मिर्गौला तस्करी अभियोगमा निदानका सिइओ प्रधानसहित ५ जना पुर्पक्षका लागि जेलचलान

हेल्थपोस्ट
प्रकाशित
२०७६ कार्तिक २७ गते १५:१६

ललितपुर जिल्ला अदालतले मिर्गौला तस्करीको अभियोगमा मुद्दा खेपिरहेका निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित ५ जनालाई पुर्पक्षका लागि जेलचलान गरेको छ । अदालतले किर्ते कागजपत्र बनाई गैरकानुनी रूपमा मिर्गौला प्रत्यारोपण गराएको कसुरमा उनीहरूलाई पुर्पक्षका लागि जेलचलान गरेको हो ।
अभियुक्तहरूमाथि किर्ते कागजमार्फत नाता नपर्ने व्यक्तिलाई भान्जा बनाएर मिर्गौला लिई बिरामीमा प्रत्यारोपण गराएको प्रहरी अनुसन्धानको दाबी छ । प्रत्यारोपणका लागि तोकिएको नाताभित्रका व्यक्तिले मात्र मिर्गौला दिन पाउने कानुनी प्रावधान छ । तर, निदानले मोटो रकम लिएर किर्ते गरी कानुनविपरीत प्रत्यारोपण गराएको प्रहरी अनुसन्धानले देखाएको छ ।

जेलचलान हुनेमा अस्पतालका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, कानुनी सल्लाहकार कुमुद भट्टराई, घटनाका बखत ललितपुर जिल्ला प्रशासन कार्यालयमा कार्यरत अधिकृत रामचन्द्र आले र मिर्गौला लिने व्यक्ति शंकरलाल लामा छन् । २९ असोजमा पक्राउ परेका उनीहरूमाथि छानबिनपछि प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो ।

रामेछाप दोरम्बा–३ का शंकर लामा योन्जनको शरीरमा निदानमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । योन्जनका साखै भान्जा सञ्जीव घिसिङले मामालाई मिर्गौला दिने भन्दै २० असारमा दोरम्बा गाउँपालिकाबाट नाताप्रमाणित गरिएको थियो । तर, प्रत्यारोपणका बखत घिसिङको नभएर कभ्रेका ३६ वर्षीय एक युवकको मिर्गौला झिकिएको थियो ।

नाताप्रमाणितको कागजमा भान्जा घिसिङको फोटो उप्काएर ती युवकको फोटो टाँसी अस्पतालको प्रत्यक्ष संलग्नतामा किर्ते गरिएको थियो । किर्ते गर्नमा अस्पतालका कानुनी सल्लाहकार भट्टराईले भूमिका खेलेका थिए । मिर्गौला दिएबापत काभ्रेका युवकलाई ३ लाख रूपैयाँ दिइएको तर अस्पतालले प्रत्यारोपण गरिएका बिरामीसित ११ लाख रूपैयाँ लिएको प्रहरीको अनुसन्धानमा खुलेको थियो । अनुसन्धानका क्रममा तस्करी प्रकरणमा संलग्न पाइएका विरुद्ध प्रहरीले मानव अंग बेचबिखन मुद्दा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय