नेसनल मेडिकल कलेजमा विद्यार्थी र कलेज प्रशासनबीच झडप जारी, महिला विद्यार्थीमाथि हातपात

वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा यतिवेला आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच झडप भइरहेको छ । अवैध असुलिएको शुल्क फिर्ता गर्नुपर्ने मागसहित शान्तिपूर्ण धर्नामा बसेका विद्यार्थीमाथि कलेज प्रशासनबाट परिचालित व्यक्तिहरुले आक्रमण गरेपछि स्थिति निकै तनावपूर्ण बनेको छ ।

करिब एक महिनादेखि आन्दोलनमा रहेका विद्यार्थीमाथि शुक्रबार साँझ भौतिक आक्रमण भएको हो । कलेज प्रशासनको कोटाबाट पढेका पुराना विद्यार्थीले आन्दोलनरत प्रथम वर्षका महिला विद्यार्थीमाथि आक्रमण गरेका छन् । कलेज प्रशासनको इसारामा शान्तिपूर्ण प्रदर्शनमा रहेका विद्यार्थीमाथि भौतिक आक्रमण गरिएपछि आन्दोलनरत विद्यार्थी थप आक्रोशित बनेका छन् ।

‘हामी बाहिर शान्तिपूर्ण धर्नामा थियौँ, साँझ पुलिसको प्रोटेक्सनमा गेट नं. २ मा पस्यौँ,’ आन्दोलनरत विद्यार्थी प्रसिसले हेल्थपोस्टसित भने, ‘म्यानेजमेन्टको कोटामा योग्यताक्रममा नपरी भर्ना भएका केही परिचालित विद्यार्थीले हाम्रा माहिला साथीहरुमाथि आक्रमण गरे ।’ आक्रमणपछि दुई पक्षमा दोहोरो भिडन्तको अवस्था सिर्जना भएको उनले बताए ।

महिला विद्यार्थीमाथि समेत भौतिक आक्रमण गरिएपछि दोहोरो भिडन्तको अवस्था सिर्जना भएको छ । यतिवेला (१८ ः ४० बजे) कलेजमा विद्यार्थीले चर्को नाराबाजी गरिरहेका छन् । कलेजको वातावरण निकै तनावपूर्ण छ । विद्यार्थीको नाराबाजीले सञ्चारकर्मीसितको संवाद सुन्न सक्नेसमेत अवस्था छैन ।

सरकारको निर्देशनबमोजिम अवैध असुलिएको शुल्क फिर्ता गर्नुपर्ने प्रमुख मागसहित एक महिनादेखि आन्दोलनरत विद्यार्थी विद्यार्थीलाई कलेज प्रशासनले ज्यान मार्नेसमेतको धम्की दिँदै आएको छ । बिहीबार पनि कलेज प्रशासनले धर्नामा बसेको भन्दै विद्यार्थीलाई राति अबेरसम्म छात्रावास प्रवेशमा रोक लगाएको थियो । कलेज र छात्रावासको गेट बन्द गरी विद्यार्थीलाई बाहिरै अलपत्र पारिएपछि विद्यार्थीले रातको समयमा गेटमै धर्ना दिएका थिए ।
नेसनलले ३ वर्षको बीचमा विद्यार्थीबाट ३२ करोडभन्दा बढी ठगी गरेको सरकारी अनुसन्धानका क्रममा खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय