डा. केसीको स्वास्थ्यअवस्था नाजुक, सरकारले पठाएको विशेषज्ञ चिकित्सकबाट उपचार गराउन अस्वीकार

१७औँ अनशनको नवौँ दिन आइपुग्दा निकै नाजुक बन्दै गएको प्रा.डा. गोविन्द केसीको स्वास्थ्यअवस्था ‘कन्फ्युजन स्टेज’मा पुगेको छ । दिनप्रतिदिन खस्किँदै गएको डा. केसीको स्वास्थ्य मंगलबार थप नाजुक बनेको डडेल्धुरा अल्पतालले जनाएको छ । यद्यपि, सरकारले डा. केसीसित वार्ताका लागि कुनै पहल थालेको छैन । माग पूरा नभएसम्म डडेल्धुरा नछाड्ने र डडेल्धुरा अस्पतालमा उपलब्ध सेवाका अतिरिक्त उपचारसेवा पनि नलिने अडानमा डा. केसी छन् ।

स्वास्थ्यअवस्था जोखिमपूर्ण बनिरहँदा पनि डा. केसीले सघन उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर हुन नमानेपछि सरकारले उनको उपचारका लागि भन्दै एकजना फिजिसियनलाई डडेल्धुरा अस्पताल पठाएको थियो । तर, डा. केसीले आफूलाई डडेल्धुरा अस्पतालमा उपलब्ध सेवाभन्दा अतिरिक्त सेवा आवश्यक नभएको भन्दै त्यहीँका चिकित्सकबाट उपचार गराउने अडान लिएका छन् । सरकारको आदेशमा डा. केसीको उपचारका लागि भेरी अस्पतालबाट मंगलबार बिहान डडेल्धुरा अस्पताल पुगेका फिजिसियन डा. राजेश मण्डललाई डा. केसीले फर्कन आग्रह गरेका छन् । सोमबार डा. केसीलाई काठमाडौं लान गएको नेपाली सेनाको हेलिकोप्टरलाई पनि उनले रित्तै फर्काइदिएका थिए ।

‘तपाईं आइहाल्नुभएछ, मेला–सेला घुमेर जानुभए हुन्छ,’ डा. केसीले डा. मण्डलसित भने, ‘डडेल्धुरा अस्पतालमै चिकित्सकहरू हुनुहुन्छ, मेरो उपचार उहाँहरूले नै गर्नुहुन्छ ।’ डडेल्धुरामा मंगलबार सुदूरपश्चिमकै ठूलो उग्रतारा मेला लागिरहेको छ । डा. केसीले डा. मण्डललाई फर्कन आग्रह गरे पनि अस्पतालले भने चिकित्सक अभाव रहेकाले उनलाई सेवा दिन भनेको छ । ‘हामीलाई जनशक्ति अभावले सेवा दिन कठिनाइ भइरहेका वेला सरकारले जिम्मेवारी दिएर पठाएको व्यक्ति बस्नुपर्छ भनेका छौँ,’ अस्पतालका निमित्तमेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले हेल्थपोस्टसित भने ।

३७ चिकित्सक दरबन्दी तर ३ जना मात्र कार्यरत, यही अवस्था सुधार्न लड्दै छन् डा. केसी
डडेल्धुरा अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सक तथा १८ जना मेडिकल अफिसरको दरबन्दी छ । तर, अहिले जम्मा २ जना विशेषज्ञ र १ एमबिबिएस चिकित्सक मात्र कार्यरत छन् । यसका अलावा एकजना छात्रवृत्ति करारका विशेषज्ञ ६ महिनाका लागि काम गरिरहेका छन् । सरकारले चिकित्सक खटाउँदा पनि अधिकांश अध्ययन बिदामा भएकालाई पठाउँदा फिल्डमा चिकित्सक अभाव भएको अस्पतालका मेसु डा. कँडेल बताउँछन् । ८–१० जना चिकित्सक अध्ययन बिदामै छन् ।

डडेल्धुरा अस्पताल संघ सरकारमातहतको टर्सेरी अस्पताल हो । संघीयताअघि १० बेडको उपक्षेत्रीय अस्पतालका रूपमा सञ्चालित यो अस्पताल संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकारमातहत गएको थियो । पछि केन्द्र सरकारले प्रदेशअन्तर्गतका ५ वटा अस्पताललाई केन्द्र सरकारमातहत ल्याउनेक्रममा यो अस्पताल पनि संघअन्तर्गत आएको थियो ।

दूरदराजका जनसामान्यको समेत स्वास्थ्य र शिक्षामा सुलभ पहुँचका लागि जीवन समर्पित गरेका डा. केसीले डडेल्धुरामा अनशन बसेर औँलामा गन्न सकिने मुलुकका संघीय अस्पतालको वास्तविक अवस्थालाई उजागर गरिदिएका छन् । दुर्गमका अस्पतालमा पनि दरबन्दीअनुसार चिकित्सक व्यवस्था गरी जनतालाई गुणस्तरीय स्वास्थ्यसेवा पुर्याउनुपर्छ भन्ने सन्देशका लागि नै डा. केसीले सरकारले पठाएका विशेषज्ञ चिकित्सकबाट उपचार गराउन अस्वीकार गरेका हुन् । डडेल्धुरा अस्पतालको दरबन्दी र सेवामा खटिने चिकित्सकको अवस्थाले नै डा. केसीको सत्याग्रहको सार्थकता पुष्टि गर्छ ।

अस्पतालले केही दिनअघिदेखि नै डा. केसीको थप उपचारका लागि आफ्नो सामर्थ्य नभएकाले सुविधासम्पन्न अस्पतालमा रेफरका लागि पहल गर्न विभिन्न निकायमा अनुरोध गर्दै आएको छ । अनशनको आठौँ दिन डा. केसीलाई काठमाडौं ल्याउन डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकोप्टर डा. केसीले आउन नमानेपछि रित्तै फर्किएको थियो । डा. केसीको अभियानका समर्थक स्थानीयले सत्याग्रहीको इच्छाविपरीत जबर्जस्ती लैजान नपाइने भन्दै विरोध जनाएपछि हेलिकोप्टर रित्तै फर्किएको थियो ।

स्वास्थ्यअवस्था नाजुक, सुगर ज्यादा घटेका कारण कन्फ्युजन स्टेजमा डा. केसी
अनशनको नवौँ दिन डा. केसीको स्वास्थ्यअवस्था निकै नाजुक रहेको अस्पतालले जनाएको छ । मेसु डा. कँडेलका अनुसार डा. केसीको सुगर जम्मा ४० को रेन्जमा छ । डा. केसी कन्फ्युजन स्टेजमा रहेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । सुगर अत्यधिक घटेकै कारण त्यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ ।
डा. केसीको रक्तचाप घट्नुका साथै अनियमित बनिरहेको छ । मेसु डा. कँडेलका अनुसार उनको रक्तचाप ९०÷४० को हाराहारीमा छ । मुटुको चाल अनियमित छ । शरीरमा अक्सिजनको मात्रा निकै घटेको छ भने श्वासप्रश्वासमा समेत समस्या भइरहेको छ । लामो समयको खाना अभावमा कमजोरीस्तर जोखिमयुक्त बनिरहेको छ ।

सत्याग्रहमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षर अभियान सुरु
डा. केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाउँदै चिकित्साशिक्षा सुधारको अभियानमा सामेल हुनेको संख्या दिनप्रतिदिन बढ्दै छ । स्थानीय वैयक्तिक तथा संस्थागत रूपमा सत्याग्रह जोडिन उत्साहित देखिएका छन् । डा. केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाउँदै मंगलबार जिल्लामा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । नागरिक आन्दोलन संघर्ष समितिको अगुवाइमा डा. केसीको माग पूरा गराउन हस्ताक्षर अभियान सुरु गरिएको हो । मंगलबार सुदूरपश्चिमकै ठूलो उग्रतारा मेला परेकाले अन्य आन्दोलनका कार्यक्रम भने स्थगित गरिएका छन् । यद्यपि, जिल्लामा सरकारी गाडी सञ्चालनमा लगाइएको रोक भने कायमै छ ।

डा. केसीको समर्थनमा नेपाल चिकित्सक संघ, ठूला ३ प्रतिष्ठान (न्याम्स, बिपी, पाटन) का आवासीय चिकित्सक, काठमाडौं विश्वविद्यालय प्रध्यापक संघ, मेडिकल विद्यार्थीलगायतले ऐक्यबद्धता जनाइसकेका छन् । देशभरका मेडिकल विद्यार्थीले डा. केसीको मागमा ऐक्यबद्धता जनाउँदै डा. केसी बचाऊ अभियानसहित प्रदर्शन गरिरहेका छन् । त्रिवि शिक्षण अस्पतालका डाक्टर विद्यार्थीले डा. केसीको समर्थनमा आन्दोलनको घोषणा नै गरिसकेका छन् ।

अघिल्लो साताको सोमबार (१८ कात्तिक) देखि डडेल्धुरा सदरमुकामको एक निजी घरबाट अनशन थालेका डा. केसीको स्वास्थ्यअवस्था बिग्रिएपछि अनशनको पाँचौँ दिन शुक्रबार उनलाई डडेल्धुरा अस्पताल सारिएको थियो । तर, अस्पतालमा आइसियूलगायत सेवा तथा जनशक्ति उपलब्ध नभएका कारण उनको आवश्यक उपचार हुन सकिरहेको छैन । उनलाई तत्कालै सुविधासम्पन्न अस्पतालमा भर्ना गरी सघन उपचारको अवाश्यक भएको चिकित्सकहरू बताउँदै आएका छन् । तर, आफ्नो माग पूरा नभएसम्म आफूले डडेल्धुरा नछोड्ने बरु सत्याग्रहकै क्रममा मृत्युवरण गर्ने अडानमा डा. केसी छन् । विगतमा आफैँले गरेको सहमतिबाट पछि हटेर समस्या निम्त्याएको सरकार भने वार्ता गर्नुको साटो झन् वतावरण बिगार्ने अभिव्यक्ति सार्वजनिक गरिहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय