सुमीको ‘मायोल्डिप ५’ औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

स्वदेशी औषधि उत्पादक कम्पनी सुमी फर्मास्युटिकल प्रालिको उत्पादन ‘मायोल्डिप ५’ (एम्लोडिपाइन बेसिलेट ट्याब्लेट्स आइपी) गुणस्तरहीन प्रमाणित भएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन भएका औषधिको नमुना परीक्षणका क्रममा उक्त औषधि गुणस्तरहीन पाइएको हो । गुणस्तरहीन प्रमाणित भएसँगै औषधिको विक्री–वितरण बन्द गरी तुरुन्त बजारबाट फिर्ता गर्न विभागले कम्पनीलाई निर्देशन दिएको छ ।

विभागका अनुसार मायोल्डिप ५ सुमी फर्मास्युटिकल्सको ब्याच नम्बर एमपी ४० को उत्पादन हो । विभागले औषधि ऐन २०३५ को दफा १४ बमोजिम सो औषधिको विक्री–वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको विभागका निमित्तमहानिर्देशक पानबहादुर क्षेत्रीले जानकारी दिए ।

यसअघि पनि विभागले विभिन्न समयमा गरेको अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधि गुणस्तरहीन पाइँदै आएका छन् । विभागको प्रत्येकजसो अनुगमनमा स्वदेशी तथा विदेशी कम्पनीका औषधि गुणस्तरहीन पाइनुले मानव स्वास्थ्यमा खेलबाड भइरहेको बुझाउँछ । अनुगमनको नजरमा नपरेका र अनुगमन परीक्षण हुनुअघि यस्ता कैयौँ गुणस्तरहीन औषधि बजारमा विक्री–वितरण भइरहेका छन् । यस्तोमा बजारबाट फिर्ता गर्नुभन्दा पनि गुणस्तरहीन औषधिलाई बजारमा प्रवेश नै नदिनु प्रमुख चुनौती बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय