संघमातहतको डडेल्धुरा अस्पतालको दुरवस्था : ३ दर्जन चिकित्सक दरबन्दी तर ३ जना मात्र कार्यरत

१७औँ अनशनको नवौँ दिन, अर्थात् अनशन स्थगनको दिन प्रा.डा. गोविन्द केसीले आफ्नो उपचारका लागि सरकारद्वारा बाहिरबाट प्रेषित फिजिसियनबाट उपचार गराउन अस्वीकार गरे । डा. केसीको यो निर्णयलाई उनको दम्भका रूपमा मोटो टीप्पणी गर्नेहरू पनि यदाकदा भेटिए, जो डा. केसीको सत्याग्रहको मूल उद्देश्य र अत्यावश्यकताबारे अनभिज्ञ छन् या त बुझ पचाउन चाहन्छन् ।

डडेल्धुरा अस्पताल संघ सरकारमातहतको टर्सेरी अस्पताल हो । संघीयताअघि १० बेडको उपक्षेत्रीय अस्पतालका रूपमा सञ्चालित यो अस्पताल संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकारमातहत गएको थियो । पछि केन्द्र सरकारले प्रदेशअन्तर्गतका ५ वटा अस्पताललाई केन्द्र सरकारमातहत ल्याउनेक्रममा यो अस्पताल पनि संघअन्तर्गत आएको थियो । यो मुलुककै दोस्रो पिछडिएको क्षेत्र सुदूरपश्चिमका नागरिकको महत्त्वपूर्ण उपचार केन्द्र हो । दूरदराजका विपन्न नागरिकलाई स्वास्थ्यमा यसै पनि अति सीमित मात्र अवसर प्राप्त छ । त्यसमा पनि पहुँचका स्वास्थ्य सेवाप्रदायक संस्था कुन हदसम्म दुरवस्थाबाट गुज्रिरहेका छन् भन्ने तथ्य डा. केसीको डडेल्धुराको १७औँ अनशनले उजागर गरेको छ । यो दुरवस्थाको सर्जक अरु कोही नभएर स्वयम् राज्यसत्ता नै हो ।

डडेल्धुरा अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सक तथा १८ जना मेडिकल अफिसरको दरबन्दी छ । तर, अहिले जम्मा २ जना विशेषज्ञ र १ एमबिबिएस चिकित्सक मात्र कार्यरत छन् । यसका अलावा एकजना छात्रवृत्ति करारका विशेषज्ञ ६ महिनाका लागि काम गरिरहेका छन् । सरकारले चिकित्सक खटाउँदा पनि अधिकांश अध्ययन बिदामा भएकालाई पठाउँदा फिल्डमा चिकित्सक अभाव भएको अस्पतालका मेसु डा. कँडेल बताउँछन् । ८–१० जना चिकित्सक अध्ययन बिदामै छन् ।

डडेल्धुरा अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सक तथा १८ जना मेडिकल अफिसरको दरबन्दी छ । तर, अहिले जम्मा २ जना विशेषज्ञ र १ एमबिबिएस चिकित्सक मात्र कार्यरत छन् । यसका अलावा एकजना छात्रवृत्ति करारका विशेषज्ञ ६ महिनाका लागि काम गरिरहेका छन् । सरकारले चिकित्सक खटाउँदा पनि अधिकांश अध्ययन बिदामा भएकालाई पठाउँदा फिल्डमा चिकित्सक अभाव भएको अस्पतालका मेसु डा. कँडेल बताउँछन् । ८–१० जना चिकित्सक अध्ययन बिदामै छन् । तुलनात्मक रूपमा यस केही विकसित मानिने डडेल्धुरा सदरमुकामस्थित संघीय टर्सेरी अस्पतालको त यो दुरवस्था छ भने दार्चुलाका नागरिकले कुन स्तरको स्वास्थ्यसेवा पाइरहेका होलान्, त्यसको अनुमान सहजै लगाउन सकिन्छ । हो, यही अवस्थामा सुधारका लागि नै डा. केसी अवकाशपछि पनि जोखिम मोलेर सत्याग्रह चलाइरहेका छन् ।

दूरदराजका जनसामान्यको समेत स्वास्थ्य र शिक्षामा सुलभ पहुँचका लागि जीवन समर्पित गरेका डा. केसीले डडेल्धुरामा अनशन बसेर औँलामा गन्न सकिने मुलुकका संघीय अस्पतालको वास्तविक अवस्थालाई उजागर गरिदिएका छन् । दुर्गमका अस्पतालमा पनि दरबन्दीअनुसार चिकित्सक व्यवस्था गरी जनतालाई गुणस्तरीय स्वास्थ्यसेवा पुर्याउनुपर्छ भन्ने सन्देशका लागि नै डा. केसीले सरकारले पठाएका विशेषज्ञ चिकित्सकबाट उपचार गराउन अस्वीकार गरेका हुन् । डडेल्धुरा अस्पतालको दरबन्दी र सेवामा खटिने चिकित्सकको अवस्थाले नै डा. केसीको सत्याग्रहको सार्थकता पुष्टि गर्छ ।

सबै नागरिकको स्वास्थ्य र शिक्षामा समान तथा सुलभ पहुँचका लागि सञ्चालित सत्याग्रहको मर्म र अत्यावश्यकता अरु कसैले बुझे वा नजरन्दाज गरे पनि यसपटक सुदूरका जनसामान्यले भने आत्मसात् गरेका छन् । सत्याग्रह आफ्नो संवैधानिक हकको व्यावहारिक कार्यान्वयनका लागि हो भनेर बुझेका सुदूरपश्चिमवासी यसपटक डा. केसीको अभियानमा सामेल भए । सत्याग्रहको मर्मबोध गरेर नै उनीहरूले सत्याग्रहीलाई जबर्जस्ती उठाउन पठाइएको नेपाली सेनाको हेलिकोप्टरलाई रित्तै फर्काइदिए । भलै राष्ट्रियताको गहनतम मुद्दा सीमासुरक्षाको विषयले प्राथमिकता पाउँदा यसपटकको सत्याग्रहले केही समयका लागि अर्कै मोड लियो, तर सुपवासीमा यो ९ दिनको बीचमा सत्याग्रहले जागाएको आफ्नो संवैधानिक अधिकारप्रतिको सचेतता कत्ति पनि मोडिएको छैन । यो जागरणले डा. केसीको पवित्र अभियानलाई सार्थक तुल्याउन अवश्य पनि बल पुर्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय