विकल्प बाँकी रहँदासम्म जोर्नी प्रत्यारोपण गर्नुहुँदैन

आफूले प्राकृतिक रूपमा लिएर आएको जोर्नी नक्कली जोर्नीभन्दा जहिले पनि राम्रो हुन्छ । मानिसले भगवान्ले बनाएजस्तो जोर्नी बनाउन सक्दैन । तसर्थ, अनिवार्य अवस्था आइनपरेसम्म हाम्रो शरीरमा जोर्नी परिवर्तन गर्नुहुँदैन । जसरी कालो कपाल बिस्तारै सेतो हुँदै जान्छ, त्यसैगरी नै जोर्नी पनि उमेरक्रमसँगै बिस्तारै खिइएर जान्छ ।

जोर्नीको कुरा गर्दा सामान्यतया घुँडा र हिपको नै बढी कुरा गरिन्छ, किनभने यिनै दुई भागले हाम्रो शरीरलाई थाम्ने काम गर्छन् । शरीरका विभिन्न अंगको प्रत्यारोपण गर्न सकिने भए पनि बढी लोड पर्ने भाग घुँडा र हिपको प्रत्यारोपण बढी हुने गर्छ । यी भागमा अप्रेसन गर्दा अन्य जोर्नीमा भन्दा धेरै सफलता पनि पाउन सकिन्छ ।

प्रत्यारोपणको प्रविधि आउनुअघि सामस्या भएको जोर्नी नै काटेर फालिदिने गरिन्थ्यो । तर, अहिले जोर्नीलाई बचाउने कोसिस गरिन्छ । सबैभन्दा पहिले हिप प्रत्यारोपण बेलायतका सर डा. जोन चार्नले गरेका थिए ।
हाम्रो जस्तो देशमा जोर्नीको प्रत्यारोपण बाध्यता नभएसम्म नगर्दा राम्रो हुन्छ । त्यसैले, एक्स–रेमा खराबी देखियो भन्दैमा अप्रेसन गरिहाल्नुहुँदैन । जोर्नी खिएको वा बिरामीलाई धेरै नै समस्या आइपरेको अवस्थामा मात्र प्रत्यारोपण गर्नुपर्ने हुन्छ । किनभने, प्रत्यारोपण मानिसको क्वालिटी अफ लाइफ (जीवनको गुणस्तर) फर्काउनका लागि गर्ने हो । मानौँ कि, ६० वर्षको मानिसलाई १५ मिनेट पनि हिँड्न गाह्रो छ भने ऊ एउटा कोठाबाट बाहिर निस्कन सक्दैन । त्यस्तो मानिसले न सुत्न सक्छ, न हिँड्न, दुखाइ सहन नसक्ने अवस्थामा हुन्छ । यस्ताखाले स्थिति आइपरेमा मात्र प्रत्यारोपणको बाटो रोज्नु राम्रो हुन्छ ।

हामीले देशभरमै सर्वसुलभ दरमा हिप र घुँडाको जोर्नी प्रत्यारोपण गर्दै आएका छौँ । घुँडाको जोर्नी प्रत्यारोपण गर्ने इक्विपमेन्ट (इन्पान्ट) रिप्लेसमेन्टको मात्रै १ लाख ५० हजार पर्छ, जुन अमेरिकन कम्पनीले बनाएको हो । भारतले बनाउने गरेको इन्पाल्ट १ लाखमा पनि पाउन सकिन्छ । त्यो इन्पान्ट कति वर्ष टिकाउ हुन्छ, त्यसको तथ्यांक छैन । तर, हामीले प्रयोग गरिरहेको अमेरिकन कम्पनीको इन्प्लान्ट सामान्यतया १०० जनामा प्रत्यारोपण गर्दा ९५ जनामा १० वर्ष, ९० जनामा १५ वर्ष, ७५ देखि ८५ जनामा २० वर्ष टिकाउ हुन्छ । कहिलेकाहीँ ४ वर्षमा पनि पुनः प्रत्यरोपण गर्नुपर्ने हुन सक्छ । भित्र कतै इन्फेक्सन भएको खण्डमा चाँडै नै समस्या देखिन सक्छ ।

जोर्नी प्रत्यारोपण ठूलो अप्रेसन हो । म बिरामीसँग जहिले पनि के भन्छु भने जोर्नी प्रत्यारोपणका जोखिम धेरै छन् । त्यसमा पनि बिरामीमा समस्या धेरै छ भने प्रत्यारोपणको जोखिम कम हुन्छ र समस्या सानो छ भने जोखिम धेरै हुन्छ । त्यसैले समस्या कम छ भने अप्रेसन नगनुहोस्, समस्या ठूलो भएमा अनिवार्य अवस्थामा मात्र प्रत्यारोपण गराउनुहोस् ।

जोर्नी प्रत्यारोपणका नराम्रा पक्ष पनि छन् । जस्तो कि, दुखाइ हुन सक्ने, खुट्टामा रगत जम्न सक्ने, छातीमा रगत जमेका कारण ज्यानै जान सक्ने अवस्था पनि आउन सक्छ । तर, यो अवस्था १० हजार मानिसमा १–२ जनामा मात्र आउन सक्छ । इन्फेक्सन भएको अवस्थामा भित्रका सबै इक्विपमेन्ट झिक्नुपर्ने हुन्छ । खुट्टा नै काट्नुपर्ने अवस्था भने न्यून हुन्छ । यस्ता कुराको पूर्ण जानकारी बिरामीलाई हुनु आवश्यक भएकाले हामी सम्झाउने गर्छौं । यो बिरामीले सोच–विचार गरेर डिसिजन लिनुपर्ने कुरा हो ।

समस्या आम तर उपचारमा पहुँच सीमित
यकिन तथ्यांक नभए पनि नेपालमा जोर्नीको समस्या धेरैमा छ । तर, उपचारमा पहुँच भने न्यून छ । अन्य निजी अस्पतालमा उपचार गराउँदा ५ लाखभन्दा बढी लाग्छ । तर, हामीले २ लाख ९९ हजारमा उपचार गर्दै आएका छौँ । यसमा १ लाख ५० हजारको इन्प्लान्ट, रगत परीक्षण र अप्रेसनका लागि औषधि र ७ दिनको भर्नाशुल्क जोडिएको छ । तर, यसमा कुनै ठूलो समस्या आयो, हाम्रो नियन्त्रणबाहिर गयो भनेचाहिँ यसभित्रबाट उपचार सम्भव हुँदैन, थप शुल्क लाग्ने हुन्छ । उदाहरणका लागि उपचार गर्दागर्दै हृदयाघात भएको खण्डमा यसको उपचारबापत छुट्टै शुल्क लाग्छ । अप्रेसनअघि बिरामी फिट छ कि छैन जाँच गरिन्छ । ६५–७० वर्ष नाघेपछि गरिने अप्रेसनको हकमा केही न केही रिक्स अवश्य हुन्छ । युवाअवस्थाका मानिसको अप्रेसन नगर्दा राम्रो, तर ४५ वर्षकोमा पनि गरेको देखिएको छ ।

निजी अस्पतालका अतिरिक्त जोर्नी प्रत्यारोपण सेवा केही सरकारी अस्पतालमा पनि उपलब्ध छ । सरकारीस्तरमा निजामती अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतले यो सेवा दिँदै आएका छन् ।

कारण अनेक
जोर्नी कमजोर हुुनका धेरै कारण छन् । यसको प्रमुख कारणका रूपमा उमेरलाई लिन सकिन्छ । धेरै मानिसमा जेनेटिक (वंशानुगत) कारणले पनि जोर्नी खिइन्छ । यसमा पनि स्थान र परिवेशअनुसार फरक–फरक समस्या पाइन्छ । एसियन मानिसमा घुँडाको समस्या धेरै छ भने पश्चिमाहरूमा हिप (नितम्ब) मा बढी समस्या छ ।
घुँडाको समस्या प्रमुखतया पुरुषमा भन्दा महिलामा बढी रहेको पाइन्छ । कसैलाई युवाअवस्थामा घुँडामा चोट लागेको छ, कुनै पनि जोर्नीमा चोट लागेको वा भाँच्चिएको छ भने त्यो जोर्नी चाँडै खिइन्छ । त्यसैगरी, इन्फेक्सन भएको छ वा बच्चा जन्मिँदा असामान्य तरिकाले जन्मिएको छ भने जोर्नीमा समस्या निम्तिन सक्छ ।

हामी जति घुँडा खुम्च्याउँछौँ अगाडिको पांग्रामा प्रेसर (दबाब) बढ्दै जान्छ । जोर्नी खिइनुमा कुनै एउटा मात्र कारण नभएर धेरै कारण जोडिएका हुन्छन् । त्यसैले पनि एसियन मानिसमा जोर्नी खिइने समस्या किन बढी देखियो भनेर हालसम्म कसैले पनि कारण पत्ता लगाउन सकेको अवस्था छैन ।

उपचार : जोखिम र सावधानी
कुरकुरे हड्डी गएको खण्डमा प्रत्यारोपणै भने गर्नुपर्दैन । तर, हड्डी पुरै खिइएको अवस्थामा प्रत्यारोपणको विकल्प रहँदैन । यस्तो अवस्थामा अप्रेसनमा धेरै समस्या आउन सक्छन् । यस्ता अप्रेसन गर्दा सरदर १ घण्टा ३० मिनेट समय लाग्ने गरेको छ ।
हड्डी पुरै खिइनुअघि नै बिरामीले सही उपचार पाउन सके निको भएर जान्छ । कोही व्यक्तिलाई अप्रेसन आवश्यक देखिएको छ, तर तत्कालै अप्रेसन गर्ने इच्छा छैन भने वर्षदिनभित्र एकपटक चेकजाँच गराउन अनुरोध गर्छु ।

जोर्नी प्रत्यारोपणका लागि जुन इन्प्लाल्ट बनाएको छ, त्यो ६० वर्षमाथिका बिरामीलाई लक्षित गरेर बनाइएको हो । र, यो प्रत्यारोपण घुँडा तन्दुरुस्त बनाएर फुटबल खेलाउनका लागि होइन, दुखाइ नभईकन हिँड्न र नर्मल कामका लागि हो ।

मैले बिरामीको ६ महिनाअघि गरेको एक्स–रे र ६ महिनापछिको एक्स–रेमा धेरै भिन्नता पाएको छु । जोर्नी दुखेको अवस्थामा प्रारम्भिक उपचारमा पेनकिलरको प्रयोग र फिजियोथेरापी गर्नुपर्छ । जति घुँडा खिइन्छ, त्यति नै थाईको मासु सुक्दै जान्छ । फिजियोथेरापी उपयोगी छ ता कि घुँडालाई सपोर्ट गर्न मासु बलियो रहोस् ।

जोर्नी प्रत्यारोपणका जोखिम पनि उत्तिकै छन् । ८० वर्षमाथिका मानिसको अप्रेसन गर्दा मृत्यु हुने सम्भावना बढी हुन्छ । हिपको अप्रेसन गर्दा नसा तन्किन सक्छन्, जसका कारण पैताला झर्न सक्छ, तर बिस्तारै रिकभर हुँदै जान्छ । घुँडाको अप्रेसन गर्दा अगाडिको भागको छाला लाटो हुन सक्छ, घुँडालाई टेक्न गाह्रो हुन्छ । किनभने, हामी प्रकृतिको विपरीत जाँदै छौँ । छालामुनि रहेका स–साना नसा काटिन सक्छन्, जसका कारण केही समस्या आउन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय