प्रदेश २ मा स्वास्थ्यबिमितले पाएनन् तोकिएको उपचारसेवा, प्रादेशिक अस्पतालमै दिइँदैन औषधि

जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकका ८० वर्षीय शंकर महतो स्वास्थ्यमा समस्या आएपछि लट्ठी टेक्दै स्वास्थ्यबिमाको कार्ड बोकेर जनकपुर प्रादेशिक अस्पताल पुगे । वार्षिक ३ हजार ५ सय प्रिमियम बुझाएर घरका ५ सदस्यसम्मले तोकिएको स्वास्थ्यसेवा निःशुल्क पाउने भएपछि उनले स्वास्थ्यबिमा गराएका थिए । तर, उपचार गराउन आएका महतोको प्रादेशिक अस्पतालमा चेकजाँच भए पनि उनलाई औषधि भने दिइएन । निःशुल्क पाउनुपर्ने औषधि बाहिर निजी क्लिनिकबाट किन्न भनिएको महतोले दुखेसो पोखेका छन् । स्वास्थ्यबिमा गराएकाहरू जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार गराउन आउँदा समयमा उपचार सेवा नपाउनुका साथै औषधिसमेत नपाएको महतोले गुनासो गरेका छन् । एक लाखसम्मको औषधोपचार निःशुल्क हुने भनिए पनि समयमा भनिएको सेवा नपाउँदा स्वास्थ्यबिमाप्रति नागरिकको चासो कम देखिएको महतोको ठम्याइ छ ।

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरका ५० वर्षीय विनोद भारतीले थोरै रकम प्रिमियम बुझाएर घरका ५ जनासम्मले एक लाखसम्मको निःशुल्क औषधोपचार सुविधा पाउने आशमा बिमा गराए । तर, बिरामी परेपछि स्वास्थ्य चेकजाँच गराउन जनकपुर प्रादेशिक अस्पताल आउँदा डाक्टरहरूले चासो नदेखाएपछि आफू बाहिर निजी क्लिनिकमा गएर स्वास्थ्य चेकजाँच गराउन बाध्य भएको उनको गुनासो छ ।

स्वास्थ्यबिमा बोर्डका पूर्वसंयोजक श्याम गिरिले आफ्नो परिवारको स्वास्थ्यबिमा गराएर प्रादेशिक अस्पतालबाट पाउनुपर्ने सेवा र निःशुल्क औषधि पाउन नसकेको बताए । उनले छोरा बिरामी भएर प्रादेशिक अस्पताल जनकपुरमा चेकजाँच गराउँदा बिमामार्फत पाउनुपर्ने निःशुल्क औषधि नपाएर बाहिरबाट किन्नुपरेको बताए ।

स्वास्थ्यबिमाकर्ताले जनकपुरस्थित प्रादेशिक अस्पतालबाट समयमा औषधि नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले स्वास्थ्यबिमा कार्ड लागू गर्दै ५ जनाको सदस्य भएको परिवारले ३ हजार ५ सय तिरेर वर्षमा एक लाखको निःशुल्क औषधि र स्वास्थ्य चेकजाँच गराउन पाउने व्यवस्था गरेको छ ।

प्रादेशिक अस्पताल जनकपुरधामले २४ कात्तिकसम्म २ हजार १ सय ७८ जनालाई सेवा दिएको स्वास्थ्यबिमा बोर्ड प्रदेश २ का संयोजक रमेन्द्रप्रसाद कुशवाहले जानकारी दिएका छन् । प्रादेशिक अस्पताल जनकपुरमा दैनिक १० देखि १५ जनासम्म बिमित बिरामी उपचार गराउन आउने गरेको अस्पतालका बालरोग विशेषज्ञ डा. जामुन सिंहले बताए । उनले बिमितको उपचारका लागि अस्पतालमा २ जना मात्र जनशक्ति उपलब्ध रहेकाले समस्या भइरहेको बताए । यद्यपि, बिमितको चेकजाँच हुँदै आएको उनले दाबी गरे ।

‘अस्पतालको फार्मेसीमा औषधि नभएका कारण हामीलाई बिमितलाई औषधि दिन समस्या भइरहेको छ,’ उनले भने, ‘अस्पताल समितिले बाहिर क्लिनिकबाट औषधि खरिद गरेको बिलको रकम भुक्तानी नगर्न भनेकाले र अस्पतालको फार्मेसीमा औषधि नहुँदा बिमितलाई औषधि दिनमा समस्या भएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय