देउसीको दान सहयोगले बुटवलमा सामुदायिक मुटु अस्पताल बन्ने, ५ करोड संकलन, २० करोड लागत

कृष्ण मल्ल
प्रकाशित
२०७६ मंसिर १८ गते १५:१७

देउसी–भैलोको दानले बुटवल उपमहानगरपालिका–१३ बेलवासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण गरिने भएको छ । लायन्स क्लब अफ बुटवल बेलवासले दीपावलीको अवसरमा देउसी–भैलो खेलेर संकलन गरेको करिब ५ करोड र सेयर सदस्यबाट १० करोड उठाएर अस्पताल बनाउन लागिएको हो ।

मुटु अस्पतालकोे आवश्यकता महसुस भएपछि त्यसको तयारी गरिएको क्लबका अध्यक्ष लक्ष्मण खड्का बताउँछन् । अस्पताल स्थापनार्थ खेलिएको देउसी–भैलोबाट क्लबले ५ करोड संकलन गरेको उनले जानकारी दिए ।

अस्पताल बुटवल–१३ बेलवासको १० नम्बर टोलमा बन्ने बताइएको छ । तर, अस्पतालका लागि जमिनको भने टुंगो लागिसकेको छैन । बुटवलमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल पनि सञ्चालनमा छ । अस्पताल महाअभियानको सहआयोजकमा लायन्स क्लब अफ बुटवल बेलवास सिर्जनशील छ । अस्पतालका लागि बुटवल जग्गा उपलब्ध गराउन उपमहानगरपालिकासँग अनुरोध गर्ने अध्यक्ष खड्काले बताए ।

२५ शय्याको योजना गरिएको उक्त अस्पतालमा ‘आइसियू’ र ‘सिसियू’सहितका कक्ष हुनेछन् । अस्पताल बनाउन आफूहरूले महाअभियान नै सुरू गरेको जनप्रतिनिधि तथा क्लबका सचिव वेदप्रसाद गैरेले बताए ।

क्लबका द्वितीय उपाध्यक्ष डिबी खत्रीले अस्पताल स्थापनाका लागि कुल २० करोड लगानी हुने जानकारी दिए । उनले १० करोड आफूहरुले संकलन गर्ने र अस्पतालका उपकरण लायन्स क्लब अफ इन्टरनेसनलबाट ल्याउने सहमति भइसकेको बताए । लायन्स क्लब अफ इन्टरनेसनलले ६ करोडका उपकरण दिने बताइएको छ ।

अस्पतालका लागि भन्दै देउसी–भैलोमा बुटवल–१३ का दण्डपाणि खनालले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ दान दिएका छन् । त्यस्तै, कृष्ण लम्सालले २ लाख ५५ हजार ५ सय ५५ दिएका छन् । २ वर्षभित्र अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने अस्पताल निर्माणका अभियन्ता दण्डपाणि खनालले बताए । क्लबले एक हजार संस्थापक सदस्य बनाएर १० करोड संकलन गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय