प्रदेश २ मा झाडापखालाको उच्च जोखिम, जिंक चक्कीको प्रयोगमा जोड, सिआरएसको ‘नवजीवन प्लस’ सार्वजनिक

झाडापखालाबाट हुने मृत्युमा प्रदेश २ अगाडि रहेको एक प्रतिवेदनले देखाएको छ । डेमोग्राफिक्स हेल्थ सर्वे २०१६ का अनुसार प्रदेश २ मा झाडापखालाबाट हुँदै आएको मृत्युदर अन्य प्रदेशको तुलनामा उच्च छ । अनुसन्धानका अनुसार नेपालमा झाडापखालाको प्रकोपको स्थिति ८.६ प्रतिशत रहेकोमा प्रदेश २ का आठ जिल्लाको तथ्यांक हेर्दा ९ प्रतिशत रहेको पाइएको छ । यस्तोमा जोखिम न्यूनीकरणका लागि झडापखालाका क्रममा पुनर्जलीय झोलसँगै जिंक चक्कीको प्रयोगमा जोड दिनुपर्ने सुझाब अघि सारिएको छ ।

नेपालको स्वास्थ्य क्षेत्रमा सन् १९७८ देखि नेपाल सरकार र युएसएआइडीसँगको सहकार्यमा विभिन्न स्वास्थ्यसेवा दिँदै आएको नेपाल सिआरएस कम्पनीका अनुसार झाडापखालाको उच्च प्रकोप रहेको प्रदेश २ मा जिंक चक्कीको प्रयोग भने ३.३ प्रतिशत मात्रै रहेको छ । झाडापखाला न्यूनीकरण तथा उपचारका क्रममा पुनर्जलीय झोल (नवजीवन) का साथमा जिंक चक्कीको प्रयोग गरेमा बालबालिकाको शारीरिक शक्ति ह्रास हुनबाट जोगाउने सिआरएसका कार्यक्रम संयोजक राजेश भगतले जनाएका छन् ।

प्रदेश २ मा झाडापखालाको प्रकोप स्थिति उच्च देखिएकाले जनकपुरमा आइतबार एक कार्यक्रमबीच जिंक चक्कीसहितको पुनर्जलीय झोल (नवजीवन) ‘नवजीवन प्लस’ उत्पादन सार्वजनिक गरिएको छ । नयाँ प्रडक्टको शुभारम्भ समारोहमा जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव वनरैत यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव भरतमणि सुवेदीलगायतको सहभागिता थियो ।

नवजीवन प्लस सार्वजनिक गर्दै जिल्ला समन्वय समितिका सभापति यादवले पोसिलो र झोलयुक्त नवजीवनको प्रयोगसँगै जिंक चक्कीको सेवनले बालमृत्युदर घटाउँदै लगेकाले झाडापखालाका बिरामीलाई अनिवार्य रूपमा जिंक चक्की खुवाउन सुझाए । ‘सिआरएसले वर्षौंदेखि पुर्याएका स्वास्थ्यसेवाहरूले आमजनमानसमा छुट्टै पहिचान बनाएका छन्, कम्पनीको सेवाप्रति हामी सबै विश्वस्त छौँ,’ उनले भने ।

कार्यक्रममा मेयर साहले झाडापखालाका बिरामीलाई नवजीवन र पुनर्जलीय झोलसँगै जिंक चक्कीको प्रयोगबारे आमजनमानसमा व्यापक जनचेतना अभिवृद्धि हुनुपर्नेमा जोड दिए । ‘औषधि पसलका सञ्चालक र विक्रेताले समेत नवजीवनसँगै जिंक चक्कीको प्रयोग गर्ने सल्लाह दिएको खण्डमा झाडापखालाको उच्च जोखिम भएको प्रदेश २ मा बालमृत्युदर घटाउन सकिन्छ,’ उनले भने । मेयर साहले जनकपुरका युवा ड्रग्ससेवनलगायत कुलतमा फसिरहेकाले ड्रग्सका रूपमा प्रयोग हुने औषधि जथाभावी विक्री–वितरण नगर्न व्यवसायीहरूलाई आग्रह गरे । ‘हामीले पहिलो बोर्ड बैठकबाटै जनकपुरधाममा सुर्तीजन्य पदार्थको प्रयोग निषेध गर्ने निर्णय गरेका थियौँ,’ उनले भने ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव सुवेदीले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा सुधारका लागि केन्द्र सरकार र विभिन्न सामाजिक संघसंस्थाको समन्वयमा काम थालेको बताए । नेपाल सिआरएस कम्पनीका सञ्चालक समितिका सदस्य हिमालय कस्जूको अध्यक्षता सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव महेन्द्र महतो, औषधि व्यवसायीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय