किन हुन्छ एलर्जी ? कसरी बच्ने ?

हेल्थपोस्ट
प्रकाशित
२०७६ मंसिर ३ गते १०:५७

 

हाम्रो शरीरभित्र कुनै पनि बाहिरी तत्त्व प्रवेश गर्दा त्यसविरुद्ध शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिक्रिया देखाउने गर्छ । यो प्रतिक्रियाको असर छालामा देखिएमा त्यसलाई हामी एलर्जी भन्ने गर्छौं । यद्यपि, छालाबाहेकका अंगमा पनि एलर्जी नहुने भने होइन ।

हिजोआज बढ्दो प्रदूषण र धुवाँधुलोका कारण हाम्रो शरीरमा नकारात्मक असर देखापरिरहेका छन् । प्रदूषणका कारण छालामा दाग आउने, डन्डिफोर तथा पिड्का आउनेजस्ता समस्या बढ्दै गएका छन् । यसलाई हामी छालाको एलर्जी भन्ने गर्छौं ।
छालाको एलर्जीमा चिलाउने, रातो हुने, दाग देखिने, पानीका फोका आउने आदि हुन्छन् । साथै, छाला वा पाप्रा निस्केर जाने पनि हुन सक्छ । यसका कारण अनेकौँ स्वास्थ्यसमस्या आउने गर्छन् ।

बदलिँदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी) एलर्जिक आस्थमा (श्वासको एलर्जी), स्किन एलर्जी तथा खाद्यपदार्थका एलर्जी हुने गर्छन् । कतिपय एलर्जी निकै घातक हुने गर्छन् । विशेषगरी बारुला, किरा, माकुरा, अरिंगालले टोक्दा पनि शरीर सुन्निने तथा चिलाउने हुन्छ । यसका कारण श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने वा पोल्ने समस्या देखापर्छन् ।

एलर्जीको मुख्य कारण
घरबाट बाहिर निस्किँदा धुलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्छन् । त्यसैगरी, घरपरिवारमा पालिने जनावरहरू कुकुर, बिरालोबाट पनि एलर्जी हुने जोखिम बढी हुन्छ । यस्ता पाल्तु जनावरबाट भुत्ला, रौँ आदि झरिरहन्छन्, जुन एलर्जीको कारण बन्न सक्छ ।

एलर्जीका लक्षण
– शरीरमा डाबर आउनु वा चिलाउनु ।
– आँखा, नाक चिलाउनु ।
– हाच्छियूँ आउनु ।
– सुक्खा खोकी लाग्नु तर ज्वरो आएजस्तो नहुनु ।
– सामान्यतया नाक बन्द हुनु तर नाकबाट पानी नबग्नु ।
– बारम्बार रुघा लाग्नु ।

एलर्जीबाट छालालाई कसरी जोगाउने ?
– ओछ्यान तथा लगाउने कपडा सफा राख्ने ।
– घरबाट बाहिर निस्किँदा माक्स लगाउने ।
– कपालमा रङ नलगाउने ।
– जनावरसँग घेरै नजिक नहुने ।
– खानेकुरा वा प्रयोगमा आउने कुनै कुराको एलर्जी हुन्छ भने त्यसबाट सावधान रहने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय