सम्पत्ति शुद्धीकरणबाट बच्न युनिभर्सलका सञ्चालक झ्यालबाट छिरेर डकुमेन्ट मिलाउँदै, सिसिटिभी काटेर किर्ते

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा ताला झुन्डिएको १० दिन भइसकेको छ । कलेज प्रशासनले अवैध रूपमा असुलेको अतिरिक्त शुल्क फिर्ताको माग राख्दै २० दिनदेखि आन्दोलनरत विद्यार्थी २४ कात्तिकमा कलेजमा तालाबन्दी गरेका थिए । तालाबन्दीका बीच प्रदर्शन जारी राखेका विद्यार्थी ५ दिनदेखि रिले अनशनमा पनि छन् । जायज मागलाई लिएर शान्तिपूर्ण प्रदर्शन गरिरहँदा कलेज प्रशासनले दमनकारी नीति अख्तियार गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको विद्यार्थीको भनाइ छ ।

युनिभर्सलले ३ वर्षको बीचमा विद्यार्थीबाट करिब ३३ करोड रूपैयाँ अवैध असुली गरेको सरकारी छानबिनमा खुलेको छ । राष्ट्रिय सतर्कता केन्द्रले मेडिकल कलेजहरूको ठगीबारे तयार पारेको प्रतिवेदनमा युनिभर्सलले ३ वर्षमा विद्यार्थीबाट ३२ करोड ७२ लाख ३० हजार रूपैयाँ ठगी गरेको उल्लेख छ । कलेजले छात्रवृत्तिका विद्यार्थीबाट समेत मोलमोलाइमा अवैध असुली गरेको पाइएको छ । कलेजले विभिन्न १५ शीर्षकमा सरकारले तोकेभन्दा अतिरिक्त असुली गरेको छ । कलेजको ठगीविरुद्ध प्रमाणसहित आन्दोलनमा उत्रिएका विद्यार्थी यसपटक अवैध शुल्क फिर्ता गराएरै मात्र विश्राम लिने अडानमा छन् ।

कलेज प्रशासनमा ताला झुन्डिरहँदा ‘न्यायका लागि संघर्ष’ लेखिएको कालो ब्यानर टाँगेर विद्यार्थीहरू कलेजको मुख्य गेटमा रिले अनशन बसिरहेका छन् । रिले अनशनमा एमबिबिएस, बिडिएस, नर्सिङ र प्यारामेडिक्सका विद्यार्थी सहभागी छन् । कलेज प्रशासन भने विद्यार्थीले उठाएका मागसँगै सरकारी निर्देशनको समेत बेवास्ता गर्दै आएको छ । सरकारले पटक–पटक दिएको अतिरिक्त शुल्क फिर्ताको निर्देशनको कलेजले अवज्ञा गर्दै आएको छ । अन्तिम पटकका लागि भन्दै सरकारले अवैध शुल्क फिर्ताका लागि दिएको १५ दिनको थप समय ९ मंसिरमा सकिँदै छ । तर, कलेजले अवैध शुल्क फिर्ता गर्ने कुनै संकेत दिएको छैन ।

सम्पत्ति शुद्धीकरणको छापाबाट बच्न झ्यालबाट छिरेर डकुमेन्ट मिलाइँदै, सिसिटिभीको लाइन काटेर किर्ते धन्दा
सतर्कता केन्द्रले गत भदौमा तयार पारेको मेडिकल कलेजहरूको ठगीसम्बन्धी प्रतिवेदन ३ महिना ढिलो गरी बुझेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अवैध असुली गर्ने मेडिकल कलेजहरूलाई कारबाही गर्न निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनपछि ठगीको विस्तृत छानबिनमा सक्रिय बनेका सरकारी संयन्त्रहरू यतिखेर मेडिकल कलेजहरूको निगरानी गरिरहेका छन् । यसैबीच, मुलुकका १४ वटा निजी मेडिकल कलेज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निगरानीमा आएका छन् । विभागले कलेजहरूसित कागजात माग गरी अध्ययन सुरु गरेको छ भने मागेबमोजिम कागजात तथा विवरण उपलब्ध नगराउन अटेरी गरेका केही कलेजमाथि आइतबार छापासमेत हानेको छ ।

विभाग सक्रिय बनेसँगै युनिभर्सलभित्र खैलाबैला मच्चिएको छ । सम्पत्ति शुद्धीकरणको छापा पर्नुअघि नै कागजपत्र मिलाउन रातदिन फर्जी कागजपत्र बनाउने काम भइरहेको स्रोतले बताएको छ । प्रशासनमा विद्यार्थीको ताला झुन्डिरहँदा सञ्चालकहरू झ्यालबाट प्रवेश गरी कागजपत्र मिलाउनमा व्यस्त भएको बताइएको छ । यसक्रममा ठगीको प्रमाण दिने कागजातहरू लुकाउने र फर्जी डकुमेन्ट बनाउने काम भइरहेको बुझिएको छ ।

फर्जी डकुमेन्ट बनाउनमा कजेल प्रशासनको सक्रियता रहेको आन्दोलनरत विद्यार्थीले पनि बताएका छन् । ताला लगाएको कार्यालयको झ्यालबाट कर्मचारी प्रवेश गरी कागजात लुकाउने काम भएको पाइएको आन्दोलनरत विद्यार्थी भूपेश चन्दले हेल्थपोस्टसँगको टेलिफोन वार्तामा जानकारी दिए ।

‘हामीले तालाबन्दीको निगरानी गहिरहेका हुन्छौँ, आज बिहान हेर्दा कार्यालयमा लगाएको ताला जस्ताको तस्तै छ, तर झ्यालबाट छिरेर काम गरिरहेको देखिएको छ,’ चन्द भन्छन्, ‘कम्युटर अन रहेको, कोठाभित्र गएको खुट्टाको निसान, झ्याल खुलै र सिसिटिभीको लाइन काटिएको अवस्था छ ।’ अन्य मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा परेसँगै त्यसबाट बच्नका लागि कलेजले डकुमेन्ट मिलाउन थालेको चन्दको भनाइ छ ।

विद्यार्थीले कलेज प्रशासनले महत्त्वपूर्ण सूचना र सोसँग सम्बन्धित कागजात गायब पार्न चोरबाटो प्रयोग गरेको बताएका छन् । उनीहरूले कलेजको गैरकानुनी आयको विषयमा तत्काल छानबिन गर्न माग गरेका छन् ।

सरकरले मेडिकल कलेज सञ्चालकहरूलाई अवैध शुल्क फिर्ता गर्न २४ कात्तिकमा दिएको थप १५ दिनको समयसीमा सकिएसँगै अटेरी गर्ने कलेज सञ्चालकमाथि कानुनी कारबाहीको प्रक्रिया थाल्ने बताएको छ । सरकारको निर्देशन अवज्ञा गरे दिइएको समयसीमा सकिएलगत्तै कलेज सञ्चालकविरुद्ध ठगीको मुद्दा चलाउने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ । ९ मंसिरसम्म पनि अवैध शुल्क फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी उनीहरूविरुद्ध विद्यार्थीबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी लिने र ठगी मुद्दा चलाउने गृहको भनाइ छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयहरूमा सोहीअनुरूपको पत्राचार गर्ने तयारी भइरहेको मन्त्रालयको भनाइ छ ।

‘माग पूरा नभए बोर्ड परीक्षासमेत बहिष्कार गर्छौं’
विद्यार्थीले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् । आफूमाथि भएको करोडौँको ठगीविरुद्धको लडाइँमा जेसुकै गुमाउनुपरे पनि पछि नहट्ने उनीहरूको भनाइ छ । विद्यार्थीका लागि सबैभन्दा महत्त्वपूर्ण परीक्षा नै हो । तर, आन्दोलनरत विद्यार्थीले यसपटक माग पूरा नभएसम्म परीक्षामा समेत सामेल नहुने घोषणा गरेका छन् ।

१९ मंसिरबाट प्रथम वर्षको परीक्षा सुरु हुँदै छ । तर, यतिवेला परीक्षाको तयारीमा लीन हुनुपर्ने विद्यार्थी न्यायका लागि रिले अनशनमा छन् । परीक्षा बहिष्कार गरेर आन्दोलनलाई तीव्र बनाउने तयारीमा विद्यार्थी छन् ।

यसअघि त्रिविले २१ कात्तिकदेखि सञ्चालन हुने गरी वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको थियो । तर, आन्दोलनरत विद्यार्थीको बहिष्कारपछि १९ मंसिरका लागि सारेको थियो । युनिभर्सलका आन्दोलनरत विद्यार्थी आफ्ना माग पूरा नभए १९ गतेको परीक्षा र त्रिविका सबै शैक्षिक कार्यक्रम बहिष्कार गर्ने बताइरहेका छन् । यसले वार्षिक शैक्षिक क्यालेन्डरमै समस्या आउने खतरा बढेको छ ।

4 thoughts on “सम्पत्ति शुद्धीकरणबाट बच्न युनिभर्सलका सञ्चालक झ्यालबाट छिरेर डकुमेन्ट मिलाउँदै, सिसिटिभी काटेर किर्ते

  1. सबैको सम्पत्ति सुदृढीकरण हुनुपर्छ हेरौं कस्ले कति तिर्यो र कसरी तिर्यो त्यो पनि हेरौला । सम्पत्ति सुद्धिकरन गर्न document लुकाउदैमा हुने छैन ।झ्यालबाट बाट जबर्जस्ति गरेर अलुमिनिउम झ्याल खोलेर बहाना बाजि गर्दैमा येथार्थ लुक्दैन । पत्रकारिताको येथार्थ नमुन देखिदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय