सत्याग्रह, अवैध शुल्कफिर्ताको विद्यार्थी आन्दोलन र पेस्तोल

हजारौँ हरियारधारीको हिंसात्मक आन्दोलनभन्दा एक व्यक्तिको शान्तिपूर्ण सत्याग्रह निकै बलियो हुन्छ । विश्व इतिहासमा सशस्त्र संघर्षले जितेका उदाहरण विरलै भेटिन्छन्, तर जनताको एकीकृत प्रयासमा हुने शान्तिपूर्ण संघर्षले हारेका उदाहरण कमै मात्र छन् । बहुजनको हक–अधिकार र हितका खातिर संगठित भएर गरिने पूर्णतः शान्तिपूर्ण आन्दोलनले ढिलोचाँडो सफलता पाएकै इतिहास छ ।

शासक वा दाता पक्षलाई आफूविरुद्ध उर्लिएको त्यस्तो आन्दोलन घामट बन्छ, जुन पूर्णतः शान्तिपूर्ण हुन्छ । त्यसैले उनीहरू विरोधीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गराएर हिंसात्मक बनाउन यथासम्भव प्रयास गरिरहन्छन् । यदि त्यसमा सफल भए भने आन्दोलन दबाउनमा उनीहरूले कामयाबी हासिल गर्छन् । हिंसात्मक बनेसँगै आन्दोलन दबाउन शासकले वैधता प्राप्त गर्छन् । त्यसैले तानासाहीका क्रूरतम शासनविरुद्ध होस् या साम्राज्यवादीका उपनिवेशबाट स्वतन्त्रतका लागि, शान्तिपूर्ण आन्दोलनका नेतृत्वकर्ता आन्दोलनमा घुसपैठ र हिंसा मिसिन नदिन सधैँ चनाखो भएको पाइन्छ ।

आफूले २८ वर्षसम्म जेलमा बरबर प्रताडना खपेर पनि नेल्सन मण्डेलाले गोराविरुद्धको आन्दोलनलाई हिंसात्मक बन्न दिएनन्, फलस्वरूप पशुवत् व्यवहार गरिएका काला जातिको मुक्तिदाता बन्दै सफलतम राजनेताका रूपमा विश्वमाझ स्थापित भए । हाम्रै छिमेकमा महात्मा गान्धीले शान्तिपूर्ण आन्दोलनमा हिँसा मिसिन दिएनन्, फलस्वरूप कहिल्यै सूर्यास्त नहुने ब्रिटिस साम्राज्यको उपनिवेशबाट देशलाई स्वतन्त्रता दिलाए । त्यसविपरीत विश्वका विभिन्न क्षेत्रमा चलिरहेका दशकौँदेखिका सशस्त्र विद्रोहहरू दिनप्रतिदिन नास्ने र नासिनेबाहेक कत्ति पनि सफलताउन्मुख छैनन् । दशकौँको संघर्षमा हजारौँको ज्यान र खर्बौंको स्रोत–साधन स्वाहा बनाएर कैयौँ सशस्त्र विद्रोह मेटिएका छन् भने चलिरहेकाको पनि ढिलोचाँडो गन्तव्य स्पष्ट छ ।

नेपालमा पनि जे–जति ठूला परिवर्तन भएका छन्, सबै नै शान्तिपूर्ण आन्दोलनबाटै सम्भव भएका छन् । १२ वर्षको सशस्त्र विद्रोहबाट दशौँ हजारले ज्यान गुमाउँदा सफलता हासिल हुने कत्ति पनि सम्भावना नदेखेपछि शान्तिपूर्ण आन्दोलनमा बल पुर्याउन आएका शक्तिले केही दिनको निःशस्त्र संघर्षबाटै सफलता हासिल गरेको उदाहरण नेपालीमाझ ताजै छ । न राणविरोधी आन्दोलनमा जनमुक्ति सेनाले सफलता हात पार्यो, न राजाविरोधी आन्दोलनमा माओवादी लडाकाले नै । दुवैलाई परास्त गर्न अन्ततः निःशस्त्र जनताको शान्तिपूर्ण आन्दोलन नै निर्णायक बने । व्यवस्था परिवर्तनका आन्दोलनमा मात्र होइन, कुनै एक व्यक्ति वा केही व्यक्तिको समूहले चलाएको शान्तिपूर्ण संघर्षले कुनै क्षेत्रविशेषमा आमूल परिवर्तन ल्याएका उदाहरण पनि प्रशस्त छन् ।

नेपालमा चिकित्साशिक्षामा व्याप्त विकृति–विसंगति र नेपाली जनताको स्वास्थ्य र शिक्षामा रहेको अत्यन्त कमजोर तथा असमान पहुँचमा आमूल सुधार ल्याउन प्रा.डा. गोविन्द केसीले अभूतपूर्व रूपमा सत्याग्रहको नेतृत्व गरे, जुन अभियान आज पनि चलि नै रहेको छ । डा. केसीको झन्डै डेढ दर्जन सत्याग्रहले चिकित्साशिक्षा र स्वास्थ्यक्षेत्रमा अभूतपूर्व परिवर्तन पनि ल्याए । राष्ट्रिय चिकित्साशिक्षा ऐनदेखि देशभरका मेडिकल कलेजमा मेडिकल माफियाविरुद्ध चलिरहेको विद्यार्थी आन्दोलन र विद्यार्थीबाट अर्बौं ठगी गर्ने मेडिकल कलेज सञ्चालकविरुद्ध सरकारको निगरानी, सबै डा. केसीको पूर्णतः शान्तिपूर्ण सत्याग्रहका उपज हुन् । एक निष्ठावान् व्यक्तिले सही उद्देश्य, दृढ संकल्प र मजबुत इरादाका साथ शान्तिपूर्ण रूपमा चलाउने सत्याग्रहले राज्यसत्ता र त्यसको संरक्षणमा मजबुत जरा गाडेका माफियालाई समेत एक दिन निरीह बनाउने तागत राख्ने कुरा डा. केसीले प्रमाणित गरिसकेका छन् । यद्यपि, सत्याग्रहको औचित्य आवश्यकता अझै बाँकी छ ।

डा. केसीकै निरन्तरको संघर्षबाट कलेज सञ्चालकका ठगीविरुद्ध जागृत विद्यार्थी यतिवेला मेडिकल माफियाविरुद्ध संघर्षरत छन् । देशव्यापी फैलिएको मेडिकल विद्यार्थीको शान्तिपूर्ण आन्दोलनलाई दबाउन कलेज सञ्चालकले यथाशक्ति सबैखाले हत्कण्डा अपनाइसकेका छन् । कहिले भाडाका मानिस परिचालन गरेर धर्ना बसेका विद्यार्थीमाथि आक्रमण गराएका छन् त कहिले ज्यानै मार्नेसम्मको धम्की दिएका छन् । प्रयोगात्मक परीक्षामा फेल गराइदिनेजस्ता धम्की त सामान्य भए । रातको समयमा कलेज र होस्टलमा पस्न नदिने, महिला विद्यार्थीमाथि आक्रमण गराउनेलगायतका घटना सञ्चालकले गराउँदै आएको तस्बिर हामीसामु छ । तर, वर्षौंदेखि मेडिकल कलेजको निरपेक्ष शोषण खेप्दै आएका विद्यार्थी तथा तिनका अभिभावक यसपटक भने कत्ति पनि विचलित नभई ठगीकर्तालाई सबक सिकाएरै छाड्ने अभियानमा डटेका छन् ।

विद्यार्थीले सञ्चालकका ज्यादतीका बाबजुद पनि कत्ति पनि विचलित नभई आन्दोलनलाई शान्तिपूर्ण रूपमा निरन्तरता दिइरहँदा सरकारको समेत ध्यानाकर्षण भएपछि कलेज सञ्चालकमा छटपटी देखिनु स्वाभाविक हो । यसपटक कलेजको चाबी बुझाउने घुर्की पनि निष्प्रभावी बनेपछि ओइलाएका सञ्चालक अब विद्यार्थीको आन्दोलन दबाउन अन्तिम हत्कण्डा अपनाउनमा सक्रिय देखिएका छन् । यसका लागि जतिसुकै तल्लोस्तरमा गिर्नुपरे पनि उनीहरू तयार देखिन्छन् । साँझका वेला महिला विद्यार्थीमाथि भौतिक आक्रमण गराएको घटना होस् वा ज्यानमार्ने धम्की, सञ्चालकको छटपटीका उदाहरण हुन् । यस्ता गतिविधिबाट पनि आन्दोलन कत्ति पनि नसुस्ताउने देखेपछि सञ्चालकले अब तल्लोस्तरको दाउ खेल्न थालेको विश्लेषण गरिन थालेको छ । शुल्क फिर्ताको विषय सामान्य छैन, ३ अर्बभन्दा बढी ठगी रकम फिर्ता गर्ने र भविष्यमा ठगी गर्न नपाउने कुरा छ । यसका लागि ठगीकर्ताहरु जुन हदसम्म पनि ओर्लिन सक्छन् ।

शासक वा दाता पक्षलाई आफूविरुद्ध उर्लिएको त्यस्तो आन्दोलन घामट बन्छ, जुन पूर्णतः शान्तिपूर्ण हुन्छ । त्यसैले उनीहरू विरोधीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गराएर हिंसात्मक बनाउन यथासम्भव प्रयास गरिरहन्छन् । यदि त्यसमा सफल भए भने आन्दोलन दबाउनमा उनीहरूले कामयाबी हासिल गर्छन् । हिंसात्मक बनेसँगै आन्दोलन दबाउन शासकले वैधता प्राप्त गर्छन् । त्यसैले तानासाहीका क्रूरतम शासनविरुद्ध होस् या साम्राज्यवादीका उपनिवेशबाट स्वतन्त्रतका लागि, शान्तिपूर्ण आन्दोलनका नेतृत्वकर्ता आन्दोलनमा घुसपैठ र हिंसा मिसिन नदिन सधैँ चनाखो भएको पाइन्छ ।

शनिबार चितवन मेडिकल कलेजमा पेस्तोल भेटिएको घटनाले निकै चर्चा पायो । अवैध शुल्क फिर्ताका लागि मेडिकल विद्यार्थीले देशव्यापी रूपमा चलाइरहेको आन्दोलन निकै असरदार बनिरहँदा अकस्मात् सिएमसीको होस्टेलमा भेटिएको हतियारले मुलुभरका चिकित्साशिक्षा सुधारका अभियन्ताहरूलाई स्तब्ध तुल्यायो । घटनाको अनेक दृष्टिकोणबाट विश्लेषण गरियो र गरिँदै छ ।

कलेज प्रशासनले होस्टेलमा पेस्तोल भेटिएको घटनालाई विद्यार्थीको आन्दोलनलाई निस्तेज पार्ने मौकाका रूपमा उपयोग गर्ने कोसिस गरिरहेकै छ । विद्यार्थी भने आफ्नो शान्तिपूर्ण आन्दोलनलाई दबाउने षड्यन्त्रस्वरूप कलेज प्रशासनले प्रहरीको समेत मिलेमतोमा स्वयले हतियार राख्न लगाएर विद्यार्थीको बदनाम गर्ने प्रयास गरेको बताइरहेका छन् । यद्यपि, विद्याको मन्दिरमा न्यायका लागि लडिरहेका विद्यार्थीको शान्तिपूर्ण आन्दोलनका बीच अकस्मात् सार्वजनिक भएको यो घटनाले समग्र चिकित्साशिक्षा सुधारको अभियानमै एउटा कालो धब्बा दिएको छ ।

घटनालाई विश्लेषण गर्दा तीन थान गोलीसहित मेड इन युएसए लेखिएको १११७ पेस्तोल चितवन मेडिकल कलेजको होस्टेलको कोठाभित्र नभई प्लेइङ ग्राउन्डको वालनजिक रहेको टेबल–टेनिस बोर्डछेउ खुला आकाशमुनि भेटिएको हो । गार्डले हतियार देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरीले घेरा हालेर केही मिटर तारसहित एक थान पेस्तोल र तीन राउन्ड गोली बरामत गरेको बताइएको छ । यदि पेस्तोल विद्यार्थीबाट होस्टेलमा भित्रिएको थियो भने खुला चौरमा नभएर होस्टेलको कोठामा लुकाइएको अवस्थामा हुनुपर्ने आमबुझाइ छ । प्रहरीले पनि घटनाको दुई दिनसम्म कुनै पनि विद्यार्थीलाई पक्राउ नगर्नुले घटनामा विद्यार्थीको संलग्नताको छनक कत्ति पनि नभेटिएको अनुमान लगाउन सकिन्छ । यद्यपि, पक्राउ गरिएका गार्डहरूसितको छानबिनपछि प्रहरी अनुसन्धानले घटनाबारे दिने निचोड भने हेर्न बाँकी नै छ ।

तीन महिनादेखि शान्तिपूर्ण संघर्ष गर्दै कलेज प्रशासनलाई अवैध शुल्क फिर्ता गर्ने सहमति गर्न बाध्य बनाएका विद्यार्थी सहमतिअनुसार तोकिएको समयावधिभित्र शुल्क फिर्ता नगरिएपछि पछिल्लोपटक दुई सातादेखि आन्दोलित छन् । यसैक्रममा विद्यार्थीले नागरिक समाज, अभिभावक तथा आम नागरिकको समेत सहभागितामा आइतबारका लागि बृहत् सडक प्रदर्शनी गर्ने घोषणा गरेसँगै प्रदर्शनको अघिल्लो दिन होस्टेलमा पेस्तोल भेटिनुलाई शंकाको घेरामा राखेर हेरिएको छ । त्यति मात्र नभएर सरकारले अन्तिमपटकका लागि भनेर अतिरिक्त शुल्क फिर्ताका लागि दिएको १५ दिनको समयसीमा सोमबार सकिँदै छ । यसअवधिमा पनि अवैध शुल्क फिर्ता नगरे सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने सरकारले बताइसकेको छ । सरकारले अल्टिमेटम सकिनै लाग्दा विद्यार्थी आन्दोलनका बीच आएको पेस्तोलको प्रसंगले घटनालाई थप शंकास्पद बनाएको छ ।

सबैभन्दा ठूलो शंका त त्यतिवेला उत्पन्न हुन्छ, जतिवेला कलेजका हरेक कुनाको निगरानी गर्न तैनाथ सिसीटिभीमा हतियार राखिएको घटना कैद हुँदैन । ठिक पेस्तोल राख्नेवेलामै मात्र सिसीटिभी कसरी निष्प्रभावी भयो ? आफैँ बिग्रियो या कसैले बिगार्यो ? के विद्यार्थीले सिसीटिभीलाई समेत नियन्त्रणमा लिए वा कलेज प्रशासनको योजनाअनुरुप बिगारियो ? जुनसुकै अवस्थामा पनि घटना नियोजित भएको पुष्टि गर्न यो तथ्य काफी छ ।

आफ्नो बृहत् प्रदर्शनीलाई बिथोल्न तथा अवैध शुल्क फिर्ताको शान्तिपूर्ण आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्रस्वरूप नियोजित रूपमा कलेज प्रशासनले पेस्तोल राख्न लागाएको आन्दोलनरत विद्यार्थीको ठहर छ । उनीहरूले कलेज सञ्चालक तथा प्रशासकहरूविरुद्ध घटनाबारे जाहेरीसमेत दिइसकेका छन् । यसबीचमा कुनै विद्यार्थीविशेषलाई पूर्वाग्रही ढंगले फसाउने कुटील चालस्वरूप हतियारको खेल खेलिएको समेत बताइँदै छ, जुन दुर्भाग्यपूर्ण छ ।

मेडिकल विद्यार्थीको आन्दोलन कुनै कलेज सञ्चालकविरुद्ध केही विद्यार्थीले बढी तिराइएको शुल्क फिर्ता पाउनका लागि गरेको विरोधमा मात्र सीमित छैन । यो त मजबुत जरा गाडेका मेडिकल माफियाविरुद्धको लडाइँ हो, भावी पुस्ताले शिक्षा लिँदै गर्दा ठगिनुनपरोस् र पढाइ छोडेर आन्दोलन गर्नुनपरोस् भन्नका लागि छेडिएको अन्दोलन हो, चिकित्साशिक्षा र समग्र स्वास्थ्य क्षेत्रको आमूल सुधारको महाअभियानको महत्त्वपूर्ण हिस्सा हो । तसर्थ, यसलाई तुहाउन यदि कसैले नियोजित रूपमा शिक्षाको मन्दिरमा हतियार भित्र्याएर विद्यार्थीको शान्तिपूर्ण आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र गरेको हो भने उसलाई उचित छानबिनसहित कठघरामा उभ्याइनुपर्छ । यदि कुनै विद्यार्थीविशेषबाटै यसकिसिमको कर्तुत भएको हो वा प्रमाणित हुन्छ भने पनि यसलाई समग्र आन्दोलनसित जोडेर सामान्यीकरण गर्नुहुँदैन, जो दोषी हो उसैले सजायँ पाउनुपर्छ । तर, वर्षौंको सत्याग्रह र हजारौँ विद्यार्थी तथा अभिभावकको अथक संघर्षबाट उठेर निष्कर्षको सँघारमा पुगेको चिकित्साशिक्षा सुधारको महाअभियानले भने सफलता पाउनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय