करिअर बनाउने उमेर समूहका युवा पिढीलाई मानसिक रोगले गाँजेको देख्दा असाध्यै पीडा हुन्छ

विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा समाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो । तसर्थ, कुनै पनि व्यक्ति स्वस्थ छ भन्नका लागि शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ ।

अहिलेको समयमा मानिस आफ्नो दैनिक क्रियाकलाप र करिअर बनाउने धुनमा यति धेरै व्यस्त छन् कि, उनीहरूलाई आफैँलाई, आफ्नो मनमा आएका सोच–विचारलाई समेत नियाल्ने फुर्सद छैन । जसोतसो मानिसले आफूलाई घिसारिरहेका छन्, आफ्नो दैनिक क्रियाकलाप पूरा गर्नका लागि ।

मानसिक रोगलाई मनको रोग पनि भनिन्छ, जुन दिमागी सन्तुलन ब्रिगेर अथवा मानसिक असन्तुलनका कारण देखापर्न सक्छ । मानसिक रोगको सम्बन्ध मन र मस्तिष्क दुवैतर्फ छ । मानसिक रोगको प्रमुख कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यो रोगको सिकार जोकोही हुन सक्ने हुँदा हामी पनि त्यसबाट पर छौँ भन्न मिल्दैन । मानसिक रोगका लागि उमेरको कुनै हदबन्दी छैन, भर्खरै जन्मिएको बच्चादेखि लिएर वृद्ध अवस्थासम्मका व्यक्तिलाई यसले असर गर्न सक्छ ।

शारीरिक स्वास्थ्य समस्यालाई जुन रूपमा लिइन्छ, त्यस रूपमा मानसिक स्वास्थ्य समस्यालाई लिएको पाइँदैन । मानिस शारीरिक रोगको उपचारका लागि जति पनि खर्च गर्न तयार हुन्छन्, तर मानसिक रोगको उपचारमा भने खर्च गर्न डराउँछन् । हाम्रो समाजमा प्रसिद्ध भनाइ नै छ– शरीरको रोग सबैले देख्छन्, तर मनको रोग कसैले देख्दैन । मानसिक रोग भन्नेबित्तिकै पागल वा बौलाहा हुनुका रूपमा लिने गलत बुझाइ जनमानसमा व्याप्त छ । जब कि, मानसिक रोगअन्तर्गत चिन्ता लिनेदेखि साइकोसिस हुनेसम्म पर्दछन् ।

मानसिक समस्याको उपचारका लागि पर्याप्त मात्रामा स्रोत–साधन र अस्पताल उपलब्ध छैनन् । कतिपय ठूला मानिएका अस्पतालमा पनि अझै साइक्याट्रिक ओपिडीबाट मात्रै सेवा दिने व्यवस्था छ । अर्थात्, मानसिक रोगीका लागि भर्ना गरेर उपचार गर्न वार्डहरू छैनन् ।

मनोचिकित्सहरू मानसिक रोगको मूल कारणका रूपमा मनोसमाजिक संघर्षलाई मान्ने गर्छन् । मानिसले सामाजिक एवम् नैतिक आचरणविरुद्धको चाहनालाई बलजफ्ती दबाउन खोज्दा मानसिक तनाव र असन्तुलित जीवन संर्घषबीच बाँच्नुपर्ने हुन्छ । मानसिक समस्याको उपचारका लागि पर्याप्त मात्रामा स्रोत–साधन र अस्पताल उपलब्ध छैनन् । कतिपय ठूला मानिएका अस्पतालमा पनि अझै साइक्याट्रिक ओपिडीबाट मात्रै सेवा दिने व्यवस्था छ । अर्थात्, मानसिक रोगीका लागि भर्ना गरेर उपचार गर्न वार्डहरू छैनन् ।

मानसिक स्वास्थ्यको क्षेत्रमा सरकारले आवश्यक मात्रामा बजेट छुट्याएको पनि पाइँदैन भने प्रभावकारी जनचेतनामूलक कार्यक्रमसमेत आउन सकेका छैनन् । यद्यपि, भर्खरै मात्र मानसिक स्वास्थ्य सेवासम्बन्धी नयाँ विधेयक आएको छ । विधेयकले मानसिक रोगका कुनै पनि बिरामी उपचारबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले यस्ता बिरामीको उपचार गरेबापत प्रतिव्यक्ति, प्रतिदिनका हिसाबले केही रकम राज्यले सेवाप्रदायक संस्थालाई दिने व्यवस्था गरेको छ । कार्यक्रम राम्रो छ, तर कार्यान्वयन कत्तिको प्रभावकारी हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

समाजको हेर्ने दृष्टिकोण, रोगबारे ज्ञान र चेतनाको कमीलगायत विविध कारणले समाजमा अझै पनि धेरै मानसिक रोगी सार्वजनिक हुन सकेका छैनन् । यसले गर्दा मानसिक रोगीको यकिन तथ्यांकसमेत आउन नसक्दा कार्यक्रम ल्याउन र कार्यान्वयनमा समेत समस्या छ । मूलतः मानसिक रोगीलाई हेर्ने समाजको दृष्टिकोणमा खासै परिवर्तन आउन नसक्दा अझै पनि मानिस यसबारे खुलेर कुरा गर्न डराउँछन् । फलस्वरूप आफ्नै टोल–छिमेका वा घरपरिवारमै पनि मानसिक रोगका बिरामी कति छन् भनेर संख्या किटान गर्न नसकिरहेको अवस्था छ । यससँगै अझै पनि कतिपय मानिसलाई मानसिक रोगको उपचार सम्भव छ र कहाँ–कहाँ उपचार उपलब्ध छ भन्नेसम्म पनि थाहा छैन ।

मानसिक रोगका बिरामीलाई पनि अहिले सरकारले परिचयपत्र बनाएर अपांगता भत्ता दिने व्यवस्था गरेसँगै दर्ता हुने बिरामीको संख्यामा केही वृद्धि आएको छ । यसले केही हदसम्म राहत प्रदान गरे पनि पर्याप्त भने छैन ।

मानसिक समस्या भएका व्यक्तिहरूबाट समाजमा दिनानुदिन कति अप्रिय घटना घटिरहेका छन् भन्ने हामीले देख्दै आएका छौँ । त्यस्ता मानिसमा सही निर्णय लिन सक्ने क्षमतामा कमी हुनुका साथै कतिपय अवस्थामा मनमा आएका सोच–विचारलाई नियन्त्रण गर्न नसकेर त्यसैमा बग्दा दुःखद घटना निम्तिन पुग्छन् । यसले समाजमा आपराधिक घटनालाई समेत बढावा दिइरहेका छन् ।

विकसित देशहरूले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अगाडि बढाइरहेका छन् । तर, हाम्रो जस्तो दूरदराजका नागरिकका लागि सिटामोल उपलब्ध गराउनसमेत सरकार संघर्षरत रहेको देशमा मानसिक स्वास्थ्य निकै ओझेलमा परेको छ । स्वास्थ्योपचारका लागि अस्पताल आइपुगेका बिरामीलाई हेर्दा २०–३० वर्षको चढ्दो उमेरमै मानसिक समस्याले गाँजेको पाइन्छ । पढेर आफ्नो करिअर बनाउने उमेर समूहका युवा मानसिक रोगले ग्रस्त भएको देख्दा साँच्चै पीडा हुन्छ ।

मानसिक समस्या भएका व्यक्तिहरूबाट समाजमा दिनानुदिन कति अप्रिय घटना घटिरहेका छन् भन्ने हामीले देख्दै आएका छौँ । त्यस्ता मानिसमा सही निर्णय लिन सक्ने क्षमतामा कमी हुनुका साथै कतिपय अवस्थामा मनमा आएका सोच–विचारलाई नियन्त्रण गर्न नसकेर त्यसैमा बग्दा दुःखद घटना निम्तिन पुग्छन् । यसले समाजमा आपराधिक घटनालाई समेत बढावा दिइरहेका छन् ।

बदलिँदो खानपान, अस्वस्थकर तथा भागदौडपूर्ण जीवनशैली र बढ्दो तनावका कारण दिनप्रतिदिन व्यापक बन्दै गएको मानसिक समस्या न्यूनीकरण सरकारको मात्र मुख ताकेर सम्भव छैन । एक जिम्मेवार नागरिकको नाताले हामीले आफ्नो तहबाट पनि मानसिक स्वास्थ्यको क्षेत्रमा सरकारलाई सहयोग गर्नुपर्छ । समयको चक्रसँगै हाम्रो माग पनि परिवर्तन हुनुपर्छ । सरकारले पनि अब मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर उपयोगी कार्यक्रम समुदायस्तरमा ल्याउनु जरुरी छ ।

मानसिक समस्याको उपचार औषधि सेवनमा मात्र सीमित छैन । यो समस्यामा बहुआयामिक उपचार पद्धति अवलम्बन गर्नुपर्ने हुन्छ । यसमा औषधीय उपायसँगसँगै बिरामीलाई आफ्नो जीवनमा आइपर्ने तनावको व्यवस्थापनका उपाय सिकाउने, आफ्नो व्यवहारमा परिवर्तन ल्याउने, घर–परिवार र सिंगो समाजप्रतिको आफ्नो जिम्मेवारीबोध गराउनेलगायत पर्दछन् । आवश्यकताअनुसार व्यायाम, योग तथा ध्यानको विधिसमेत अपनाउनुपर्ने हुन्छ । कुनै व्यक्तिको मानसिक समस्या ऊ आफूसित मात्र नभई अन्य व्यक्ति, परिवार र समाजसितसमेत जोडिएको हुन सक्छ । तसर्थ, मानसिक स्वास्थ्य समस्यालाई कुनै एउटा व्यक्ति वा परिवारको समस्याका रूपमा मात्र नहेरेर सम्पूर्ण समाज र देशकै समस्याका रूपमा हर्नुपर्छ ।

(नर्सिङ अभ्यासमा लामो अनुभव बटुलेकी पौडेल हाल महाराजगन्ज नर्सिङ क्याम्पसमा साइक्याट्रिक नर्सिङ विषयमा स्नातकोत्तर तहको पढाइ गरिरहेकी छिन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय