सुर्तीजन्य पदार्थबाट वार्षिक ५ अर्ब राजस्व तर जनचेतनामा १ करोड पनि खर्चिंदैन सरकार

नेपालमा सुर्तीजन्य पदार्थमा लागाइँदै आएको कर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सिफारिस गरेभन्दा ५७ प्रतिशतले कम छ । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा ७० प्रतिशतले कर उठाउनुपर्ने मापदण्ड तोके पनि नेपालले त्यसको आधा पनि उठइरहेको छैन । नेपालले सुर्तीजन्य पदार्थमा ३० प्रतिशत मात्र कर लगाउँदै आएको छ ।

दक्षिण एसियाली मुलुकहरूमा नेपाल सुर्तीजन्य पदार्थको सेवनका हिसाबले दोस्रो स्थानमा छ । पछिल्लो समयमा धूमपान गर्ने दरमा केही कमी आए पनि धुँवारहित सुर्तीजन्य वस्तुको प्रयोग बढ्दै गएको विभिन्न सर्वेक्षणले देखाएका छन् ।

सुर्तीजन्य पदार्थको सेवनका कारण प्रतिवर्ष २७ हजार नेपालीले मृत्युवरण गरिरहेका छन् । सुर्तीजन्य पदार्थको सेवन गर्ने ७ पुरुषमध्ये १ जनाको त्यसैका कारण मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । सुर्तीसेवनकै कारण सिर्जित मुटुरोगका कारण वार्षिक १४ हजार मानिसले अकालमा मृत्युवरण गरिरहेका छन् ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरण तथा नियन्त्रण कार्यक्रमको सोमबार राजधानीमा सुरुवात गर्यो । प्रतिष्ठानले सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम अगामी १८ महिनासम्म चलाउने भएको छ । कार्यक्रमको प्रमुख उद्देश्य प्रमाणसहितको अनुसन्धानका आधारमा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि वकालत गर्नु र नीतिनिर्माणमा प्रभाव पार्नु रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक डा. जयकुमार गुरुङले जानकारी दिए ।

मापदण्डको ४३ प्रतिशत मात्र कर लगाउँदा पनि सुर्तीजन्य पदार्थबाट वार्षिक ५ अर्ब राजस्व तर जनचेतना विस्तारमा १ करोड पनि खर्चिंदैन सरकार
सुर्तीजन्य पदार्थमा लगाइएको करबाट नेपालले वार्षिक ५ अर्बभन्दा बढी आम्दानी गरिरहेको छ । तर, सुर्तीजन्य पदार्थविरुद्ध जनचेतनामूलक कार्यक्रममा १ करोड पनि खर्च गरेको पाइँदैन ।

सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि बलियो नीति ल्याए पनि कार्यान्वयनको पाटो भने कमजोर रहेको राष्ट्रिय स्वास्थ्यशिक्षा सूचना तथा सञ्चार केन्द्रका कार्यकारी निर्देशक कुञ्जराज जोशी बताउँछन् । ‘सरकारले ५ अर्बभन्दा बढी कर उठाउने गरेको छ, तर नियन्त्रण कार्यक्रममा १ करोड पनि खर्च गर्ने गरेको छैन,’ जोशी भन्छन्, ‘सरकारले नियन्त्रणको पाटोमा अझै जनचेतना फैलाएर जानुपर्छ ।’

४८ प्रतिशत नेपाली पुरुषले सेवन गर्छन् सुर्तीजन्य पदार्थ
नेपालमा ४८ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । नेपाल अनुसन्धान परिषद्ले गरेको एक सर्वेक्षणमा ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको देखाएको छ ।

सुर्तीजन्य पदार्थको सेवनमा प्रदेश ५ अग्रस्थानमा
सुर्तीजन्य पदार्थको सेवन गर्नेमा प्रदेश ५ पहिलो स्थानमा छ । प्रदेशमा ५ मा ३६ दशमलव ६ प्रतिशतले सुर्तीजन्य पदार्थको सेवन गर्दै आएको तथ्यांकले देखाएको छ । दोस्रोमा सुदूरपरिश्चम प्रदेशमा ३३ दशमलव ८ प्रतिशतले सुतीजन्य पदार्थको प्रयोग गर्दै आएका छन् ।

त्यसैगरी, कर्णाली प्रदेश र प्रदेश २ मा २९ दशमलव ७ प्रतिशत, गण्डकी प्रदेशमा २५ दशमलव ९, प्रदेश ३ मा २२ दशमलव २ प्रतिशत र प्रदेश १ मा २२ दशमलव ८ प्रतिशत जनताले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् ।

सुर्तीजन्य पदार्थको प्रयोगले प्रत्येक वर्ष २७ हजारभन्दा बढी नेपालीले प्रत्यक्ष रूपमा ज्यान गुमाइरहेका छन् भने यसको असरबाट सिर्जित अन्य रोगहरूबाट ज्यान गुमाउनेको संख्या पनि उल्लेख्य छ । यदि सुर्तीजन्य पदार्थको सेवन नियन्त्रणमा अत्यधिक ध्यानाकर्षण गरिएन भने भविष्यमा यो समस्या अझै खराब हुँदै जाने प्रतिष्ठानका निर्देशक डा. गुरुङ बताउँछन् ।

‘नेपाललाई यस डरलाग्दो जनस्वास्थ्य संकटबाट जोगाउनका लागि नेपाल विकास अनुसन्धान प्रतिष्ठानले महत्त्वपूर्ण कार्यक्रम गर्दै जानेछ,’ गुरुङले भने, ‘सुर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी विषयवस्तुलाई दोस्रो दर्जाको विषयवस्तुबाट पहिलो दर्जाको विषयवस्तुमा सार्नु हाम्रो प्रमुख लक्ष्य हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय