विकराल बन्दै पाठेघर खस्ने समस्या, लाजका कारण उपचार गराउँदैनन् महिला

वसन्त ढुंगाना
प्रकाशित
२०७६ मंसिर २० गते १७:५९

माडी नगरपालिका–७ दिवानगरमा बुधबार स्वास्थ्य शिविर बस्ने थाहा पाएपछि गीता सुवेदी पनि स्वास्थ्यपरीक्षण गराउन आइन् । हात–खुट्टा झम्झमाउने तथा दाँतको समस्या लिएर उपचारका लागि आएकी सुवेदीलाई पाठेघर परीक्षण गराउने इच्छा थिएन । गाउँका दिदी–बहिनीको करकापमा उनी गाउँमै आएको शिविरमा पाठेघरको क्यान्सर स्क्रिनिङ परीक्षण गर्न राजी भइन् ।  पाठेघरको परीक्षण गर्न लाज मानेकी ३९ वर्षीया सुवेदीको पाठेघर खसेको स्वास्थ्यकर्मीले पत्ता लगाए । तर, पाठेघर खसेको अरूले थाहा पाउँछन् कि भन्ने चिन्ता उनमा अझै छ ।

अरू नै समस्या लिएर अस्पताल गए पनि उनी अहिलेसम्म पाठेघरको उपचारका लागि अस्पताल पुगेकी छैनन् । ‘चिसोमा हात–खुट्टा झम्झमाउँछ । डाढ कम्मर दुख्छ । उपचारका लागि भरतपुरसम्म जाने गरेकी छु,’ लजाउँदै उनले भनिन्, ‘यसअघि गाउँमा स्वास्थ्य शिविर आउँदा पनि परीक्षण गराइन् ।’ समाजको लाजसँगै गरिबी र स्वास्थ्यसेवामा पहुँच नभएका कारण माडी–७ दिवानगरका अधिकांश पाठेघर खसेका महिला अझै पनि आफ्नो रोग लुकाएर बस्न बाध्य छन् ।

पाठेघर, स्तनक्यान्सर तथा आँखाजाँचसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्यपरीक्षण गर्न आएका अधिकांश महिला पाठेघर खस्ने समस्याले पीडित रहेको पत्ता लागेको हो । माडी नगरपालिका–७ दिवानगरको राष्ट्रिय आधारभूत विद्यालयमा आयोजना गरिएको शिविरमा एकै गाउँका १८ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । ‘बुधबार हामीले शिविर सञ्चालन गरेर ६५ जना महिलाको स्तन तथा पाठेघरको मुखको जाँच गर्यौँ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी वरिष्ठ नर्स अयोध्याकुमारी पाठकले भनिन्, ‘२८ प्रतिशतमा पाठेघर खस्ने समस्या देखिएको छ ।’

परीक्षण गराएका महिलामध्ये पहिलो, दोस्रो र तेस्रो डिग्रीको पाठेघर खस्ने समस्या रहेको उनले बताइन् । एकजनामा क्यान्सरको समेत लक्षण देखापरेको उनले जानकारी दिइन् । ‘पाठेघरको ह्युमन प्याप्लोमा भाइरस क्याचआउट गर्न आएका थियौँ, त्यो एकजनामा भेटिएको छ,’ पाठकले भनिन्, ‘क्यान्सरको लक्षण नदेखिए पनि पाठेघरको समस्या बढी नै छ । यसका लागि पाठेघरको मुखको व्यायाम गर्न हामीले सुझाएका छौँ ।’  पाठेघरको तेस्रो डिग्री तल आउँदा एकदमै कठिन हुने भएकाले स्वास्थ्यसंस्थामा भएर सिलिकन रिङ प्रयोग गर्न उनले आग्रह गरिन् । ओजनदार वस्तु नउठाउनसमेत उनले पीडितलाई सुझाब दिइन् ।

तेस्रो र दोस्रो डिग्रीको पाठेघर खस्ने समस्या झेलिरहेका बिरामीलाई ‘सिलिकोन रिङ पेसरी’ राख्ने तरिका तथा परामर्श सेवा पनि प्रदान गरिएको छ । राज्यले सिलिकोन रिङ पेसरी स्वास्थ्यचौकीबाट निःशुल्क वितरण गर्छ । तर, पनि महिला लाजका कारण पाठेघरको समस्या बताउन चाहँदैनन् । बालविवाह, जन्मान्तर थोरै राख्नु, कुपोषण, सुत्केरी अवस्थामा उचित हेरचाहको कमी तथा जनचेतनाको कमीलगायत कारणले पाठेघर खस्ने समस्या विकराल बन्दै गएको उनले बताइन् । महिला र परिवारका अन्य सदस्यले महिलाको स्वास्थ्यमा ख्याल नगर्दा पाठेघर खस्ने समस्या बढ्दै गएको क्यान्सर अस्पतालकी नर्स दारा दवाडीले जानकारी दिइन् । स्वास्थ्यकर्मीले पनि गर्भपरीक्षण गर्दा पाठेघरको व्यायामसम्बन्धी जानकारी दिएको उनको भनाइ छ । सुत्केरी भएको समयमा पर्याप्त आराम नगर्नु, धेरै बच्चा जन्माउनुलगायत कारणले पनि महिलामा पाठेघर खस्नमा भूमिका खेलिरहेका छन् ।

चितवन जिल्लामा प्रत्येक वर्ष करिब ४ सय महिलाको पाठेघरको अप्रेसन गरिने स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य नर्सिङ अधिकृत नन्दकली चापागाईंले जानकारी दिइन् । भरतपुर अस्पतालमा पाठेघर खसेको महिलाको निःशुल्क अप्रेसन हुने गरेको छ ।  विश्वस्तरमा महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा ठूलो हिस्सा पाठेघरको मुखको क्यान्सरको छ, जुन ७० प्रतिशत छ । दोस्रोमा स्तनक्यान्सर छ । नेपालमा प्रत्येक वर्ष करिब १० हजार २० जनामा पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुमान छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक वर्ष २ लाख ७० हजारभन्दा बढी महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुन्छ । यसमध्ये ८५ प्रतिशत मृत्यु नेपाललगायत विकासोन्मुख मुलुकका महिलाको हुन्छ । नेपालमा हालै गरिएको एक अध्ययनअनुसार बर्सेनि करिब २ हजार महिलाले पाठेघरसम्बन्धी रोगका कारण ज्यान गुमाइरहेका छन् ।

स्पन्दन नेपालको आयोजनामा गरिएको स्वास्थ्य शिविरमा १ सय ५७ जनाले आँखाको जाँच, ६५ जनाले पाठेघरको जाँच र ७० जनाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन् । त्यसमध्ये २१ जनामा मोतियाविन्दु देखिएको छ । त्यस्तै, शिविरमा परीक्षण गराएका मध्ये ४० जनाले चस्मा लगाउनुपर्ने अवस्था रहेको भरतपुर आँखा अस्पतालका नेत्र सहायक सुभाष सापकोटाले जानकारी दिए । एकजनामा पाठेघरको मुखमा क्यान्सरको स्क्रिनिङ देखापरेको क्यान्सर अस्पतालका डा. गम्भीर श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय