नर्सिङ संघको निर्वाचन ९ पुसमा, छाता संगठनमा १२% नर्सको मात्र आबद्धता किन ?

नर्सहरूको छाता संगठन नेपाल नर्सिङ संघ (नान) को १९औँ कार्यसमितिका लागि ९ पुसमा निर्वाचन हुने भएको छ । हरेक ३ वर्षमा हुनुपर्ने संघको निर्वाचन २ वर्ष ढिलो गरी ५ वर्षपछि हुन लागको हो ।

१५ मंसिरमा उम्मेदवारी दर्ता, ९ पुसमा मतदान
संघले बिहीबार निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार ८ मंसिरमा मतदाताको नामावली प्रकाशन हुनेछ भने त्यसमाथि दाबीविरोधका लागि १२ मंसिरसम्मको समय तोकिएको छ । १३ मंसिरमा मतदाता नामावलीमाथि परेको दाबीविरोधको छानबिन गर्ने र १४ मंसिरमा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

संघले उम्मेदवारी दर्ताको मिति १५ मंसिरका लागि तोकेको छ । मनोनयन गर्ने उम्मेदवारमाथि दाबीविरोधका लागि १६ मंंसिरको मिति तोकिएको छ । १८ मंसिरसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने १९ मंसिरमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यकालिका छ । मतदान भने ९ पुसका लागि तय गरिएको छ ।

९० हजार नर्स काउन्सिलमा दर्ता हुँदा जम्मा ११ हजार मात्र संघमा आबद्ध
नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ८९ हजार ७ सय ८७ नर्स दर्ता भइसकेका छन् । नर्सिङ अभ्यासका लागि अनुमति पाउनेको संख्या यति ठूलो भए पनि पेसागत संगठन संघमा आबद्ध हुने नर्स भने करिब १२ प्रतिशत मात्र छन् । हालसम्म जम्मा ११ हजार ४१ नर्सले मात्र संघको सदस्यता लिएका छन् । ९ मंसिरसम्म संघमा आबद्ध हुने सदस्यले मात्र आगामी निर्वाचनमा मतदान गर्न पाउने संघले जनाएको छ ।

सम्पूर्ण नर्सको छाता संगठनका रूपमा रहेको संघले नर्सका समस्या, पेसागत अप्ठ्याराहरूलाई उठाउन नसकेको र राजनीतिक दबाबमा पर्ने गरेको आरोप लाग्दै आएको छ । आफ्नो पेसागत हकहितका लागि गठित संघमा नर्सको न्यून आबद्धताले पनि ती आरोपलाई पुष्टि गर्छन् । संघले आफ्ना सदस्यलाई आवश्यक पर्दा संरक्षण दिन नसक्नु तथा संगठनलाई पेसागत विषयमामा भन्दा राजनीतिक स्वार्थमा केन्द्रित गर्नुले नर्समा संघप्रति आकर्षण नभएको विश्लेषण गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय