४ मेडिकल कलेजका सबै विद्यार्थीद्वारा बुधबारको परीक्षा बहिष्कार, सिएमसीमा प्रवेशपत्र जलाएर विरोध

अवैध शुल्क फिर्ताको प्रमुख माग राख्दै महिनौँदेखि आन्दोलनरत मेडिकल विद्यार्थीले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) द्वारा सञ्चालित बुधबारको प्रथम वर्षको वार्षिक परीक्षा बहिष्कार गरेका छन् । बुधबारको बिडिएसलगायतको परीक्षामा चारवटा मेडिकल कलेजका विद्यार्थी सहभागी भएनन् । एमबिबिएस प्रथम वर्षको परीक्षा बिहीबारबाट सुरु हुँदै छ । बुधबारको परीक्षा बहिष्कार गरेका चारवटै मेडिकल कलेजका विद्यार्थीले बिहीबारको एमबिबिएसको परीक्षासमेत पूर्णतः बहिष्कार गर्ने घोषणा गरेका छन् ।

बुधबार परीक्षा बहिष्कार गर्नेमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज र जानकी मेडिकल कलेजका विद्यार्थी छन् । उनीहरुले कलेजहरुले सबै विद्यार्थीबाट असुलेको अवैध शुल्क फिर्ता नगरेसम्म पठन–पाठन, परीक्षालगायत शैक्षिक कार्यक्रममा सहभागी नहुने र आन्दोलन जारी राख्ने बताएका छन् ।

यसअघि २१ कात्तिकदेखि सञ्चालन गर्ने गरी तय गरिएको परीक्षा विद्यार्थीकै बहिष्कारका कारण आइओएमले बुधबारदेखि सुरु हुने गरी सारेको थियो । सारिएको मितिमा पनि विद्यार्थीले परीक्षा बहिष्कार गरेर आन्दोलन जारी राखेका हुन् । १० मंसिरमा सरकार र केलेज सञ्चालकबीच अवैध असुलिएको शुल्क फिर्ताबारे दुईबुँदे सहमति भएसँगै आइओएमले परीक्षा फर्म भर्ने म्याद १५ मंसिरसम्मका लागि थप गर्दै तोकिएको मितिमा परीक्षामा सामेल हुन आन्दोलनरत विद्यार्थीलाई आह्वान गरेको थियो । तर, विद्यार्थीले भने कलेज सञ्चालकसितको मिलेमतोमा सरकारले पीडित विद्यार्थीले न्यय नपाउने गरी ठगीकर्ता सञ्चालकलाई उन्मुक्ति दिने हिसाबले सहमति गरेको भन्दै आन्दोलन जारी राखेका हुन् ।

सिएमसीमा प्रवेशपत्र जलाएर विरोध प्रदर्शन
चितवन मेडिकल कलेज (सिएमसी) का विद्यार्थीले सामूहिक रुपमा परीक्षाको प्रवेशपत्र जलाएर विरोध प्रदर्शन गरेका छन् । बुधबारको परीक्षामा सिएमसीका कुनै पनि विद्यार्थी सहभागी भएनन् । उनीहरुले सडकमा सामूहिक रुपमा प्रवेशपत्र दहन गरी अवैध शुल्क फिर्ताको माग पूरा नभएसम्म आन्दोलनबाट पछि नहट्ने उद्घोष गरे ।

युनिभर्सलका सबै ४० बिडिएस विद्यार्थीले गरे परीक्षा बहिष्कार, बिहीबार सबै १०० ले नै बहिष्कार गर्ने
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका प्रथम वर्षका सबै ४० बिडिएस विद्यार्थीले बुधबारको परीक्षा बहिष्कार गरेका छन् । युनिभर्सलमा एमबिबिएसतर्फ कुल १०० विद्यार्थी प्रथम वर्षमा अध्ययनरत छन् । उनीहरु सबैले बिहीबारको परीक्षा बहिष्कार गर्ने घोषणा गरेका छन् ।

‘कलेज प्रशासनले हाम्रा अभिभावकलाई फोन गरेर भोलि (बिहीबार) को परीक्षामा आफ्ना बालबालिकालाई सहभागी गराउन प्रयास गरिरहेको छ,’ आन्दोलनरत एक विद्यार्थीले भने, ‘तर, हामी अवैध शुल्क फिर्ता हुने ग्यारेन्टी नभएसम्म परीक्षा वा अन्य शैक्षिक गतिविधिमा सामेल हुँदैनौँ । यो हाम्रो शतप्रतिशत विद्यार्थीको एकमतको निर्णय हो ।’

उनका अनुसार विद्यार्थीले कलेज प्रशासनलाई सरकारसित भएको दुईबुँदे सहमतिअनुसार प्रथम र द्वितीय वर्षका विद्यार्थीको अवैध शुल्क समायोजनको प्रक्रिया थाल्न भने पनि कलेजले विभिन्न बहाना बनाएर टार्दै आएको छ । ‘प्रथम वर्षका विद्यार्थीले मात्र एक वर्षमा तोकिएभन्दा २ लाख ४१ हजार रुपैयाँ अतिरिक्त बुझाइसकेका छन् । द्वितीय, तृतीय, चतुर्थ वर्षका विद्यार्थीबाट त्यसै अनुपातमा १५ लाखसम्म अतिरिक्त असुलिएको अवस्था छ,’ उनले भने, ‘सबै विद्यार्थीको सबै शीर्षकमा ठगी गरिएको रकम फिर्ता वा समायोजन नगरिएसम्म हामी आन्दोलनबाट पछि हट्दैनौँ ।’

दुईबुँदे सहमति देखाउनका लागि मात्र गरिएको उनले बताए । सोही सहमतिअनुसार समायोजनको प्रक्रिया खुलाउन आग्रह गर्दा पनि कलेजले केही शीर्षकमा लिएको अतिरिक्त शुल्क मात्र फिर्ता गर्न सक्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको उनको भनाइ छ । ‘वास्तवमा कसैको पनि अवैध शुल्क फिर्ता हुने ग्यारेन्टी छैन,’ उनले भने, ‘हामीबाट जसरी अवैध असुलिएको हो, त्यसैगरी दुरुस्तै फिर्ता चाहिन्छ ।’

नेसनल र जानकीका विद्यार्थीले पनि गरे परीक्षा बहिष्कार, आन्दोलन जन्माउने गण्डकीमा भने परीक्षा
नेसनल मेडिकल कलेज र जानकी मेडिकल कलेजका विद्यार्थीले पनि बुधबारको बिडिएसलगायतको परीक्षा बहिष्कार गरेका छन् । अफूबाट अवैध रुपमा असुलिएको सम्पूर्ण रकम जस्ताको तस्तै फिर्ता नभएसम्म परीक्षामा सामेल नहुने विद्यार्थीले जानाएका छन् । उनीहरुले बुधबार पनि प्रदर्शन र धर्ना जारी राखेका छन् ।

तर, अवैध शुल्क फिर्ताको आन्दोलनको सर्वप्रथम उठान गरेका गण्डकी मेडिकल कलेज, पोखराका विद्यार्थीले भने बुधबारको परीक्षा दिएका छन् । अन्य मेडिकल कलेजमा आन्दोलन सुरु नै नहुँदा महिनौँसम्म कलेज बन्द गरेर सरकारलाई अवैध शुल्क फिर्ताको निर्देशन दिन बाध्य पारेका गण्डकीका विद्यार्थीले महिनौँसम्म शुल्क फिर्ता नहुँदा पनि बुधबार परीक्षा दिएका हुन् ।

आइओएमअन्तर्गत आधा विद्यार्थी मात्र परीक्षामा सहभागी

आइओएमअन्तर्गत सबै मेडिकल कलेजमा गरी करिब ७०० विद्यार्थी प्रथम वर्षमा अध्ययनरत छन् । तीमध्ये परीक्षा बहिष्कार गर्ने ४ वटा मेडिकल कलेजमा करिब ३५० को हाराहारीमा विद्यार्थी छन् । यस हिसाबले बिहीबार अधा परीक्षार्थीले प्रथम वर्षको परीक्ष बहिष्कार गर्नेछन् । त्यसैगरी, १०० भन्दा बढी बिडिएसका विद्यार्थीले बुधबार नै परीक्षा बहिष्कार गरिसकेका छन् ।

आइओएमअन्तर्गत चिकित्साशिक्षामा ८ वटा संकायको परीक्षा हुँदै छ । एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएनएस, बिपिएच, बी–फार्मेसी, एमएलटी र एमआइटी गरी आठै संकायका विद्यार्थी मेडिकल कलेजहरुबाट ठगिएका छन् । तर, सरकारले एमबिबिएस र बिडिएसका पनि प्रथम र द्वितीय वर्षका विद्यार्थीबाट असुलिएको अतिरिक्त शुल्क समायोजन गर्ने सहमति गरेको छ । यद्यपि, त्यही सहमतिको कार्यान्वयन प्रक्रिया पनि कलेजहरुले बढाएका छैनन् । कलेजहरु केही शीर्षकमा ठगिएको रकम मात्र समायोजन गर्ने दाउमा छन् ।

विद्यार्थीबीच फुट ल्याएर आन्दोलन तुहाउने दुईबुँदे सहमतिको रणनीति विफल
सरकार र मेडिकल कलेज सञ्चालकहरुले प्रथम र द्वितीय वर्षका विद्यार्थीको मात्र अवैध शुल्क फिर्ता हुने गरी गरेको सहमतिलाई विद्यार्थीमा फुट ल्याएर आन्दोलन तितरबितर बनाउने रणनीतिका रुपमा हेरिएको थियो । तर, उक्त रणनीति विफल भएको छ । माग पूरा गरिएको भनिएका प्रथम वर्षका विद्यार्थीले नै वार्षिक परीक्षा बहिष्कार गरेर आन्दोलन चर्काउनमा अघि सरेपछि कलेज सञ्चालकको ‘फुटाऊ र राज गर’ को रणनीति विफल भएको हो । आन्दोलनरत विद्यार्थीले बुधबारको घटनाले सबै विद्यार्थी सबै ठगी रकम दुरुस्त फिर्ता नभएसम्म विद्यार्थी एकता कायम रहने सन्देश गएको बताएका छन् ।

कलेजको करोडौँ ठगी ठगीविरुद्ध आफूहरूले महिनौँदेखि आन्दोलन चलाइरहँदा सरकारले ठगीकर्ता कलेज सञ्चालककै तजबिजमा पीडित विद्यार्थीले न्याय नपाउने गरी शुल्क फिर्ताको अपूरो सहमति गरेको भन्दै विद्यार्थीले आन्दोलन जारी नै राखेका छन् । संगठित रूपमा आन्दोलन गरिरहेका विद्यार्थीबीच फुट ल्याई आन्दोलन तुहाएर ठगीकर्तालाई उन्मुक्ति दिने नियोजित चालअन्तर्गत १० मंसिरमा प्रमुख सरोकार पक्ष विद्यार्थीको प्रतिनिधित्वसमेत नगराई अपूरो र अवैज्ञानिक सहमति गरिएको विद्यार्थीको भनाइ छ ।

सरकारले अवैध शुल्क फिर्ता गर्न दिएको पटक–पटकको अल्टिमेटम नमानेका कलेज सञ्चालकहरूसित १० मंसिरमा रातारात दुईबुँदे सहमति गरेको थियो । सहमतिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा चलाइएको ८–१० घण्टा लामो छलफलमा लामो समयदेखि पठन–पाठन ठप्प पारेर आन्दोलन गरिरहेका पीडित विद्यार्थीको भने प्रतिनिधित्व गराइएको थिएन । सहमतिमा एमबिबिएस र बिडिएसका प्रथम र द्वितीय वर्षमा अध्ययनरत विद्यार्थीबाट असुलिएको अतिरिक्त शुल्क मात्र समायोजन गर्ने सहमति भएको थियो । सबै संकाय र वर्षका विद्यार्थीबाट ठगिएको सम्पूर्ण रकम फिर्ता हुनुपर्ने माग आन्दोलनरत विद्यार्थीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय