२४ घण्टाभित्र अवैध शुल्क फिर्ता नगरे मेडिकल कलेजमाथि सरकारले ‘एक्सन’ थाल्ने

सरकारले मेडिकल कलेजहरूलाई अवैध शुल्क फिर्ता गर्न थप अल्टिमेटम दिएको छ । अन्तिमपटकका लागि भनेर दिएको १५ दिनको अल्टिमेटम सकिँदासम्म कुनै पनि मेडिकल कलेजले अवैध शुल्क फिर्ता नगरेपछि सरकारले सोमबार २४ घण्टे अल्टिमेटम दिएको हो ।

अपराह्न गृहमन्त्रालयमा सरोकारवाला मन्त्रीहरू, महान्यायाधिवक्ता, प्रहरी प्रमुखलगायतको उपस्थितिमा भएको छलफलपछि सरकारले एक्सनमा आउने चेतावनी दिएको हो । छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी थिए ।

सरकारको एक्सनमा आउने चेतावनीपछि महिनौँदेखि अटेरी गरेर बसेका कलेज सञ्चालकहरू हच्किएको बुझिएको छ । सोमबारको छलफलमा कलेज सञ्चालकहरूले अतिरिक्त असुलिएको शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । उनीहरूले लिखित प्रतिबद्धताका लागि मंगलबारसम्मको समय माग गरेपछि सरकारले २४ घण्टाको समय दिएको स्रोतको भनाइ छ ।

यसअघि कलेज सञ्चालकले महिनादिनको समयसीमाको अवज्ञा गरेपछि गृह मन्त्रालयले २४ कात्तिकमा थप १५ दिनको समयसीमा दिएको थियो । यसबीचमा देशभरका मेडिकल कलेजका विद्यार्थी पठन–पाठन ठप्प पारेर अवैध शुल्कफिर्ताका लागि आन्दोलनरत छन् । निजी मेडिकल कलेजका मात्र नभएर नेपाली सेनाको मेडिकल कलेजका विद्यार्थीसमेत प्रधानसेनापतिलाई खुला पत्र लेखेरै अवैध शुल्क फिर्ताको माग गरिरहेका छन् ।  देशभरका मेडिकल कलेजहरूले ३ वर्षको बीचमा ३ अर्बभन्दा बढी विद्यार्थीबाट ठगी गरेको प्रतिवेदन राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्रीसमक्ष बुझइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय