सत्याग्रहमै मर्न तयार छु, तर माग पूरा नभई डडेल्धुरा छोड्दिनँ : डा. केसी, स्थानीयले पठाउन नमानेपछि रित्तै फर्कियो सेनाको हेलिकोप्टर

८ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि काठमाडौं ल्याउन डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकोप्टर रित्तै काठमाडौं फर्किएको छ । अनशनको सातौँ दिन आइतबारसम्म डा. केसीको स्वास्थ्यबारे सामान्य सोधनीसमेत नगरेको सरकारले डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोमबार भने काठमाडौं ल्याउने तयारी गरेर हेलिकोप्टर पठाएको छ । तर, डा. केसीले माग पूरा नभई डडेल्धुरा अस्पताल छोड्न इन्कार गरेपछि हेलिकोप्टर उनलाई नलिई फर्किएको हो ।

सरकारले आफ्ना माग पूरा नगरुन्जेल डडेल्धुरा नछोड्ने र बरु त्यहीँ सत्याग्रहकै क्रममा मृत्युवरण गर्न आफू तयार भएको डा. केसीले बताएका छन् । प्रशासनले जबर्जस्ती गर्न खोजेपछि सत्याग्रहीको इच्छाविपरीत लान नपाइने भन्दै स्थानीय विरोधमा उत्रिएपछि प्रशासन पछि हटेको हो ।

समस्या समाधानमा पहलकदमी लिनुपर्ने सरकारले आफैँले गरेको सझौता कार्यान्वयन नगरेर समस्या थप बल्झाएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । अनशनको ८ दिनसम्म वार्ताको सामान्य पहलसमेत नगर्ने सरकारले उनको स्थानान्तरणका लागि भने जबर्जस्ती गर्न नमिल्ने अडान उनीहरूले लिएका छन् । डा. केसीले दूरदराजमा बस्ने विपन्न नागरिकको समेत स्वास्थ्य र शिक्षामा सहज र समान पहुँच हुनुपर्ने माग उठाएर निरन्तर सत्याग्रह चलाउँदै आएकाले उनका जनमुखी मागको सम्बोधन हुनुपर्ने स्थानीयको भनाइ छ ।

डा. केसीको समर्थनमा सोमबार डडेल्धुराका स्थानीय तथा नागरिकसमाजले विरोध प्रदर्शन गर्दै ७ जिल्लामा सरकारी गाडी आवागमनमा रोक लगाएका थिए । नागरिकसमाज, विभिन्न संघसंस्था, मेडिकल विद्यार्थी तथा स्थानीयले डा. केसीको मागमा ऐक्यबद्धता जनाउँदै प्रदर्शन गर्दै आए पनि जननिर्वाचित प्रतिनिधि, सरकार र राजनीतिक दलले भने उदासीनता देखाउँदै आएका छन् ।

डा. केसीको अनशन, स्वास्थ्यअवस्था र थप उपचारबारे छलफलका लागि सोमबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सर्वपक्षीय बैठक बोलाएको थियो । भेलामा डा. केसीलाई हेलिकोप्टरबाट काठमाडौं लाने प्रशासनको प्रस्तावमा स्थानीयले असहमति जनाएका हुन् । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको पहलमा बोलाइएको बैठकमा सत्याग्रहीको इच्छाविपरीत जबर्जस्ती अन्यत्र पठाउनुभन्दा उनको माग पूरा गर्नतर्फ पहल गर्नुपर्ने आवाज उठेपछि बैठक निष्कर्षविहीन बनेको थियो ।

डा. केसीसँगको सम्झौता अक्षरसः कार्यान्वयन गर : चिकित्सक संघ
नेपाल चिकित्सक संघ (एनएमए) ले ८ दिनदेखि डडेल्धुरामा आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको जीवनरक्षाको माग गरेको छ । डा. केसीको स्वास्थ्यअवस्था नाजुक बन्दै गएको अवस्थामा सरकारले वार्ता गरी समस्या समाधान गर्नुपर्ने माग एनएमएको छ । चिकित्साशिक्षा तथा स्वास्थ्यसेवाका अभियन्ता डा. केसी एनएमएका आजीवन सदस्यसमेत हुन् ।

१७औँ अनशनको आठौँ दिन सोमबार विज्ञप्ति जारी गर्दै एनएमएले डा. केसीसित सरकारले विगतका सत्याग्रहका क्रममा गरेका सम्झौता अक्षरसः कार्यान्वयन गर्न सरकारलाई चेतावनी दिएको छ । चिकित्साशिक्षा र स्वास्थ्यसेवालाई संविधानको भावना र मर्मबमोजिम स्थानीय तहसम्म पुर्याई सर्वसाधारण नागरिकको सहज पहँुच विस्तारका लागि पटक–पटक सत्याग्रह गर्दै आएका डा. केसीसँग तत्काल वार्ता गरी विगतका सम्झौता कार्यान्वयनसहित उनले उठाएका माग पूरा गर्नुपर्ने माग एनएमएको छ । डा. केसीको शरीरमा सुगर र अक्सिजनको मात्रा कम भएका कारण तत्कालै आइसियूसेवा उपलब्ध स्वास्थ्यसंस्थामा रेफर गरी उपचार गराउन एनएमएले सुझाब दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय