४ कलेजका विद्यार्थीद्वारा एमबिबिएस परीक्षा बहिष्कार, शान्तिपूर्ण धर्नामा प्रहरीको लाठी, तेस्रो र चौथो वर्षका लागि कार्यदल गठन

अवैध असुलिएको शुल्क फिर्ताको प्रमुख माग राख्दै महिनौँदेखि आन्दोलनरत मेडिकल विद्यार्थीले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)द्वारा सञ्चालित बिहीबारको एमबिबिएस र बिएससी नर्सिङको प्रथम वर्षको बोर्ड परीक्षा बहिष्कार गरेका छन् । एमबिबिएसको बुधबारको परीक्षामा तीनवटा मेडिकल कलेजका कुनै पनि विद्यार्थी र एक मेडिकल कलेजका झन्डै ९५ प्रतिशत विद्यार्थी सहभागी भएनन् ।

बुधबारको बिडिएसलगायतको परीक्षा बहिष्कार गरेका चारवटा कलेजमध्ये तीनवटाका सम्पूर्ण विद्यार्थीले बिहीबारको एमबिबिएस परीक्षासमेत बहिष्कार गरे भने बुधबारको परीक्षा दिएका गण्डकी मेडिकल कलेजका विद्यार्थीले बिहीबारको परीक्षा बहिष्कार गरे । बुधबारको एमबिबिएस परीक्षा बहिष्कार गर्नेमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका विद्यार्थी छन् । उनीहरूले कलेजहरूले सबै विद्यार्थीबाट असुलेको अवैध शुल्क फिर्ता नगरेसम्म पठन–पाठन, परीक्षालगायत शैक्षिक कार्यक्रममा सहभागी नहुने र आन्दोलन जारी राख्ने बताएका छन् ।

सिएमसीमा धर्नामा बसेका विद्यार्थीमाथि प्रहरीको लाठी, सबै विद्यार्थीले गरे परीक्षा बहिष्कार

चितवन मेडिकल कलेज (सिएमसी) का सबै विद्यार्थीले बुधबारको एमबिबिएस परीक्षा सामूहिक रूपमा बहिष्कार गरे । बुधबारको परीक्षामा पनि यहाँका सबै बिडिएस विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए । बुधबार उनीहरूले प्रवेशपत्र जलाएर विरोध प्रदर्शन गरेका थिए ।बिहीबार परीक्षा बहिष्कार गरेर नियमित आन्दोलनमा सहभागी भइरहेका विद्यार्थीमाथि प्रहरी प्रशासनले बल प्रयोग गरेको छ । शान्तिपूर्ण धर्नामा बसिरहेका विद्यार्थीमाथि प्रहरीले निर्मम रूपमा लाठीचार्ज गरेको आन्दोलनरत विद्यार्थीले बताएका छन् । प्रहरीको लाठीबाट एक विद्यार्थीको हातमा गम्भीर चोट पुगेका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो ।

गण्डकीमा प्रिन्सिपल र सिइओका छोराछोरीसहित ५ जनाले मात्र दिए परीक्षा, ९० विद्यार्थीले गरे बहिष्कार, प्रश्नपत्र आउट
गण्डकी मेडिकल कलेजमा ९० भन्दा बढी विद्यार्थीले परीक्षा बहिष्कार गरेर आन्दोलन गरिरहँदा ५ विद्यार्थीले भने परीक्षा दिएका छन् । परीक्षा दिनेमा कलेजका प्रिन्सिपल र सिइओका छोराछोरीसमेत सामेल छन् । अवैध शुल्क फिर्ताको आन्दोलनको बिउ जगाउने गण्डकीका बिडिएस विद्यार्थीले भने बुधबार परीक्षा दिएका थिए । तर, एमबिबिएसका अधिकांश विद्यार्थीले बिहीबारको परीक्षा बहिष्कार गरेका हुन् ।

गण्डकीमा परीक्षामा सामेल भएका जम्मा ५ परीक्षार्थीको परीक्षासमेत विवादित बनेको छ । बिहीबारको एमबिबिएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र बाहिरिएपछि परीक्षा विवादित बनेको हो । परीक्षा सुरु हुनु केही मिनेटअगावै प्रश्नपत्र बाहिरिएको बताइएको छ । अवैध शुल्क फिर्ताको माग गर्दै परीक्षा बहिष्कार गरेर आन्दोलन गरिरहेका विद्यार्थीले प्रश्नपत्र बाहिरिएको थाहा पाएलगत्तै परीक्षाहलभित्र पसेर विरोध जनाएका थिए । यसक्रममा प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिएको आन्दोलनरत विद्यार्थी अंकित सिन्हाले जानकारी दिए । ‘प्रहरीले लाठीचार्ज गर्दा ढोकाको सिसा फुटेको छ भने एक विद्यार्थीको हात काटेको छ,’ उनले भने ।

युनिभर्सल र नेसनलका सबै २ सय एमबिबिएस विद्यार्थीले गरे परीक्षा बहिष्कार
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र नेसनल मेडिकल कलेजका प्रथम वर्षका सबै २ सय एमबिबिएस विद्यार्थीले बिहीबार परीक्षा बहिष्कार गरेका छन् । दुवै कलेजमा परीक्षा बहिष्कार गरेर विद्यार्थीले शुल्कफिर्ताको आन्दोलनलाई राजी राखेका छन् । यी दुवै कलेजका सबै बिडिएस विद्यार्थीले बुधबारको परीक्षा बहिष्कार गरेका थिए ।

जानकीमा बिडिएस विद्यार्थीले बहिष्कार गरे, एमबिबिएसले परीक्षा दिए
जानकी मेडिकल कलेजका विद्यार्थीले बिहीबार बिडिएसतर्फको परीक्षा बहिष्कार गरेकोमा बिहीबार एमबिबिएसतर्फका विद्यार्थी भने परीक्षामा सामेल भएका छन् ।

यसअघि २१ कात्तिकदेखि सञ्चालन गर्ने गरी तय गरिएको परीक्षा विद्यार्थीकै बहिष्कारका कारण आइओएमले बुधबारदेखि सुरु हुने गरी सारेको थियो । सारिएको मितिमा पनि विद्यार्थीले परीक्षा बहिष्कार गरेर आन्दोलन जारी राखेका हुन् । १० मंसिरमा सरकार र केलेज सञ्चालकबीच अवैध असुलिएको शुल्क फिर्ताबारे दुईबुँदे सहमति भएसँगै आइओएमले परीक्षा फर्म भर्ने म्याद १५ मंसिरसम्मका लागि थप गर्दै तोकिएको मितिमा परीक्षामा सामेल हुन आन्दोलनरत विद्यार्थीलाई आह्वान गरेको थियो । तर, विद्यार्थीले भने कलेज सञ्चालकसितको मिलेमतोमा सरकारले पीडित विद्यार्थीले न्याय नपाउने गरी ठगीकर्ता सञ्चालकलाई उन्मुक्ति दिने हिसाबले सहमति गरेको भन्दै आन्दोलन जारी राखेका हुन् ।

तेस्रो र चौथो वर्षको अतिरिक्त शुल्क छानबिनका लागि चिकित्साशिक्षा आयोगद्वारा कार्यदल गठन
यसैबीच, राष्ट्रिय चिकित्साशिक्षा आयोगले एमबिबिएस र बिडिएस तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीबाट असुलिएको अवैध शुल्कबारे छानबिन गर्न कार्यदल गठन गरेको छ । आयोगले बिहीबार अतिरिक्त असुलिएको शुल्कबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको हो । आयोगले योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

सरकार र मेडिकल कलेज सञ्चालकबीच १० मंसिरमा भएको अतिरिक्त शुल्क फिर्तासम्बन्धी दुईबुँदे सहमतिमा हाल प्रथम र द्वितीय वर्षमा अध्ययनरत विद्यार्थीको मात्र अतिरिक्त शुल्क समायोजन गर्ने सहमति भएको थियो । तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीको हकमा भने आयोगले छानबिन गरी सोही आधारमा शुल्कफिर्ताको प्रक्रिया बढाउने उल्लेख थियो । सोही सहमति कार्यान्वयनका क्रममा आयोगले छानबिन कार्यदल गठन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय