चितवनका २ पोल्ट्री फर्ममा भेटियो बर्डफ्लुको एच९ प्रकार, सजगता अपनाउन कुखुरापालकलाई सुझाब

चितवनका केही पोल्ट्री फर्ममा एभियन इन्फ्लुएन्जाको संक्रमण देखिएको छ । राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरका अनुसार चितवनका दुईवटा पोल्ट्री फर्ममा एच९ एभियन इन्फ्लुएन्जा देखापरेको हो ।

‘भरतपुर महानगरपालिका–८ गौरीगन्ज र रत्ननगर नगरपालिका–१३ मा रहेका पोल्ट्री फर्मका कुखुरामा रेपिड टेस्ट (एनडिआइविडी र एआई) गर्यौँ । त्यसमा बर्डफ्लुको शंका लागेर ४ कात्तिकमा काठमाडौंमा रहेको सेन्ट्रल भेटेरिनरी ल्याबोरेटोरी पठाएका थियौँ,’ राट्रिय पछीरोग अन्वेषण प्रयोगशालाका सूचना अधिकारी तथा पशुचिकित्सक इन्दुराय यादवले भने, ‘परीक्षण गर्दा कुखुरामा एभियन इन्फ्लुएन्जा भएको पुष्टि भयो ।’ अहिले एभियन इन्फ्लुएन्जा देखापरेको स्थानमा समस्या समाधान भएको यादवले बताए । तर, कुखुरा नष्ट गरे–नगरेको विषयमा भने खुलाइएको छैन ।

के हो एभियन इन्फ्लुएन्जा ?
एभियन इन्फ्लुएन्जा बर्डफ्लुको एउटा स्वरूप हो । यो रोग विशेषगरी चरा प्रजातिबाट फैलिने गर्दछ । संक्रमित वा मरेको कुखुराको सम्पर्कमा रहँदा मानिसलाई सर्ने खतरा हुन्छ । तर, एभियन इन्फ्लुएन्जा भाइरस मानिसमा संक्रमण नहुने पशुचिकित्सक यादव बताउँछन् । ‘बर्डफ्लुमा एच५एन१ हुने गर्छ, तर अहिले चितवनमा देखिएको एच९ भाइरस हो । यसलाई बर्डफ्लुको सुरुवाती चरण भन्ने गरिन्छ,’ उनले भने, ‘यो भाइरस तत्काल मानिसमा सर्दैन । तर, कुखुरा भने संक्रमणबाट मर्ने गर्छन् ।’

बर्डफ्लुको भाइरस विशेषगरी कुखुराको मासु, प्वाँख, सिँगान, र्याल, सुली, अन्डा, अन्डा राख्ने क्रेट आदिको सम्पर्कबाट सर्दछ । रोगी कुखुरा पानीमा तैरिरहेको अवस्थामा समेत मानिसलाई सर्ने खतरा हुने उनले बताए ।

व्यावसायिक रूपमा पालन गरिने कुखुरा र हाँसलगायतबाट मात्रै नभई रैथाने एवम् बसाइँसराइ गर्ने चराहरूबाट पनि एभियन इन्फलुएन्जा भाइरस सर्ने गर्दछ । खासगरी पशुपक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसार–पसारलगायत काममा संलग्न व्यक्तिले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

रामनगरमा रहेको पशु क्वारेनटाइन चेकपोस्टले पशुजन्य वस्तुको ओसार–प्रसारमा कडाइ गरेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक डा. दिनेश शाह बताउँछन् । ‘हामीले चालू आर्थिक वर्षमा २ लाख ४० हजार ७ सय ४२ वटा ब्रोइलर कुखुरा, ६६ लाख ८२ हजार ७ सय १७ ब्रोइलर चल्ला र ६६ लाख १७ हजार २७ वटा लेयर्स चल्ला चेक गरेर पास गराएका थियौँ,’ शाहले भने, ‘यो अवधिमा एउटा पनि कुखुरा नष्ट गर्नुपरेको छैन ।’

रामनगरमा रहेको क्वारेनटाइनले अवैध कुखुराको अनुगमन र रोग लागे–नलागेको विषयमा अनुगमन गर्ने गर्दछ । जटिल प्रकारका रोगहरू राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालामा ल्याएर परीक्षण गराउने गरिएको उनले बताए । बिरामी कुखुरा देखियो भने डिस्पोज गरिने जानकारी उनले दिए ।

कसरी अपनाउने सावधानी ?
इन्फ्लुएन्जा लागेपछि कुखुराहरू झोक्राउँदै मर्ने गर्छन् । विशेषगरी, जाडो मौसममा विभिन्न रोगहरू देखापर्ने भएकाले किसानले चिकित्सकको सल्लाहअनुसार कुखुरा पालन गर्नुपर्ने राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालाका प्रमुख वरिष्ठ पशुचिकित्सक चेतनारायण खरेलले बताए । ‘चिसो मौसममा कुखुराको तापक्रम व्यवस्थापन गर्नुपर्दछ । तापक्रम नमिल्दा श्वासप्रश्वासमा समस्या हुने रोगहरू बढी हुन्छन्,’ उनले भने, ‘यस्तो अवस्थामा एच९ जस्ता रोग पनि देखापर्न सक्छन् ।’ व्यवसायीले दानालगायत सामग्रीसँगसँगै कुखुराको ओसार–पसार गर्न नहुने उनले बताए ।

चितवनमा दैनिक १५ देखि २० वटा कुखुरा पोस्टमार्टमका लागि ल्याउने गरिन्छ । यहाँ चितवनसहित मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, तनहुँ, लमजुङबाट कुखुरा परीक्षणका लागि ल्याइँदै आएको छ । गत वर्ष पनि चितवनमा कुखुरामा एभियन इन्फ्लुएन्जा देखिएको थियो । त्यतिवेला थुप्रै कुखुरा मरेका थिए ।

पोल्ट्री फर्ममा काम गर्नेले जैविक सुरक्षाका साथै खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउने, चल्ला र दाना विक्री गर्दा स्वास्थ्य प्रमाणित भए–नभएको परीक्षण हेरेर मात्र किन्नुपर्ने भेटेरिनरी अस्पतालका प्रमुख वरिष्ठ पशुचिकित्सक दयाराम चापागाईंले बताए । विशेषगरी फागुन महिनाबाट बर्डफ्लु देखा पर्ने भए पनि चितवनमा कात्तिकमै एभियन इन्फ्लुएन्जा देखिएकाले किसानहरू सचेत हुनुपर्ने उनको भनाइ छ । एच९ भाइरस चितवनमा रैथानेजस्तै भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय