सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयविरुद्ध उजुरी परेपछि अख्तियारले थाल्यो छानबिन, ५ करोड घोटाला आरोप

हेल्थपोस्ट
प्रकाशित
२०७६ कार्तिक २८ गते ११:२०

सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशनालयले स्वास्थ्य समाग्री खरिदमा अनियमितता गरेको भन्दै छानबिनको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
निर्देशनालयले प्रदेशका ८८ स्थानीय तहका लागि विभिन्न स्वास्थ्य उपकरण एवम् सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै आयोगको कञ्चनपुर कार्यालयमा उजुरी परेको हो ।

अख्तियार कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले निर्देशनालयमार्फत भएको १२ करोडका सामग्री खरिदमा अनियमिता भएको भन्दै गत साता उजुरी परेको जानकारी दिए । छानबिनका लागि सम्बन्धित कार्यालयबाट कागजपत्र झिकाइएको विष्टले बताए ।

यसरी ५ करोड घोटाला गरेको आरोप
सुदूरपश्चिम प्रदेश सरकारको प्रदेशअन्तर्गतका स्थानीय तहमा सेवा सञ्चालनार्थ ८८ वटा अल्ट्रासाउन्ड मेसिन खरिद गर्ने निर्णयअनुसार प्रदेश स्वास्थ्य निर्देशनालयले मेसिन खरिदका लागि टेन्डर गरेको थियो । सो टेन्डरमा मिलेमतोमा टेन्डर स्वीकृत गरेको आरोप निर्देशनालयमाथि छ । आपूर्तिकर्ता र स्वास्थ्य निर्देशनालयको मिलेमतोमा महँगो मूल्यमा अल्ट्रासाउन्ड उपकरण खरिद गरिँदा झन्डै ५ करोड रुपैयाँ अतिरिक्त बजेट खर्च भएको देखिएको छ ।

अल्ट्रासाउन्डको एउटा उपकरणका लागि एजी हेल्थ केयर काठमाडौंले बिट रकम ७ हजार डलर राखेर प्रस्ताव पेस गरेको थियो । तर, निर्देशनालयले कमिसनको लोभमा नभएको त्रुटि देखाएर आफ्नो प्रस्ताव अस्वीकृत गरेको एजीको आरोप छ ।
‘मागअनुसारको प्रावधान नमिलेको भन्दै प्राविधिक मूल्यांकनमा उक्त प्रस्तावलाई अस्वीकार गरियो,’ एजी हेल्थ केयरका सञ्चालक पोस्टबहादुर ज्ञवाली भन्छन्, ‘मिलेमतोमा टेन्डर दिने तयारी हुँदा अस्वीकार गरिएको हो, सबै प्रावधान मिलेकै थियो ।’

प्रतिउपकरण ७ हजार डलरमा गरिएको प्रस्ताव अस्वीकृत गरेको निर्देशनालयले पछि प्रतिमेसिन झन्डै साढे १२ हजार डलरमा खरिदका लागि बिट रकम राखेको फिलिप्स मेडिकल सिस्टमसँग ठेक्का सम्झौता गरेको थियो । यसले एउटा उपकरण खरिदमा ५ हजार डलर बढी रकम खर्च भएको छ । यद्यपि, प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी भने सार्वजनिक खरिद ऐनअनुसार नै टेन्डर भएको र कुनै अनियमितता नभएको दाबी गर्दै आएका छन् ।

करिब १२ करोडमा ८८ वटा अल्ट्रासाउन्ड उपकरण खरिद भएकोमा प्रदेश स्वास्थ्य निर्देशनालयले उपकरण खरिद भइसकेपछि थप पौने २ करोड बजेट सामाजिक विकास मन्त्रालयसित माग गरेको छ । १२ करोडको खरिदमा भ्याटबापतको रकम पौने २ करोड आवश्यक भएका मन्त्रालयसित माग गरिएको हो । निर्देशनालयले भ्याटबापतको रकम थप माग गरेर थप अनियमितता गर्न खोजेको समेत आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय