सहमति नमान्ने विद्यार्थीलाई शुल्क फिर्ता गर्नुपर्दैन : कलेज सञ्चालक, सबैको फिर्ता नभएसम्म आन्दोलन : विद्यार्थी

सरकार र मेडिकल कलेजहरूबीच मंगलबार राति भएको सहमतिको विरोध गरेपछि विद्यार्थीलाई तत्काल अतिरिक्त शुल्क फिर्ता गर्नुनपर्ने चितवन मेडिकल कलेजले जनाएको छ । सहमतिपछि पनि विद्यार्थीले जारी राखेको आन्दोलनका विषयमा जानकारी दिने उद्देश्यले चितवन मेडिकल कलेजले बिहीबार पत्रकारसम्मेलन गर्दै रकम फिर्ताको नभई समायोजनको मात्र सहमति भएको जानकारी दिएको छ ।

मेडिकल कलेजका सञ्चालक डा. हरिशचन्द्र न्यौपानले भने, ‘एमबिबिएस र बिडिएसमा अध्ययन गर्दै आएका पहिलो र दोस्रो वर्षका विद्यार्थीको शुल्क समायोजन प्रक्रियामा गइसकेकाले आन्दोलनको अर्थ छैन ।’ तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीको हकमा विश्वविद्यालयको समन्वयमा चिकित्साशिक्षा आयोगबाट आएको निर्णयपछि मात्र केही गर्न सकिने अवस्था रहेको डा. न्यौपानेले बताए ।

‘विश्वविद्यालयले तोकेको रकममा हामीले पढाएका छौँ, अतिरिक्त लिइएको रकम भने आउँदो वर्ष तिर्नुपर्ने शुल्कमा मिलाउने गरी प्रक्रियामा गइसकेको छ,’ उनले भने, ‘पहिलो र दोस्रो वर्षमा पढ्नेहरूको हकमा हामीले बुधबारबाटै लागू गरेका छौँ । तेस्रो र चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको हकमा भने आयोगले अध्ययन गरेर दिएको निर्णय हामीले पालना गर्ने हो ।’

सरकारसँग भएको दुईबुँदे सहमतिमा पनि त्यही सम्झौता भएकाले आफूहरूले त्यहीअनुसार कामकारबाही अगाडि बढाएको उनले बताए । सहमतिको मूल सरोकार पक्ष ठगिएका विद्यार्थी तथा अभिभावक हुन्, जो महिनौँदेखि पढाइ अलपत्र छोडेर न्यायका लागि आन्दोलन गरिरहेका छन् । तर, विद्यार्थीको प्रतिनिधित्वसमेत नगराई रातारात ठगीकर्ता कलेज सञ्चालकलाई राहत दिने गरी उनीहरूकै तजबिजमा सहमति गरियो । सरकारको त्यही कमजोरीको फाइदा उठाउँदै कलेज सञ्चालक डा. न्यौपाने भन्छन्, ‘सहमतिमै भनिएको छ– २०७२/०७३ र ०७३/०७४ को हकमा विश्वविद्यालयको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्साशिक्षा आयोगबाट उपयुक्त निर्णय लिन चिकित्साशिक्षा आयोगसमक्ष अनुरोध गर्ने । यही सम्झौतालाई टेकेर हामीले काम गर्ने हो ।’

सरकारसँग भएको सम्झौताको आफूले पालना गर्ने भन्दाभन्दै फेरि विद्यार्थीले गरेको आन्दोलनले अस्पतालमा अवस्था असहज बन्दै गएको उनले बताए । सरकारको निर्णय पालना गर्ने दायित्व आमजनताको भएकाले आन्दोलनरत विद्यार्थीलाई निर्णय कार्यान्वयनतर्फ लाग्न उनले अनुरोध गरे ।

आन्दोलनरत विद्यार्थीले भने सरकारले अर्बौं ठगीकर्ता कलेज सञ्चालकको इसारामा सहमति गरेर पीडित विद्यार्थीलाई धोका दिएको बताएका छन् । मंगलबार रातिको माफियामुखी दुईबुँदे सहमति खारेज गरी सम्पूर्ण रूपमा अवैध असुलिएको रकम फिर्ता नभएसम्म आन्दोलन जारी रहने विद्यार्थीको भनाइ छ ।
आन्दोलनरत विद्यार्थी नसिम अख्तरले भने, ‘आन्दोलनलाई निस्तेज पार्न पहिलो र दोस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीको रकम समायोजन गर्ने भनिएको हो, हामीलाई सरकार र मेडिकल कलेज सञ्चालकले झुक्याएका छन् ।’

आफ्नो अधिकारका लागि सहमतिविरुद्ध आन्दोलन जारी राख्ने उनले बताए । ‘तेस्रो र चाथौ वर्षमा अध्ययनरत विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता गर्नुपर्नेमा आयोगलाई अध्ययन गर्न दिने, प्रतिवेदन आएपछि, निर्णय आएपछि भनेर झारा टार्ने काम भयो,’ उनले भने ।

सरकार र कलेज सञ्चालक आन्दोलनमा एकजुट भएका विद्यार्थीलाई फुटाएर आफ्नो योजना सफल बनाउन लागेको विद्यार्थीको भनाइ छ । सरकारले समेत मेडिकल सञ्चालकसँग मिलेर पीडित विद्यार्थीका जायज मग सम्बोधन नगरेको विद्यार्थीको गुनासो छ । अपूरो सहमति खारेज गरी पैसा फिर्ता गर्ने सर्तमा मात्रै आन्दोलन रोकिने विद्यार्थीले बताएका छन् । विद्यार्थीले बिहीबार पनि प्रदर्शन जारी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय