प्रधानमन्त्रीको स्वास्थ्य सुधार उन्मुख : सल्लाहकार थापा

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको बताएका छन् । थापाले आफू विहानैदेखि अस्पतालमै रहेको र चिकित्सकहरुको अपडेट लिइरहेको भन्दै ओलीको स्वास्थ्य स्थिर रहेको बताए ।

उनले प्रमको स्वास्थ्य अवस्थाबारे कुनै तथ्य पनि नलुकाइएको समेत स्पष्ट पारे । ‘उहाँ (प्रम) होसमै हुनुहुन्छ, डाक्टरहरुसँग कुरा गरिरहनुभएकै छ’ थापाले भने, ‘अस्पतालले जारी गरेको विज्ञाप्तिमा पनि स्टेवल भनिएको छ, त्यो भनेको सुधारउन्मुख हो भनेर डाक्टरहरुले नै भनिरहनु भएको छ’ ।

चिकित्सा विज्ञानमा शरीरका मुख्य सूचकहरु नघटिरहेको अवस्थालाई स्टेवल भनिन्छ । सोमबार रातिदेखि पेट दुखेपछि ओलीलाई परीक्षणका लागि मनमोहन कार्डियोथोरासिस एवं ट्रान्सप्लान्ट सेन्टर पुर्याइएको थियो । परीक्षण गर्दा एपेन्डिसाइटिस देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि ओली आइसियुमा उपचाररत छन् । अहिले पेटमा फैलिएको संक्रमण नियन्त्रणका लागि उपचार जारी छ ।

ओलीको पेटमा फैलिएको संक्रमण नियन्त्रण गर्न औषधि दिइरहिएको छ । श्वासप्रश्वासमा कठिनाई उत्पन्न नहोस् भन्नका लागि इलेक्टिभ भेन्टिलेटरमा समेत राखिएको छ । अस्पतालले पनि साँझ ७ः३० मा प्रेस विज्ञाप्ति जारीगरि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेको जनाएको छ ।



Leave a Reply

Your email address will not be published.