सुपको निर्माणाधीन एक मात्र आयुर्वेद चिकित्सालयको ‘ओएनएम’ अन्योलमा

जीवन विष्ट
प्रकाशित
२०७६ मंसिर १२ गते १०:२०

धनगढीमा निर्माणाधीन क्षेत्रीय आयुर्वेद चिकित्सालयको कार्यालय संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्योलमा परेको छ । १३ पुस ०७४ मा सम्झौता भएको ५० शय्याको क्षेत्रीय आयुर्वेद औषधालयको भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भइसकेको छ । तर, त्यसका लागि सुरुमा अघि सारिएअनुरूपको योजनामा ओएनएम केन्द्रले गर्ने कि प्रदेशले भन्ने अन्योल सिर्जना भएको हो ।

सुदूरपश्चिम प्रदेशमा आयुर्वेदको क्षेत्रमा अहिले कुनै अस्पताल छैन । यसैलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले ०७४ सालमा धनगढीको राजपुरमा ५० शय्याको आयुर्वेद चिकित्सालय बनाउने भन्दै बजेट विनियोजन गरेपछि अहिले काम अघि बढेको छ । तर, त्यसको ओएनएम प्रदेश वा केन्द्र कसले गर्ने भन्नेमा अन्योल रहेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सासेवा महाशाखा प्रमुख डा. चेतराज जोशीले बताए ।

‘ओएनएम सर्भे गर्न समस्या छैन,’ उनले भने, ‘केन्द्र सरकारले गर्न नसके पनि हामी सर्भे गरेर रिपोर्ट पठाइदिन्छौँ ।’ प्रदेश सरकारले आयुर्वेदसम्बन्धी ऐनसमेत तर्जुमा गरिसकेको छ । तर, निर्माणाधीन चिकित्सालयमा आयुर्वेद चिकित्सा शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्न प्रतिष्ठानका रूपमा अघि बढाउने योजनामा प्रदेश सरकार रहेको जोशीको भनाइ छ ।

५० शय्याको आयुर्वेद चिकित्सालयमा रहने कर्मचारीको व्यवस्थापन भने केन्द्रले गर्ने भनेर प्रदेश सरकार पछि हटेको छ । यस क्षेत्रका आयुर्वेद व्यवसायी तथा सरोकारवालाले भने आयुर्वेद क्षेत्र प्रदेशका लागि अवसरका रूपमा आएको भन्दै चिकित्सालयको अगुवाइ प्रदेश सरकारले लिनुपर्ने बताउँदै आएका छन् ।

प्रदेश सरकारले निर्माणाधीन चिकित्सालयलाई अघि बढाउन समन्वयकारी भूमिका खेल्नुपर्ने नेपाल आयुर्वेद औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष जयराज भट्टको भनाइ छ । निर्माणाधीन आयुर्वेद चिकित्सालयको भौतिक प्रगति र कामको गतिले सम्झौता अवधिअगावै निर्माण सम्पन्न हुने सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनगढीका इन्जिनियर झंकर थापाले बताए । १६ करोड ३६ लाख लागतमा निर्माण हुन लागेको उक्त आयुर्वेद चिकित्सालयको सम्पन्न सम्झौता अवधि १२ असार ०७७ तोकिएको छ ।

भौतिक संरचना सम्पन्नभन्दा पनि त्यसको सञ्चालन प्रभावकारी रूपमा अघि बढ्नुपर्ने सरोकारवालाको भनाइ छ । त्यसैले सो चिकित्सालयको ओएनएम टुंगोमा पुर्याउन माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय