क्रिटिकल केयर नर्सको दोस्रो सार्क क्षेत्रीय सम्मेलन पेसागत क्षमता अभिवृद्धिमा केन्द्रित रहन्छ

नेपालमा क्रिटिकल केयर नर्सेस एसोसिएसनको स्थापना भएको ३ वर्ष बितिसकेको छ । सन् २०१६ मा एसोसिएसनको स्थापनापछि सार्कक्षेत्रका सबै क्रिटिकल केयर आइसियूमा काम गर्ने नर्सहरूको एउटै क्षेत्रीय संगठन बनाउन ०१७ मा नेपालमै पहिलो क्षेत्रीय सम्मेलन बोलाइयो । सम्मेलनले रिजनल फेडेरेसन अफ क्रिटिकल केयर नर्सेस, सार्कको स्थापना गर्यो । रिजनल फेडेरेसनको पहिलो सम्मेलन भारतमा गरियो, दोस्रो सम्मेलन नेपालमा हुँदै छ । सम्मेलनको तयारी, छलफलका विषय, नेपालमा क्रिटिकल केयर नर्सिङको अवस्था, चुनौतीलगायत विषयमा केन्द्रित भएर हेल्थपोस्टनेपालले क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपालकी महासचिव कविता सिटौलासँग गरेको कुराकानीको सम्पादित अंश :

क्रिटिकल केयर नर्सको राष्ट्रिय र सार्कस्तरीय संगठन कसरी जन्मियो ?
क्रिटिकल केयर युनिट यस्तो संवेदनशील ठाउँ हो, जहाँ एकदमै सिकिस्त बिरामी राखिन्छ । यहाँ राखिने बिरामीका एक वा एकभन्दा बढी अंगले काम गर्न छोडेका हुन्छन् । कुनै बिरामीलाई श्वासप्रश्वासका लागि भेन्टिलेटरमा राखिएको हुन्छ । बिरामीले आफ्नो शरीरलाई मेन्टेन गर्न नसकिरहेको अवस्था हुन्छ । यस्ता बिरामीलाई राखेर सघन उपचार दिइने ठाउँमा काम गर्ने नर्सलाई क्रिटिकल केयर नर्स भनिन्छ ।

क्रिटिकल केयर नर्सेस एसोसिसन नेपाल आइसियूमा काम गर्ने नर्सहरूको छाता संगठन हो । यसले क्रिटिकल केयर नर्सहरूको हक–हित, शिक्षा तथा तालिमका लागि काम गर्छ । यो एसोसिएसन सन् २०१६ मा स्थापना भएको हो । सन् २०१७ मा क्रिटिकल केयर नर्सहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा भयो । त्यतिवेलै सार्क राष्ट्रहरूबीच क्रिटिकल केयर नर्सहरूको सझा संगठन बनाउने निर्णय भयो । सम्मेलनले रिजनल फेडेरेसनल अफ क्रिटिकल केयर नर्स, सार्क नाम दिएर साझा संगठन गठन गर्यो । नेपाललगायत सार्कअन्तर्गतका देश यसका सदस्य छन् ।

यो सम्मेलन नेपालमै गर्नुको कारण ?
सार्कको पहिलो अध्यक्ष भारतबाट जया कुरबियला हुनुहुन्छ । रिजनल फेडेरेसन अफ क्रिटिकल केयर नर्स, सार्कको पहिलो सम्मेलन भारतमा भएको थियो । पहिलो सम्मेलनमै दोस्रो अध्यक्ष नेपालको हुने र सम्मेलन पनि नेपालमै हुने तय भएको थियो । यो सम्मेलनबाट क्रिटिकल केयर नर्सेस एसोसिएसनकी अध्यक्ष लक्ष्मी केसीले रिजनल फेडेरेसन अफ क्रिटिकल केयर नर्सेसको अध्यक्षको पदभार सम्हाल्नुहुनेछ । त्यस्तै, नेपालको महासचिवले अबको सम्मेलनबाट सार्कको महासचिव पद सम्हाल्नेछन्, जसमा अहिले म छु ।

क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपालमा हाल कति नर्स आबद्ध छन् ? सदस्यताको मापदण्ड के छ ?
क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपालको सदस्यता अहिलेसम्म १ सय ७५ जनाले लिएका छन् । संगठन विस्तारको काम जारी छ । नेपालमा क्रिटिकल केयर नर्सका लागि यही नै मापदण्ड हुनुपर्छ भन्ने निश्चित छैन ।

नेपालमा नर्सिङमा विशेषज्ञताको अवधारणा नै छैन । हामीले नर्सिङमा पनि विशेषज्ञता हुनुपर्ने कुराको वकालत गर्दै आएका छौँ । विशेषज्ञताको अवधारणा आइसकेपछि आइसियूमा काम गर्ने नर्सले आइसियूसम्बन्धी विशेष अध्ययन गरेर विशेषज्ञका रूपमा काम गर्दा सेवाको गुणस्तर र नर्सको क्षमता अभिवृद्धिका साथै नर्सलाई काम गर्न पनि सहज हुने धारणा हाम्रो छ । यसका लागि हामीले केही मापदण्डको खोजी गरिसकेका छौँ, तर अन्तिम रूप दिन भने बाँकी नै छ ।

विशेषज्ञताको अवधारणा नै नभएको अवस्थामा हालसम्म क्रिटिकल केयर नर्सको उत्पादन कसरी हुँदै आएको छ ? पठाइ स्वदेशमै हुन्छ कि विदेश जानुपर्छ ?
नेपालमा एक–दुईवटा संस्थाले थप विषय राखेर क्रिटिकल केयरबारे पढाउने गरेका छन् । तर, सर्टिफिकेट लेबलमा यसको पढाइ हुने गरेको छैन । अन्य मुलुकमा भने क्रिटिकल केयरको विशेष पढाइ हुने गरेको छ । अहिले भएको जनशक्ति प्रायः तालिम र अभ्यासबाटै क्रिटिकल केयरका लागि योग्य भएको छ ।

दोस्रो रिजनल सम्मेलनमा सहभागिताको अवस्था के हुन्छ ?
रिजनल सम्मेलन १५ र १६ नोभेम्बरमा बुटबलमा आयोजना गर्दै छौँ । सम्मेलनमा सार्कका सदस्य राष्ट्रहरू तथा बाह्य मुलुकका गरी २५ जनाभन्दा बढी विदेशी प्रतिनिधिले सहभागिता जनाउँदै हुनुहुन्छ । सार्क राष्ट्रका प्रतिनिधिका अतिरिक्त युएई, युएसए (अमेरिका), क्यानडा, युके (बेलायत) लगायत देशबाट सम्मेलनमा सहभागिता रहनेछ ।

सम्मेलनमा रजिस्ट्रेसन गरेका ४ सय ५० जना सहभागी हुनेछन् भने २५ जना अन्तर्राष्ट्रिय व्यक्तित्व, अर्गनाइजिङ कमिटीका प्रतिनिधि रहनेछन् ।

सम्मेलनको मुख्य उद्देश्य के हो ?
यो सम्मेलनको मुख्य उद्देश्य नर्सहरूको क्षमता अभिवृद्धि तथा क्रिटिकल केयर सीप विकास गर्नु हो । आइसियूमा २४ घण्टा बस्ने भनेको नर्स नै हो । अन्य वार्डका बिरामीको हकमा हामीले बिरामीको अवस्था एकछिन हेरेर डाक्टरलाई बोलाउँछौँ भने आइसियूको बिरामीको १ मिनेटमै ज्यान तलमाथि हुन सक्छ । त्यसकारण आइसियूको नर्सलाई बिरामीको स्वास्थ्यको व्यवस्थापनबारे व्यापक ज्ञान आवश्यक हुन्छ । सम्मेलनमार्फत हामी एक–अर्काका अभ्यास तथा अनुभव साटासाट गरेर क्रिटिकल केयर नर्सको सीप तथा क्षमता अभिवृद्धिको प्रयास गर्छौं ।

सम्मेलनमा कतिवटा कार्यपत्र प्रस्तुत हुनेछन् ? छलफलको मूल विषय के रहनेछ ?
सम्मेलनमा २५ जना अन्तर्राष्ट्रिय विज्ञहरूबाट कार्यपत्र प्रस्तुत हुनेछन् । क्रिटिकल केयर नर्सिङका गुणस्तरसम्बन्धी विषयहरू, विश्वस्तरमा भइरहेका अभ्यास तथा प्राविधिक विकासलगायत क्रिटिकल केयर नर्सिङका मुख्य पक्षहरूबारे गहन छलफल गर्ने योजना छ । साथै, आयोजकका तर्फबाट नेपालमा क्रिटिकल केयर नर्सिङको अवस्था र नयाँ विषयहरूबारे २२ जना नर्सले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । सम्मेलनको सबै लगात नेपालले नै बेहोर्नेछ ।

एसोसिएसनले क्रिटिकल केयर नर्सको क्षमताविकास तथा हकहितका विषयमा के गर्दै आएको छ ?
एसोसिएसनबाट ३ महिनाको क्रिटिकल केयर नर्सिङ तालिम सुरु गरेका छौँ । एक–दुई दिनको सफ्ट वर्कसप पनि गरेका छौँ । नर्सका विभिन्न कोर्ससम्बन्धी तालिम दिने गरेका छौँ ।

क्रिटिकल केयर नर्सका प्रमुख समस्या के छन् ?
नर्सका समस्या प्रायः सबैका उस्तै हुने गर्छन् । नेपालको सन्दर्भमा हेर्दा बिरामी र नर्सको अनुपात ज्यादै नमिल्दो छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार लेबल ३ आइसियूमा एक नर्सले एक बिरामी मात्रै हुर्नुपर्ने हुन्छ । तर, हाम्रो देशमा एक नर्सले त्यसको कैयौँ गुणा बिरामी हेर्नुपर्ने अवस्था छ ।

अन्य देशको तुलनामा नेपालमा नर्सको पारिश्रमिक ज्यादै न्यून छ । वार्डमा भन्दा आइसियूमा काम गर्न गाह्रो हुन्छ, तर बढी खटिएबापत थप पारिश्रमिकको व्यवस्था छैन ।

(क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपालकी महासचिव सिटौलाले शुक्रबार बुटवलमा सुरु हुने दोस्रो सम्मेलनबाट रिजनल फेडेरेसन अफ क्रिटिकल केयर नर्सेस, सार्कको समेत महासचिवको जिम्मेवारी पाउँदै छिन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय