प्रधानमन्त्री ओलीको तेस्रोपटक डायलाइसिस, कस्तो छ स्वास्थ्यअवस्था ?

प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रोपटक डायलाइसिस गरिएको छ । शनिबार बिहान स्वास्थ्योपचारका लागि धापासीस्थित ग्रान्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको दिउँसो हेमोडायलाइसिस गरिएको थियो । डायलाइसिसपछि उनी शनिबार नै बालुवाटारस्थिति सरकारी निवास फर्किएका छन् ।

१२ वर्षअघि प्रत्यारोपित मिर्गौलाले राम्ररी काम गर्न छोडेका कारण शरीरमा क्रियटाइनको मात्रा बढेपछि प्रधानमन्त्री ओलीको १३ कात्तिकमा पहिलोपटक डायलाइसिस गरिएको थियो । दुई दिनसम्म ग्रान्डीमा रहेर उपचार गराएका प्रधानमन्त्री ओली १४ कात्तिकमा दोस्रोपटकको डायलाइसिसपछि डिस्चार्ज भएका थिए । त्यसपछि केही समय काममा निकै सक्रिय देखिएका प्रधानमन्त्री ओलीको शनिबार तेस्रोपटक डायलाइसिस गरिएको हो ।

डायलाइसिसपछि उनको स्वास्थ्यअवस्था राम्रो रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीकी निजी चिकित्सकसमेत रहेकी वरिष्ठ मिर्गौलारोग विशेषज्ञ एवम् ग्रान्डी अस्पतालकी नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा. दिव्या सिंह शाह, ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट विभागका अध्यक्ष प्रा.डा. प्रेमराज ज्ञवालीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको तेस्रो हेमोडायलाइसिस र त्यसपछिको स्वास्थ्यअवस्थाबारे जानकारी दिएका हुन् ।

प्रत्यारोपित मिर्गौलालाई शरीरले अरुको अंग भएको चिनेसँगै त्यसलाई रिजेक्ट गर्न शरीरमा एन्टिबडीलगायतको उत्पादन बढाउन थाल्ने हुँदा समस्या सुरु हुने मिर्गौलारोग विशेषज्ञहरु बताउँछन् । शरीरले अरुको अंगलाई नचिनोस् भन्नका लागि प्रत्यारोपणका बिरामीलाई प्रतिरोधात्मक क्षमता घटाउने औषधि नियमित खुवाउने गरिन्छ । तर, प्रत्यारोपणको लामो समयपछि बिस्तारै शरीरले प्रत्यारोपित अंगलाई चिन्न थाल्ने हुँदा फेरि समस्या सुरु हुन्छ । प्रधानमन्त्री ओलीमा प्रत्यारोपणको १२ वर्षपछि यस्तै समस्या देखिएपछि सिलसिलेवार रुपमा समस्या देखिन थालेको विशेषज्ञ चिकित्सकको भनाइ छ ।

प्रत्यारोपित अंगलाई रिजेक्ट गर्न शरीरले एन्टिबडीको उत्पादन बढाएपछि गत भदौमा उनको सिंगापुरमा प्लाज्मा फेरोसिस पद्धतिमार्फत एन्टिबडी निष्कासन गरिएको थियो । यद्यपि, त्यसको एक–डेढ महिनापछि नै मिर्गौलाले आवश्यक मात्रामा काम नगर्दा शरीरमा हानिकारक तत्त्व क्रियटाइनको मात्र बढेसँगै प्रधानमन्त्री ओलीलाई डायलाइसिस आवश्यक परेको हो । चिकित्सकका अनुसार अब प्रधानमन्त्री ओलीमा नियमित डायलाइसिस वा पुनः प्रत्यारोपणको मात्र विकल्प छन् । यसमध्ये हालका लागि पहिलो विकल्प अख्तीयार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय