मापदण्डको दोब्बर नुन सेवनले नेपालीको स्वास्थ्य जोखिममा

नेपालीले नुनको मात्रा मापदण्डभन्दा दोब्बर खाने गरेको सर्वेक्षणले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणमा नेपालीले आवश्यकभन्दा अत्यधिक नुनको सेवन गर्ने गरेको पाइएको हो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रतिव्यक्ति प्रतिदिन ५ ग्रामभन्दा बढी नुनको सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर, नेपालीले प्रतिदिन ८ दशमलव ७ ग्राम नुनको सेवन गर्ने गरेको पाइएको छ । सर्वेक्षणमा नुन सेवनको मात्रा स्पट युरिन परीक्षणका आधारमा निकालिएको हो ।

कुन प्रदेशमा कति प्रयोग गरिन्छ नुन ?
प्रतिदिन नुनको अधिक सेवनमा कर्णाली प्रदेशवासी सबैभन्दा अघि देखिएका छन् । यहाँ ९ दशमलव ५ ग्राम नुन सेवन गर्ने गरेको सर्वेक्षणले देखाएको छ । दोस्रो स्थानमा प्रदेश ३ छ । यहाँ ९ दशमलव २ ग्राम नुनको सेवन गर्ने गरेको पाइएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा ९ दशमलव २ ग्राम, प्रदेश १ मा ९ दशमलव २ ग्राम, सुदूरपश्चिम प्रदेशमा ९ दशमलव १ ग्राम, प्रदेश २ मा ८ दशमलव ९ ग्राम र प्रदेश ५ मा ८ दशमलव ७ ग्राम नुन सेवन गर्ने गरेको पाइएको छ ।

अधिक नुन सेवनले यस्तो असर
अधिक मात्रामा नुन सेवन गर्नाले मुटुरोग लाग्ने तथा मस्तिष्क र मुटुमा बढी असर गर्ने चिकित्सकहरु बताउँछन् ।
अत्यधिक नुन सेवनले शरीरका रसायनमा असन्तुलन आई मानिसको मृत्युसमेत हुने हुन्छ ।
खासगरी नुनको अत्यधिक सेवन गर्नाले मिर्गौलामा क्याल्सियमको मात्रा बढ्छ । यसले पत्थरीको समस्या निम्त्याउने खतरा बढी हुन्छ ।
नुनको अधिक सेवनले शरीरमा नुनको मात्रा बढ्छ । यसका कारण शरीरमा पानी जम्ने समस्या उत्पन्न हुन्छ । यस्तो अवस्थामा हात, खुट्टा, अनुहार सुन्निने हुन्छ ।
अधिक नुनको प्रयोग पक्षाघात (स्ट्रोक) र हृदयाघातको कारण बन्ने सम्भावना हुन्छ ।
प्रशोधित खानेकुरामा प्रयोग गरिने अत्यधिक नुनले पेटमा क्यान्सर हुने सम्भावना रहन्छ ।
जसले दैनिक ७ दशमलव ३ ग्राम नुनको सेवन गर्छ, उसलाई टाइप२ मधुमेहको खतरा बढी हुन्छ । एक अनुसन्धानका अनुसार नुनमा रहेको सोडियमले इन्सुलिन प्रतिरोधमा सोझो असर गर्छ । यसले गर्दा टाइप२ मधुमेह हुने खतरा अधिक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय