मोटोपनमा प्रदेश ३ को अवस्था चुनौतीपूर्ण, कुन प्रदेशवासीमा कति मोटोपन ?

आधुनिक जीवनशैलीको उपजका रूपमा आम बनिसकेको मोटोपनले अहिले प्रमुख स्वास्थ्यसमस्या बनेर चुनौती दिइरहेको छ । मुख्यतः शारीरिक परिश्रमको कमी, असन्तुलित खानपान, भद्रगोल दैनिकी, व्यायामको कमी, जंकफुडको प्रयोगलगायत अधुनिक जीवनशैलीमा भित्रिएका अस्वस्थकर अभ्यासले मोटोपन निम्त्याइरहेका छन् । मोटोपनमा शरीर मात्र नभएर त्यसभित्रका अंगहरू पनि मोटो हुन्छन् । पछिल्लो समय नेपालमा मात्र नभएर विश्वभर नै मोटोपनका रोगी दिनप्रतिदिन बढ्दै गएका छन् । नेपाल अनुसन्धान परिषद्ले अधिक वजन र मोटोपनबारे गरेको एक सर्वेक्षणले नेपालीमा मोटोपनको समस्या बढ्दै गएको देखाएको छ ।

प्रदेश ३ को अवस्था चुनौतीपूर्ण, कुन प्रदेशमा कतिमा मोटोपन ?
प्रदेशगत रूपमा हेर्दा अधिक वजन र मोटोपनको समस्या हुनेमा प्रदेश ३ पहिलो स्थानमा छ । यहाँका ४२ दशमलव ६ प्रतिशत जनतामा अधिक वजन तथा मोटोपन रहेको परिषद्को अध्ययनले देखाएको छ । मोटोपनको समस्या हुनेमा दोस्रो स्थानमा गण्डकी प्रदेश छ, जहाँ ३४ दशमलव ६ प्रतिशत मानिसमा मोटोपन तथा अधिक वजन रहेको छ । त्यसैगरी, प्रदेश १ का २२ दशमलव ३ प्रतिशत, प्रदेश २ का १९ दशमलव ९ प्रतिशत, प्रदेश ५ का १९ दशमलव ५ प्रतिशत जनताले मोटोपन तथा अधिक वजनको समस्या पालिरहेका छन् ।

स्वास्थ्यका प्रायः सबै सूचकमा निकै पछाडि रहेको कर्णाली प्रदेशको अवस्था मोटोपनको समस्यामा भने केही छैटौँ नम्बरमा छ । कर्णालीका १२ दशमलव ३ प्रतिशत जनतामा मात्र मोटोपन तथा अधिक वजन पाइएको छ । विकासका दृष्टिले निकै पिछडिएको यो प्रदेशका जनता तुलनात्मक रूपमा बढी शारीरिक क्रियाकलापमा संलग्न हुने तथा खानपानमा समेत प्राकृतिक वस्तुमाथिको निर्भरता बढी भएका कारण मोटोपनले गाँज्न नपाएको हो ।

मोटोपनको समस्यामा तुलनात्मक रूपमा सबैभन्दा राम्रो अवस्था सुदूरपश्चिम प्रदेशको छ, जहाँ १२ दशमलव २ प्रतिशत जनतामा मोटोपन तथा अधिक वजन पाइएको छ । मोटो शरीरलाई रोगको घरका रूपमा लिइन्छ । मोटोपन भएका व्यक्तिमा विभिन्न रोगको जोखिम उच्च हुन्छ । मोटोपन भएका धेरैजसो मानिसमा उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घकालीन स्वास्थ्यसमस्या उत्पन्न हुन्छन् । मोटोपन भएका मानिसमा मुटुरोगको जोखिम उच्च हुन्छ ।

विश्वमा मृत्युको पहिलो कारण चुरोट सेवन रहेको छ भने दोस्रोमा मोटोपनलाई मानिँदै आएको छ । यसको न्यूनीकरणका लागि व्यक्तिले स्वयम् नै जीवनशैलीमा व्यापक परिवर्तन गर्नु र अनुशासित जीवन जिउनु अपरिहार्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय