सिएमसीविरुद्ध चितवनमा बृहत् प्रदर्शन, प्रकाश चन्दलाई तारो बनाउँदै प्रशासन, सभामा भएनन् उपस्थित

अवैध असुलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै दुई सातादेखि आन्दोलनरत चितवन मेडिकल कलेजका विद्यार्थीले चितवनमा बृहत् प्रदर्शन गरेका छन् । चिकित्साशिक्षा संघर्ष समितिको आह्वानमा आइतबार चितवन मेडिकल कलेज (सिएमसी) का विद्यार्थी, अभिभावक, नागरिकसमाजका अगुवा तथा विभिन्न संघ–संस्थामा आबद्ध व्यक्तिहरू सडकमा उत्रिएका हुन् । सरकारले अवैध शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई अन्तिमपटक दिएको १५ दिने समयसीमा सकिने अघिल्लो दिन आयोजित र्यालीमा करिब २ हजारको सहभागिता रहेको आन्दोलनरत विद्यार्थीले जानकारी दिएका छन् ।

वीरेन्द्र बहुमुखी क्याम्पसबाट सुरु भएको र्याली सहिदचोक हुँदै चौबिसकोटमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीले मेडिकल कलेजको ठगीविरुद्ध चर्को नाराबाजी गरेका छन् । मेडिकल माफियाविरुद्ध प्लेकार्ड र ब्यानसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले कलेज प्रशासनले विगतमा गरेको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयनमा जोड दिएका छन् ।

‘हाम्रो आजको प्रदर्शन अभूतपूर्व रूपमा सफल भएको छ,’ चिकित्साशिक्षा संघर्ष समितिका सदस्य एवम् आन्दोलनरत विद्यार्थी नसिम अख्तरले भने, ‘प्रदर्शनमा कलेजका सम्पूर्ण विद्यार्थी, अभिभाव र ठूलो संख्यामा स्थानीयको सहभागिता रह्यो ।’ शनिबार निम्त्याइएको पेस्तोल काण्डपछि स्थानीयमा विद्यार्थीले न्यायका लागि गरेको आन्दोलनप्रति आममानिसको धारणा थप सकारात्मक भएको उनले दाबी गरे ।

गत भदौमा विद्यार्थीले अवैध शुल्क फिर्ताको माग गर्दै महिनादिनसम्म कलेज ठप्प पारेर आन्दोलन गरेपछि ४ असोजमा चितवनका प्रमुख जिल्ला अधिकारीको रोहबरमा कलेज प्रशासन र विद्यार्थीबीच १८ कात्तिकभित्र अतिरिक्त असुलिएको शुल्क फिर्ता वा समायोजन गर्ने सहमति भएको थियो । कलेजले निर्धारित समयसीमाभित्र सहमतिअनुसार रकम फिर्ता नगरेपछि विद्यार्थी दुई साताअघि कलेजमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका थिए ।

विद्यार्थीको शान्तिपूर्ण आन्दोलन दबाउन कलेज प्रशासनले हरसम्भव हतकण्डा अपनाइरहेको विद्यार्थीको भनाइ छ । सोही हतकण्डाअनुरूप कलेज प्रशासनले प्रहरीसँगको मिलेमतोमा शनिबार होस्टेलमा आफैँले पेस्तोल राख्न लगाएर विद्यार्थीलाई फसाउन खोजेको विद्यार्थीले बताउँदै आएका छन् ।

‘प्रशासनले हाम्रो आन्दोलन दबाउन आफैँले पेस्तोल राखेर चन्दलाई फसाउन हरसम्भव कोसिस गरेको छ, त्यसैले उहाँ आजको सभामा देखिनुभएन’

विद्यर्थीको शान्तिपूर्ण आन्दोलन चलिरहँदा शनिबार अचानक सिएमसीको होस्टेलपरिसरबाट प्रहरीले पेस्तोललगायतका सामान बरामद गर्यो । विद्यार्थीको आजका लागि तय बृहत् प्रदर्शनको अघिल्लो दिन होस्टेलमा पेस्तोल भेटिनुले मेडिकल विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा अनेक किसिमका टीकाटिप्पणी सुरु भएका छन् । कलेज प्रशासनले विद्यार्थीको शान्तिपूर्ण आन्दोलनलाई दबाउन घुसपैठ गरेर पेस्तोल राख्न लगाएको विद्यार्थीको भनाइ छ ।

कैलाशनगरस्थित होस्टेलको खेल्ने चौरको वालनजिक रहेको टेबल–टेनिस बोर्डछेउ शंकास्पद वस्तु देखिएपछि गार्डले प्रहरीलाई खबर गरेको बताइएको छ । प्रहरीले कलेजलाई घेरा हाली सर्च गर्दा ‘मेड इन युएसए’ लेखिएको पेस्तोल एक थान, वाइको म्यागजिन एक थान, वाइको गोली २ थान, थ्री नट थ्री राइफलमा लाग्ने गोली एक थान र सोको फायर भएको खोका एक थान र एसआरआर राइफलमा लाग्ने फायर खोका ६ थानसहित विद्युतीय तारसमेत बरामद गरेको चितवन प्रहरीले जनाएको छ ।

‘हामी आइतबारको र्यालीका लागि होस्टेलभित्र प्लेकार्डहरू तयार गर्दै थियौँ, कलेज प्रशासनले बाहिर चौरमा आफैँ पेस्तोल राख्न लगाएर आफैँ पुलिस बोलाएर बरामद गरायो,’ आन्दोलनरत विद्यार्थी अख्तरले भने, ‘हाम्रो प्रदर्शनलाई विथोल्न चालिएको नियोजित षड्यन्त्र हो ।’

चिकित्साशिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दलाई तारो बनाइँदै
संघर्ष समितिका संयोजक एवम् सिएमसीका विद्यार्थी प्रकाश चन्द कलेज प्रशासन र प्रहरी प्रशासनको समेत तारो बनेका छन् । उनी प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका प्रमुख नेत्रविक्रम चन्द विप्लवका छोररा हुन् । चन्दलाई फसाएर विद्यार्थी आन्दोलनलाई दबाउन खोजेको आरोप विद्यार्थीले लगाएका छन् । शनिबारको पेस्तोल काण्ड उनै चन्दलाई फसाउन रचिएको बुझाइ विद्यार्थीको छ ।
प्रशासनले चन्दमाथि अनावश्यक निगरानी बढाएकै कारण उनी आइतबारको सभामा समेत उपस्थित भएनन् । ‘प्रशासनले नियोजित रूपमा प्रकाश चन्दलाई फसाउने नीति लिएका कारण आज उहाँ सभामा उपस्थित हुन भएन,’ अख्तरले भने, ‘यद्यपि, उहाँकै परिचालनमा आन्दोलन अघि बढिरहेको छ र उहाँ हामीमाझ आन्दोलनमै हुनुहुन्छ ।’

विद्यार्थीले अवैध असुलिएको शुल्क फिर्ता नपाएसम्म परीक्षासमेत बहिष्कार गरी आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने विद्यार्थीको भनाइ छ । कलेजले ५२ करोडभन्दा बढी विद्यार्थीलाई फिर्ता गर्नुपर्ने विद्यार्थीको भनाइ छ । कलेजले विद्यार्थीबाट करोडौँ ठगी गरेको सरकारी अनुसन्धानले समेत देखाएको छ ।

नेसनलका सञ्चालक बसरुद्दिन अन्सारीको पक्राउ माग गर्दै अनेरास्ववियूको प्रदर्शन
यसैबीच वीरगन्जस्थित नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीलाई पक्राउ गरी काबाही प्रक्रिया अघि बढाउन सत्तारू नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूले माग गरेको छ । अनेरास्ववियूले आइतबार वीरगन्जमा प्रदर्शन गर्दै अन्सारीलाई पक्राउ गर्न दबाब दिएको हो ।

अनेरास्ववियूका केन्द्रीय सचिव दुदेश पराजुलीको नेतृत्वमा प्रदर्शनमा उत्रिएका विद्यार्थीले आफ्नो पहिलो माग नै अन्सारीको पक्राउ भएको बताएका छन् । सरकारले अवैध असुलिएको शुल्क फिर्ता गर्न दिएको अन्तिमपटकको समयसीमासमेत सकिनै लाग्दा शुल्कफिर्ताको माग राखेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीमाथि भौतिक आक्रमण गर्ने तथा ज्यानमार्नेसमेतको धम्की दिने कलेज सञ्चालक अन्सारीलाई अविलम्ब पक्राउ गर्नुपर्ने अनेरास्ववियूले जनाएको छ । कलेजको ठगीविरुद्ध जायज माग लिएर शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीलाई बन्धक बनाएर कलेजले यातना दिएको अनेरास्ववियूको भनाइ छ ।

गत शुक्रबार साँझ शान्तिपूर्ण प्रदर्शनका क्रममा कलेज सञ्चालकबाट परिचालित केही प्रशासननिकट विद्यार्थीले महिला विद्यार्थीमाथि भौतिक आक्रमण गरेका थिए । कलेजले विद्यार्थीलाई रातको समयमा होस्टेल प्रवेशमा रोक लगाउने, आन्दोलनमा घुसपैठ गराई विद्यार्थीबीच भिडन्तको अवस्था सिर्जना गराउने तथा विभिन्न किसिमका धम्की दिएर आन्दोलनलाई निस्तेज पार्ने असफल प्रयार गर्दै आएको छ ।

सरकारको निर्देशनबमोजिम अवैध असुलिएको शुल्क फिर्ता गर्नुपर्ने प्रमुख मागसहित नेसनलका विद्यार्थी एक महिनादेखि आन्दोलनरत छन् । नेसनलले ३ वर्षको बीचमा विद्यार्थीबाट ३२ करोडभन्दा बढी ठगी गरेको सरकारी अनुसन्धानका क्रममा खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय