कलेजले इन्टर्नसिपको प्रमाणपत्र नदिँदा सिएमसीका विद्यार्थी चिकित्सक लाइसेन्सिङ परीक्षाबाट वञ्चित हुँदै

चितवन मेडिकल कलेजका विद्यार्थी नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्सिङ (चिकित्सक दर्ता प्रमाणपत्र) परीक्षाको फर्म भर्नबाट वञ्चित भएका छन् । कलेजले पढाइ पूरा भएपछि विद्यार्थीले ६ महिना गर्ने इन्टर्नसिपको प्रमाणपत्र नदिएपछि विद्यार्थी लाइसेन्सिङ परीक्षा फर्म भर्नबाट वञ्चित भएका हुन् । फर्म भर्ने म्याद सकिन केही दिन बाँकी हुँदा पनि एमबिबिएस चौथो (अन्तिम) वर्षको परीक्षा पास गरेर इन्टर्नसिप गरेका करिब ५४ विद्यार्थी फर्म भर्नबाट वञ्चित भएका छन् ।

‘काउन्सिलको वार्षिक तालिकाअनुसार २१ मंसिरमा लाइसेन्सिङ परीक्षा हुँदै छ । त्यसका लागि ७ कात्तिकदेखि फर्म खुलेको थियो । ६ मंसिरसम्म फर्म भर्ने म्याद छ,’ एमबिबिएस सकेर इन्टर्नसिप गरिसकेका सन्तोषबाबु पौडेलले भने, ‘हामीलाई कलेजले इन्टर्नसिप गरेको प्रमाणपत्र नदिँदा फर्म भर्न पाइएको छैन ।’ यस वर्ष चितवन मेडिकल कलेजबाट एमबिबिएस सकेका विद्यार्थीले ८ वैशाखदेखि इन्टर्नसिप गर्न सुरु गरेको पौडेलले बताए । ६ महिना गर्नुपर्ने इन्टर्नसिप ८ महिना भइसक्दा पनि कलेजले प्रमाणपत्र नदिँदा विद्यार्थी लाइसेन्सिङ परीक्षाबाट वञ्चित हुने अवस्था आइपुगेको हो ।

मेडिकल काउन्सिलले ७ र ८ मंसिरमा विलम्ब शुल्क तिरेर पनि फर्म भर्न सकिने उल्लेख गरेको छ । विलम्ब शुल्कको म्याद पनि अब ४–५ दिन मात्र बाँकी छ । तर, कलेजले इन्टर्नसिपको प्रमाणपत्र नदिँदा चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा दिन नपाइने हो कि भन्ने चिन्ता थपिएको पौडेलले बताए ।  ‘लाइसेन्सिङ परीक्षा दिने तयारी गरेको थिएँ । अहिले नै भए कलेजमा पढेका कुरा पनि सम्झन सजिलो हुन्छ, अर्कोपटक तयारी पनि गर्नुपर्ने थिएन,’ उनले भने, ‘हाम्रो इन्टर्नसिपको समय पनि बितिकसेको छ ।’

मेडिकल काउन्सिलले पहिलोपटक दिने चिकित्सक दर्ता प्रमाणपत्रको अवधि एक वर्षका लागि हुन्छ । एक वर्षभित्र लाइसेन्सहोल्डरको काममा कैफियत नदेखिए त्यही प्रमाणपत्रलाई स्थायी मान्यता दिने व्यवस्था छ । तर, कैफियत देखियो भने काउन्सिलले लाइसेन्स खारेज गर्न सक्छ । काउसिल्लले लाइसेन्सिङ परीक्षाको आवेदनबापत ३ हजार ५ सय परीक्षाशुल्क तोकेको छ । तोकिएको समय नाघेर विलम्ब शुल्कमा फर्म भरेमा अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ । समयमा परीक्षा दिन नपाए चार महिनापछि धकेलिने उनले बताए । ‘लाइसेन्स पाएपछि बल्ल काम गर्न योग्य भइन्छ,’ उनले भने, ‘एउटै ब्याचका साथीहरू कतिले लाइसेन्स पाएर काम गर्न थाल्छन्, हामी भने त्यतिकै बस्नुपर्ने हुन्छ ।’ काउन्सिलले देशभरको लाइसेन्सिङ परीक्षा राजधानी काठमाडौंमा लिनेछ ।

परीक्षा उत्तीर्ण नहुनेले कुनै पनि चिकित्सकीय कार्य गर्न पाउँदैनन् । काउन्सिलले वर्षको तीनपटक चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा लिने गरेको छ । प्रत्येक वर्षको साउन, मंसिर र चैत महिनामा काउन्सिलले लाइसेन्सिङ परीक्षा लिने गर्छ ।

मेडिकल कलेजले भने विद्यार्थीको आन्दोलनका कारण मेडिकल कलेजबाट इन्टर्नसिप गरेका विद्यार्थीलाई प्रमाणित काजपत्र दिन नसकेको बताएको छ । ‘हाम्रो मनसाय इन्टर्नसिप गरेका विद्यार्थीलाई प्रमाणपत्र नदिने भन्ने होइन । अहिले हाम्रो अफिसमा ताला छ । काम गरेको प्रमाणित पत्र कसरी दिनू ?’ चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक हरीशचन्द्र न्यौपानेले भने, ‘अब तपाईंले विद्यार्थीलाई नै सोध्नु ।’

कलेजले असुलेको अतिरिक्त शुल्क फिर्ता नगरेको भन्दै विद्यार्थीले २२ कात्तिकदेखि चितवन मेडिकल कलेजमा ताला लगाएका छन् । ५ भदौबाट सुरु भएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेपछि कलेज प्रशासनले ४ असोजमा जिल्ला प्रशासन कार्यालय चितवनको रोहबरमा अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति जनाएपछि बीचको डेढ महिना कलेज खुलेको थियो । प्रशासन, विद्यार्थी र कलेजबीचको त्रिपक्षीय सम्झौताअनुसार मेडिकल कलेजले १८ कात्तिकभित्र अतिरिक्त असुलिएको शुल्क समायोजन गर्ने भनिएको थियो । तर, सहमति कार्यान्वयन नगर्दा विद्यार्थी पुनः आन्दोलित भएका हुन् ।

मेडिकल कलेजले १६ वटा संकायका विद्यार्थीबाट ३४ करोड समायोजन र २२ करोड रूपैयाँ फिर्ता गर्नुपर्ने विद्यार्थीको दाबी छ । विद्यार्थी आन्दोलनका कारण पहिलो वर्षको परीक्षा स्थगित भएर १९ मंसिरका लागि सरेको छ । देशैभरका कलेजमा विद्यार्थीको आन्दोलन जारी रहेका कारण सो मितिमा पनि परीक्षा हुने–नहुनेमा अन्योल कायम छ । यसरी परीक्षा सरिरहँदा अन्य विश्वविद्यालयबाट पढेका विद्यार्थीले एक वर्ष छिटो पढाइ सक्ने तर आफूहरूको समय लस हुने चिन्ता पनि विद्यार्थीमा छ । यद्यपि, कलेजको करोडौँ ठगीविरुद्ध न्यायका लागि थालिएको अभियानलाई निष्कर्षमा नपुर्याई विश्राम नलिने अडानमा विद्यार्थी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय