त्रिवि आयुर्वेद क्याम्पसमा १० दिनदेखि स्ववियुको ताला, २ चरणको वार्ता विफलपछि समस्या झन् पेचिलो

त्रिवि आयुर्वेद क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले ७ बुँदे माग राखेर क्याम्पस प्रशासनमा तालाबन्दी गरेको १० दिन बितिसकेको छ । विद्यार्थीको मागलाई लिएर क्याम्पस प्रशासन र स्ववियु पदाधिकारीबीच आइतबार र सोमबार भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

क्याम्पसका लागि द्रव्यगुण, शल्यतन्त्रजस्ता विषयमा शिक्षण सहायक छनोट गर्दा प्रतिस्पर्धा नगराई आफूअनुकूलका मान्छे भित्र्याउन खोजेको भन्दै विद्यार्थीले सो विज्ञापन खारेजीको माग गरेका छन् । विद्यार्थीले ३ मंसिरदेखि कलेजमा तालाबन्दी गरेर आन्दोलन थालेका हुन् ।

स्ववियुका कार्यवाहक अध्यक्ष डा. सरोजमणि पोख्रेलले वार्ताका क्रममा क्याम्पस प्रशासन आफ्नो मागप्रति गम्भीर नदेखिएको तथा क्याम्पस प्रमुखले अति तुच्छ शब्दसहित आन्दोलनरत विद्यार्थीलाई गालीगलौज गरेकाले वार्ता विफल भएको बताए । ‘विद्यार्थीको समस्या समाधानमा पहलकदमी लिनुपर्ने प्रमुख जिम्मेवार क्याम्पसप्रमुखले नै स्ववियु पदाधिकारीको अपमान गरेकाले वार्ता विनानिष्कर्ष टुंगिएको हो,’ उनले भने, ‘तालाबन्दी र आन्दोलनका अन्य कार्यक्रम यथावत् रहनेछन् ।

क्याम्पस प्रमुखले आफूले देखाएको तुच्छ व्यवहारप्रति आत्मालोचनासहित लिखित माफी नमागेसम्म पुनः वार्तामा नबस्ने विद्यार्थीको अडान छ । क्याम्पसप्रमुखले आत्मालोचना नगरे संघर्षका कार्यक्रम थप चर्काउने चेतावनी स्ववियुले दिएको छ ।

शिक्षकको छनोटमा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाई पारदर्शिता कायम गर्नुपर्ने, क्याम्पसका रिक्त सम्पूर्ण विभाग यथाशीघ्र एकमुष्ठ रूपमा पूर्ति गरिनुपर्ने, अस्थायी छात्रावासमा सिटसंख्या वृृद्धि गरिनुपर्ने, स्तातकोत्तर अध्ययन–अध्यापनको सुरुवातका लागि तत्काल पहल गर्नुपर्नेलगायत माग विद्यार्थीको छ ।

स्वतन्त्र विद्यार्थी युनियनले रिक्त पदहरूको एकमुष्ट पूर्तिका लागि ३ मंसिरमा दिएको ५ दिने अल्टिमेटमप्रति क्याम्पस प्रशासनले बेवास्ता गरेको तथा विद्यार्थीका जायज मागप्रति गैरजिम्मेवार बनेकाले बाध्यात्मक रूपमा तालाबन्दी गर्नुपरेको स्ववियुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय