मन्त्री ढकालसामु स्वास्थ्य स्वयंसेविकाको माग : जीविका धान्ने पारिश्रमिक र तालिम पाऊँ

‘गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवर्धनमा अहम् भूमिका’ नाराका साथ बिहीबार १६औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । दिवस मनाइरहँदा स्थानीय तहमा परिचालित भइरहेका स्वयंसेविकाले न्यून भत्ताका काममा खटिनुपर्दा जीविकोपार्जनमा कठिनाइ भइरहेको गुनासो पोखिरहेका छन् । स्वास्थ्य सेवा विभागले दिवसको अवसर पारेर गरेको कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसामु जीविका धान्न सक्ने गरी पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन् । स्वयंसेविकालाई न्यूनतम आवश्यकता पूरा गर्न कठिनाइ रहेकाले मासिक तलबको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । हालसम्म उनीहरू न्यून भत्ताका भरमा खटिँदै आएका छन् ।

मन्त्री ढकालले अभाव र कष्टका बीच सेवा गर्दै आएका स्वयंसेविकाको समस्यालाई राज्यले प्राथमिकतामा राखेर हेर्ने बताए । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका रणनीति परिमार्जनका क्रममा स्वयंसेविकाका समस्यालाई समेटेर अगाडि बढ्ने आश्वासन उनले दिए । ०५३ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा सेवा गर्दै आएकी काठमाडौं–७ की स्वास्थ्य स्वयंसेविका सावित्री मैनाली आफूजस्ता ५२ हजार दिदीबहिनीको जीविकोपार्जन र पेसागत दक्षता विकासमा सरकारले उचित ध्यान दिन नसकेको बताइन् ।

‘नयाँ प्रविधि, नयाँ उपचार प्रणालीको विकास भएको छ, तर स्वास्थ्य स्वयंसेविकालाई केन्द्र, प्रदेश वा स्थानीय कुनै सरकारले पनि तालिमको व्यवस्था गरेको छैन,’ मैनालीले भनिन्, ‘यस्तो अवस्थामा हामी कस्तो सेवा दिन सक्छौँ ?’ अन्य देशमा स्वास्थ्य स्वयंसेविकालाई मासिक तलबको व्यवस्था भए पनि नेपालमा भने भत्ताका भरमा जीवन निर्वाह गर्नुपरेको मैनालीको गुनासो छ । ६० वर्ष पार गरेका स्वंयसेविकालाई राज्यले कुनै पनि सम्मानजनक व्यवहार नगरी निकालेको प्रति मैनालीले दुखेसो पोखिन् ।
‘स्वयंसेविकाका लागि नयाँ निर्देशिका बन्दै छ भन्ने सुनेकी छु, तर हामीलाई सहभागी नगराई तयार पारिने निर्देशिकाले हाम्रो दुःख बुझिदिन्छ र ?’ उनले प्रश्न गरिन्, ‘धेरै ठाउँमा अहिले नगरपालिकाले स्वयंसेविकालाई तालिम नै नदिई काम गर्न जानेनन् भन्दै बर्खास्त गरेका छन्, हामीमाथि राजनीति गर्न खोजिएको छ ।’

हाल देशभर ५२ हजारको हाराहारीमा स्वयंसेविका खटिँदै आएका छन् । आर्थिक वर्ष ०४५÷४६ देखि सुरु भएको महिला स्वास्थ्य स्वयंसेविका परिचालन कार्यक्रमले नेपालमा मातृ तथा शिशु स्वास्थ्य, परिवारनियोजन सेवा, प्राथमिक स्वास्थ्यसेवाको उपयोग तथा महिला सशक्तीकरणको सुधारमा महत्त्वपूर्ण योगदान पुगिरहेको छ । त्यसैगरी, महिला स्वास्थ्य स्वंयसेविकाले सुरक्षित मातृत्वका लागि सुत्केरीको रक्तस्राव रोक्न मातृसुरक्षा चक्की, परिवारनियोजनका अस्थायी साधन, गर्भवती महिला र सुत्केरीपश्चात् आइरन चक्की वितरणजस्ता काम गर्दै आएका छन् । यसका अतिरिक्त बालस्वास्थ्यअन्तर्गत भिटामिन ए खुवाउने, झाडापखाला लागेका बच्चालाई जीवनजल तथा जिंक चक्की र जुकाको औषधि वितरणका साथै स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने काम गर्दै आएका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई संघीय संरचनाअनुकूल बनाउन तथा सेवाप्रवाहमा समयसापेक्ष परिमार्जन गर्न हाल महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका रणनीति परिमार्जनको अन्तिम तयारी भइरहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनीलक्ष्मी तुइतुई बताउँछिन् । सरकारले स्वयंसेविकालाई वार्षिक १३ हजार रूपैयाँ भत्ताको व्यवस्था गर्दै आएको छ । ‘पोसाकबापत वार्षिक १० हजार र यातायत खर्च ३ हजारको व्यवस्था गरेको छ,’ तुइतुई भन्छिन्, ‘यसका अलावा कार्यक्रमका रूपमा पनि भत्ता दिने गरिएको छ ।’

यस हिसाबले राज्यले प्रतिवर्ष करिब ५२ हजार स्वास्थ्य स्वयंसेविकाका लागि यातयात र पोसाकमा कुल ६६ करोड ८४ लाख ९९ हजार खर्च गर्दै आएको छ । महिला स्वास्थ्य स्वयंसेविकाले एक वर्षमा जन्मपश्चात् गरिने आमा र बच्चाबीचमा छालादेखि छालाको सम्पर्क कार्यक्रमअन्तर्गत घर–घरमा गएर ९७ हजार ५ सय ५० जनालाई सेवा दिएका छन् । त्यसैगरी, स्वयंसेविकाले ९३ हजार ४ सय ७७ नवजात शिशुलाई नाभीमलम प्रयोग गराएका छन् भने २३ हजार ३ सय २० महिलालाई आमा सुरक्षा चक्की वितरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय