पूर्वखोलामा सुत्केरीको घरमै पुग्छन् स्वास्थ्यकर्मी

पाल्पाको पूर्वखोला गाउँपालिकाले सुत्केरी महिलाको घर–घरमा स्वास्थ्यकर्मी खटाएको छ । गाउँ सरकारले केही समयअघि शून्य होम डेलिभरी गाउँपालिका घोषणा गरेको थियो । घोषणाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारले गाउँपालिका क्षेत्रका सुत्केरीको घर–घरमा नर्स र अनमी खटाएको हो ।

सुत्केरी र बच्चाको अवस्थाज्ञान, हेरचाह र सल्लाह–सुझाबका लागि घर–घरमै स्वास्थ्यकर्मी खटाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाअन्तर्गतका ६ वटै स्वास्थ्यसंस्थाका कर्मचारीलाई अभिमुखीकरण दिई सुत्केरीका घरमा पठाउन सुरु गरिएको हो ।

डेलिभरीका क्रममा स्वास्थ्यसंस्थामा सुत्केरी २४ घण्टै बर्थिङ सेन्टरको हेरचाहमा रहनेछन् । त्यसपछि सुत्केरी भएको तीन दिन र सात दिनमा सुत्केरीको घरमै स्वास्थ्यकर्मी पुगेर सेवा दिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए ।

स्वास्थ्यकर्मीलाई सुत्केरीको घरमै खटाउन भन्दै गाउँपालिकाले तालिम, परामर्श र भत्ताको समेत व्यवस्था गरेको छ । गाउँपालिकाले कार्यक्रमलाई व्यवस्थित गर्न २ लाख रूपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।

मातृ तथा शिशुमृत्युदर र घरमा सुत्केरी हुने संख्या शून्यमा झार्ने लक्ष्यका साथ गाउँपालिकाले विशेष अभियान चलाएको छ । पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणापछि कार्यान्वयन चरणको कार्यक्रम बनाई अघि बढेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय