नेशनल मेडिकल कलेजको अर्को ज्यादती-विद्यार्थीलाई कलेज र होस्टल प्रवेशमै रोक

सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा एकमहिनादेखि संघर्षरत बीरगञ्जस्थित नेशनल मेडिकल कलेजले फेरी विद्यार्थीमाथि ज्यादती गरेको छ । झण्डै एकमहिनादेखि शान्तिपूर्ण धर्ना गर्दै आएका विद्यार्थीहरु धर्ना सकेर कलेज, छात्रवास प्रवेश गर्न लाग्दा कलेज प्रशासनले मुल गेटमै ताला लगाएर विद्यार्थीहरुलाई प्रवेशमा रोक लगाएको छ ।

यो समाचार तयार पर्दा (राति ८ः३०बजे)सम्म एमबिबिएस प्रथम वर्ष १८औँ ब्याजका झण्डै १०० विद्यार्थीलाई कलेज प्रशासनले कलेज प्रवेशमा रोक लगाएको छ । विद्यार्थीमाथि अवरोध एवं आक्रमणका लागि कलेज प्रशासनले सिनियार ब्याजकै विद्यार्थी प्रयोग गर्दै आएको छ । अहिले पनि बाहिर अलपत्र परेको आन्दोलनरत विद्यार्थी भित्र प्रवेश गरेमा ‘मारेर गाड्ने’ चेतावनी प्रशासन र प्रशासनले प्रयोग गरेका सिनियार विद्यार्थीले दिएका छन् ।

विद्यार्थीहरु सरकारले तोकेभन्दा बढी शुल्क समायोजन अर्थात् फिर्ता गर्नुपर्ने, कलेजमा अध्ययनरत विद्यार्थी भौतिक तथा प्राज्ञिक सुरक्षा हुनुपर्ने, विद्यार्थीमाथि कुटपिटमा संलग्नलाई कारवाही हुनुपर्ने माग अगाडि सारेका छन् । पछिल्लोपटक सरकारी १५ दिनभित्र शुल्क फिर्ता गर्न अल्टिमेटम दिएको अवस्थामा अल्टिमेटम अवधि सकिनै लाग्दा कलेज प्रशासन विद्यार्थीमाथि फेरी ज्यादतीमा उत्रिएको छ ।
निजी मेडिकल कलेजहरुको संस्थाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली निकट व्यावसायी बसुरुद्दिन अन्सारी नै विद्यार्थीमाथि आक्रमण र धम्कीमा उत्रिने गरेका छन् ।

आन्दोलन सुरु गरेको केही दिनमै बाहिरबाट गुण्डा लगेर छात्रवासमा बसेका विद्यार्थीमाथि कुटपिट नै भएको थियो । कलेज प्रशासनले साँझ ५ बजे नै गेट बन्द गरेर भित्र छिर्न नदिएपछि आफूहरु अस्पताल क्षेत्रमा जम्मा भएर बसिरहेको प्रथम वर्षमा अध्ययनरत विद्यार्थी धनबहादुर तामाङले बताए ।
तामाङले सरकार र प्रशासनले सुरक्षा नदिएमा आफूहरु होस्टल छिर्न नसक्ने अवस्था आएको गुनासो गरे । ‘बाहिर र भित्रका मान्छेहरु नै हामीलाई भित्र पस्न रोकेर भित्र जम्मा भएर बसेका छन्’ उनले भने, ‘भित्र पसे ज्यान मार्ने धम्की आइरहेको छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय