलता भने मथुरामा कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय