कृष्ण चौहान : रगत जुटाउने योद्धा

कसैलाई रगत चाहियो ? ब्लड बैंकमा रगत सकियो ? मिल्ने समूहको रगत पाइएन ? बुटवलमा यस्ता समस्या आउँदा सबैले लिने एउटै नाम हो, कृष्ण चौहान क्षेत्री । नेपाल नियमित रक्तदाता समाज बुटवलका अध्यक्ष चौहान रगत जुटाउने अभियानका अगुवामध्ये एक हुन् । बुटवल–८, खुख्खानगरका चौहान रक्तदाता समाजमार्फत रगत जुटाउने र रक्तदानका लागि प्रेरित गर्ने गर्छन् । उनी स्वयम् पनि प्रत्येक तीन महिनामा रक्तदान गर्छन् । उनीसँग रगतको आपत् पर्दाका लागि दुर्लभ रगत समूहसहितका करिब ६ सय रक्तदाताको सूची छ ।

रक्तदाता समाजले दुर्लभ रगतको व्यवस्थापनका लागि दुर्लभ रगत भएका व्यक्तिको नाम र सम्पर्क नम्बरसहितको सूची बनाएको छ । समाजले ब्लडबैंकमा स्टकका रूपमा नहुने दुर्लभ रगतको व्यवस्थापन उक्त सूचीमा रहेका व्यक्तिलाई बोलाएर गर्दै आएको छ ।

चौहानलाई रक्तदान गरेर समाजसेवा गरेबापत गत वर्ष एसियन थाई फुड प्रोडक्ट्स प्रालिले ‘समाजसेवा भोक’ नामक सेवाबाट १ लाख रूपैयाँसहित सम्मान गरिसकेको छ । सम्मानबाट प्राप्त सो रकम चौहानले आफूआबद्ध स्वयंसेवी रक्तदाता समाजलाई प्रदान गरेका छन् ।

रक्तदाता समाज रूपन्देही शाखाले विभिन्न समूह र संस्थासँग मिलेर रक्तदान कार्यक्रमको आयोजनामार्फत रगत संकलनमा सहयोग गर्दै आएको छ । समाजले तेस्रोलिंगी युवा समूहसँगको संयुक्त समन्वयमा विशेष रक्तदानसमेत गर्ने गरेको छ । रक्तदानको सन्देश बाँड्न रक्तदान कार्यक्रमको आयोजना गर्ने गरिएको ब्लु डायमन्ड सोसाइटी रूपन्देहीकी अध्यक्ष आनिक राना बताउँछिन् ।

रक्तसञ्चार केन्द्र बुटवलकी वरिष्ठ ल्याब टेक्निसियन राधा ज्ञवाली पनि रक्तदाता समाजबाट रगत व्यवस्थापनमा सहयोग पुगेको बताउँछिन् । ज्ञवालीका अनुसार रक्तसञ्चार केन्द्रमा मुख्यतः ओ नेगेटिभ, डेंगुका लागि सेतो रगत र मिर्गौलाको डायलाइसिस गरिरहेका बिरामीका लागि ताजा रगत माग हुने गरेको छ । रक्तदान गर्नुपर्छ भन्ने सन्देश दिन र अभाव परेको खण्डमा रगत व्यवस्थापन गर्नमा समूह सक्रिय रहेको ज्ञवाली बताउँछिन् ।

कृष्ण चौहान पेसाले लेखा विषयका शिक्षक हुन् । उनले एक सहकारीको नेतृत्वसमेत सम्हालेका छन् । यद्यपि, दिनको दुई घण्टा नियमित ब्लकबैंकमा जाने गरेका छन् । ‘रक्तदान मेरा लागि नसाजस्तो भयो,’ ६२ पटक रक्तदान गरिसकेका चौहान भन्छन्, ‘कहिले ९० दिन पुग्छ र रक्तदान गरौँला भन्ने पर्खाइमा हुन्छु ।’ ‘रगत नपाए बुटवल जानू’ अभियान चलाउँदै आएका चौहान पछिल्लो समय रक्तदाताले निःशुल्क दिएको रगत बिरामीलाई पनि निःशुल्क दिलाउने अभियानमा समेत छन् ।

यसरी जोडिए रक्तदानमा
०६१ सालको कुरा हो, चौहान एकदिन बुटवलको ट्राफिकचोकमा हिँडिरहेका थिए । एकजना पाका व्यक्तिले उनलाई रोकेर छोरीका लागि कतै रगत नपाइकाले सहयोग गर्न आग्रह गरे । पाका मान्छेको अनुरोधपछि ‘मिल्छ भने दिन्छु’ भनेर उनी ब्लडबैंक पुगे । चेकजाँचका क्रममा उनको रक्तचाप कम देखियो । ब्लडबैंकका कर्मचारीले प्रेसर लो भएका कारण रक्तदान गर्न मिल्दैन भनेपछि चौहान त्यस दिन रक्तदान गर्नबाट वञ्चित भए । यससँगै छोरीको ज्यान बचाउनका लागि रगत जुटाउन चौहानलाई खोजेर त्याहाँ पुर्याएका ती पाका व्यक्ति निराश भए । यो देखेर चौहानलाई निको लागेन ।

केही दिनपछि चौहानले स्थानीय एफएममा सरोज सिलवालको अन्तर्वार्ता सुने । त्यही सूचनाका आधारमा कार्यक्रममा भाग लिन ब्लडबैंकमा गए । रक्तदानका लागि दोस्रोपटक चेकजाँच गर्दा उनको प्रेसर ठिक भेटियो । पुस ०६१ को कुरा थियो, उनले पहिलोपटक रक्तदान गरे । त्यतिवेला उनी स्नातकोत्तर अध्ययन गर्दै थिए । त्यसपछि भने उनले तीन–तीन महिनामा रक्तदान गरिरहेका छन् । अहिलेसम्म उनले ६२ पटक रक्तदान गरिसकेका छन् ।

सरोज सिलवाल नेपाल नियमित रक्तदाता संघ, बुटवलका अध्यक्ष थिए । उनको दुर्घटनामा मृत्यु भएपछि संस्थाले गति लिन सकेको थिएन । सो संस्थाको केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य थिए । चौहानले कर्माचार्यसँग कुराकानी गरेर ०६९ चैतमा रूपन्देही शाखा खोले । स्थापनादेखि नै संस्थाले नियमित रूपमा महिनाको अन्तिम साता रक्तदान गर्ने गरेको छ । रक्तदाता समाज रूपन्देहीले गत भदौमा ७८औँ पटक मासिक रक्तदान गरिसकेको छ ।

यसरी जन्मियो स्वयंसेवी रक्तदाता समाज
०६९ मा स्थापना भएको रक्तदाता समाजले आजीवन सदस्य बनाएर रक्तदान गर्नेहरूको सञ्जाल बनाउने गरेको छ । सदस्य बन्नका लागि समाजले पाँच सय शुल्क र पाँच सय सहयोग गरी एक हजार लिने गर्छ । समाजमा ५ सयभन्दा बढी सदस्य छन् । समाजले रगत संकलन गर्ने, रक्तदानबारे सचेतना फैलाउनेलगायत काम गर्दै आएको छ ।

समाजले ‘१८ वर्ष भएसँगै रक्तदान गरौँ’ भन्ने अभियान चलाइरहेको छ । ‘नयाँ डोनर उत्पादन गर्ने समाजको अभियान छ,’ चौहानले भने, ‘४० वर्ष पुगेपछि नियमित रक्तदान गर्ने व्यक्तिको संख्या घट्दै जाने हुँदा हामीले नयाँ रक्तदाता जन्माउने उपाय निकालेका हौँ । समाजले १८ वर्ष पुगेकाहरूलाई ‘स्टाट एटिन स्टार्स’ समूहमार्फत रक्तदानमा जोड्ने गरेको छ । महिनाको पहिलो शनिबार यो समूहले नियमति रूपमा रक्तदान गर्छ भने समाजले अन्तिम शनिबार गर्दै आएको छ ।

०६९ मा स्थापना भएको रक्तदाता समाजले आजीवन सदस्य बनाएर रक्तदान गर्नेहरूको सञ्जाल बनाउने गरेको छ । सदस्य बन्नका लागि समाजले पाँच सय शुल्क र पाँच सय सहयोग गरी एक हजार लिने गर्छ ।

रक्तदाता समाजसँग रक्तदाताको सूची छ । धेरैजसो नेगेटिभ रगतको अभाव हुने हुँदा त्यसतर्फ समाजले बढी ध्यान दिने गरेको चौहान बताउँछन् । उनीसँग कम पाइने रगतमध्ये ए नेगेटिभका ५० जना, ओ नेगेटिभका १०३ जना, एबी नेगेटिभका २७ जना, बी नेगेटिभका ८२ जनासहित झन्डै ६ सयजना रक्तदाताको सूची छ ।

रक्तसञ्चार केन्द्रमा नेगेटिभ गु्रपको ब्लड रक्तदानमार्फत संकलन गर्ने गरिएको छैन । आवश्यक पर्दा रक्तदातालाई बोलाएर रगत जुटाउने गरिएको छ । रक्तदाता समाजले मात्रै बुटवलमा वर्षदिनमा २ हजार युनिटभन्दा बढी रगत संकलन गर्ने गरेको छ । चौहानका अनुसार रूपन्देहीमा झन्डै २० हजार युनिट रगत खपत हुन्छ । रगतको माग बर्सेनि बढ्दो छ । यस वर्ष धेरैमा डेंगु देखिएका कारण रगतको आवश्यकता अझै बढ्न सक्ने चौहान बताउँछन् ।

जीवन नै रगत खोज्नमा
कृष्ण चौहान पेसाले लेखा विषयका शिक्षक हुन् । बिहानमा कक्षा ११ र १२ मा शिक्षण गर्छन् । उनले एक सहकारीको नेतृत्वसमेत सम्हालेका छन् । यद्यपि, दिनको दुई घण्टा नियमित रूपमा ब्लकबैंकमा जाने गरेका छन् । ‘रक्तदान मेरा लागि नसाजस्तो भयो,’ उनी भन्छन्, ‘कहिले ९० दिन पुग्छ र रक्तदान गरौँला भन्ने पर्खाइमा हुन्छु ।’

बिरामीले रगत पाउँदा उसको अनुहारमा छाएको खुसीभन्दा आफू बढी खुसी हुने गरेको चौहान बताउँछन् । भूकम्प गएको वर्ष (०७२) जेठ ३ गते एकैदिन सबैभन्दा बढी ३१६ जनाले रक्तदान गरेको अनुभव उनीसँग छ । त्यस दिन करिब १०० जनालाई रक्तदान नगराई फिर्ता पठाएको उनले बताए । त्यतिवेला संकलित रगत काठमाडौं पठाइएको थियो । उनले ‘रगत नपाए बुटवल जानू’ भन्ने अभियान चलाइरहेको बताए । चितवनको क्यान्सर अस्पतालमा रगत अभाव हुँदा चौहानले नै समन्वय गरेर पठाउने व्यवस्था मिलाएका छन् । आमा, श्रीमती र दुई छोरीका साथ बस्दै आएका चौहानलाई समाजसेवाले कहिल्यै फुर्सद हुँदैन ।

रक्तदाता समाजसँग रक्तदाताको सूची छ । धेरैजसो नेगेटिभ रगतको अभाव हुने हुँदा त्यसतर्फ समाजले बढी ध्यान दिने गरेको चौहान बताउँछन् । उनीसँग कम पाइने रगतमध्ये ए नेगेटिभका ५० जना, ओ नेगेटिभका १०३ जना, एबी नेगेटिभका २७ जना, बी नेगेटिभका ८२ जनासहित झन्डै ६ सयजना रक्तदाताको सूची छ ।

अबको अभियान : बिरामीले निःशुल्क रगत पाउनुपर्छ
चौहानले अर्को अभियान पनि थालेका छन् । ‘अब जुनसुकै बिरामीले निःशुल्क रगत पाउनुपर्छ’ भन्ने उनको अभियान छ । रगतको शुल्क तिर्न नसक्ने ७० वर्षमाथिका बिरामीलाई राहत दिन रक्तदाता समाजले एउटा कोष बनाएको छ । पैसा अभावका कारण कोही पनि रगत पाउनबाट वञ्चित हुन नहुने चौहान बताउँछन् । ‘रगत लिँदा लाग्ने शुल्क राज्यले दिनुपर्छ भन्ने हाम्रो माग छ,’ चौहान भन्छन्, ‘देशभरको अभ्यास हेर्दा रक्तसञ्चार केन्द्रहरूले कर्मचारी र परीक्षणका लागि शुल्क लिने गरेका छन्, जुन लागतभन्दा बढी नै छ भन्ने लाग्छ ।’

ब्लड बैंकले विभिन्न टेस्टका लागि एक प्वाइन्ट रगतबापत निजी अस्पतालमा उपचार गराइरहेका बिरामीबाट ८२५ र सरकारी वा सामुदायिक अस्पतालमा उपचार गराइरहेकाबाट ७२५ सय रूपैयाँ सेवाशुल्क लिँदै आएको छ । ‘टेस्टको रकम सरकारले उपलब्ध गराएर रक्तदाताले निःशुल्क दिएको रगत बिरामीलाई पनि निःशुल्क नै दिइनुपर्छ भन्ने हाम्रो माग हो,’ क्षेत्रीले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय