सीमा रक्षार्थ सरकारलाई बल पुर्‍याउन डा. केसीले तोडे १७औँ अनशन, ‘सीमारक्षा राष्ट्रियताको पहिलो सर्त’

९ दिनदेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसीले राष्ट्रियताको रक्षार्थ सरकारलाई सहयोग पुर्याउन १७औँ अनशन तोडेका छन् । मंगलबार साँझ डडेल्धुरा अस्पतालमा ४ वर्षीया बालिकाको हातबाट जुस पिउँदै डा. केसीले अनशन स्थगित गरेका हुन् । अनशन तोड्नुअघि डा. केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्रसमेत लेखेका छन् ।

जनताको जनजीविका, स्वास्थ्य र शिक्षामाथिको पहुँच महत्त्वपूर्ण विषय भए पनि अहिले भारतीय अतिक्रमणमा परेको नेपाली भूभागको सुरक्षा पहिलो प्राथमिकताको विषय भएको डा. केसीको भनाइ छ । नेपालको पश्चिमी सीमा मिचिएको विषयमा पछिल्लो समय राजनीतिक दलहरुबीच देखिएको अभूतपूर्र्व तदारुकतालाई परिणमसम्म पुर्याउन आमनागरिकका रुपमा सहभागी हुन हालका लागि आफ्नो अनशन स्थगित गरेको डा. केसीले विज्ञप्तिमार्फत बताएका छन् ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको सीमाक्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको समाचारले आमनेपालीसरह आफू पनि स्तब्ध भएको डा. केसीले जनाएका छन् । यस विषयमा सबै राजनीतिक दलमा तदारुकता देखिनु र आमनागरिकमा राष्ट्रियताको भावना बलियो हुनु निकै खुसीको विषय भएको डा. केसीले बताएका छन् । यद्यपि, सत्ताले राष्ट्रियताको बहानामा कर्तव्यच्युत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे आफूलाई कदापि स्वीकार्य नहुने डा. केसीको भनाइ छ ।

डा. केसीले सीमा सुरक्षाको विषय राष्ट्रियताको पहिलो सर्त भए पनि आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा विनाभेदभाव र विनाभय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्ने बताएका छन् । सीमा सुरक्षा पहिलो सर्त भए पनि त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ नहुने डा. केसीको भनाइ छ । चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्तलगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन नसक्ने उनले बताएका छन् ।

डा. केसी विगतको सत्याग्रहका क्रममा सरकारले गरेका सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायत ७ बुँदे माग राख्दै १८ कात्तिकमा सुदूरपश्चिमको डडेल्धुरा पुगेर १७औँ अनशन बसेका थिए । हालका लागि अनशन स्थगित मात्र गरिएको जनाउँदै डा. केसीले आफ्ना माग पूरा नगरिए जुनसुकै वेला सत्याग्रहलगायतका आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

 

विज्ञप्ति

दुरदारजमा बस्ने विपन्न लगायत सबै नागरिकको सुलभ, सस्तो वा निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो, गुणस्तरीय चिकित्सा वा स्वास्थ्य शिक्षा पाउने अधिकारका लागि हामी लामो समयदेखि लडिआएका छौं। यसै क्रममा सरकारसमक्ष विभिन्न ७ बुँदै माग राखेर यही कार्तिक १७ गतेदेखि सत्याग्रहरत छौं।

यही बीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ। यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु।

सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो। सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षा मात्रै काफी चाहिं छैन। आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा विना भेदभाव र विना भय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ।

आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो। तर सत्तामा हुनेहरुले राष्ट्रियताको वहाना पारेर कर्तव्यच्युत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता  खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य हुँदैन।

त्यसैले अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कुटनीतिक माध्यमबाट मिचिएको भुमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं। त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन। चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन सक्दैन।

राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं। तर स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि हाम्रो लडाइँ जारी रहने तथा सरकारले हाम्रा माग पूरा नगरेको खण्डमा पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने जानकारी पनि गराउँदछौं।

हामीलाई यस सत्याग्रहका क्रममा हृदयदेखि सहयोग गर्ने तथा हाम्रो अभियानसँग जोडिने देशभरका सबै नागरिकहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दर्छौं। डडेल्धुरा, बैतडी र डोटीलगायत सुदुरपश्चिमका सबै जिल्लाका आम नागरिक, डडेल्धुरा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, स्थानीय पत्रकारहरु, पेशागत संघ संगठनका सदस्यहरु, उद्योगी-व्यवसायीहरु, यातायात व्यवसायी र मजदुरहरु  लगायतप्रति विशेष कृतज्ञता व्यक्त गर्दर्छौं।

डा गोविन्द केसी
डडेल्धुरा
२०७६।७।२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय