मंसिरभित्र लुम्बिनी अस्पतालको सटर छाड्न व्यवसायीलाई प्रदेश ५ सरकारको अल्टिमेटम

प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका सटरहरू खाली गर्ने समयसीमा एक महिनाका लागि थप गरेको छ । प्रदेश सरकारको निर्देशनअनुसार अस्पतालले सटर खाली गरेर पर्खाल लगाउने र अस्पतालको सौन्दर्यीकरण गर्ने भन्दै ३० साउनमा खाली गर्न सार्वजनिक सूचना प्रकाशित गरेको थियो । सूचनामा तीन महिनाको म्याद दिइएकोमा प्रदेश सरकारले एक महिनाको समय थप गर्ने निर्णय गर्दै मंसिर महिनासम्म खाली गर्न अल्टिमेटम दिएको हो ।

अस्पतालको उत्तरपूर्वतर्फ ७३ वटा सटर भाडामा सञ्चालनरत छन् । ती सटरबाट लुम्बिनी प्रादेशिक अस्पतालले वार्षिक रूपमा ८ करोड ७० लाख र उत्तरतर्फको अस्पतालको जग्गाबाट करिब १ करोड ३० लाख भाडा उठाउँदै आएको थियो । भाडाबाट अस्पतालले गर्दै आएको आम्दानीबराबरको रकम प्रदेश सरकारले दिने तर अस्पताललाई व्यवस्थित गर्ने सरकारले बताउँदै आएको छ ।

व्यवसायीलाई सटर छाड्न दिइएको तीनमहिने म्याद ३० कात्तिकमा सकिँदै छ । मंसिर महिनाको भाडा नलिने गरी सटर खाली गर्न समय दिने र त्यो अवधिमा पनि नछाडे डोजर चलाएर खाली गरिने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता चौधरीले सटर हटाएपछि आकर्षक पर्खाल लगाएर विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्न लागिएको बताए ।

‘लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा लिइएको छ,’ सरकारका प्रवक्ता चौधरीले भने, ‘व्यवसायीका लागि अप्रिय भए पनि जनताका लागि यो राम्रो निर्णय हो ।’

प्रादेशिक अस्पतालको सेवा सुधार गर्दै निजी अस्पतालमा जस्तै केही बढी शुल्क लिएर दोस्रो सिफ्टमा सेवा दिने योजना रहेको मन्त्री चौधरीले बताए । अस्पतालका डाक्टरहरू ड्युटी समयमै क्लिनिकमा धाउने प्रवृत्ति रोक्न पनि सटर हटाउने निर्णय गर्नुपरेको उनको दाबी छ । उनले सरकारको यो निर्णयले जनताले सरल र सहज रूपमा स्वास्थ्यसेवा पाउने विश्वास व्यक्त गरे ।

मन्त्रिपरिषद्ले प्रादेशिक सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा काठमाडौं नयाँबानेश्वरका ४५ वर्षीय अनुप बास्कोटालाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री चौधरीले जानकारी दिए । मन्त्रिपरिषद्ले प्राइभेट फर्म दर्ता नियमावली २०७६ लाई स्वीकृति दिने निर्णयसमेत गरेको छ । यस्तै, सरकारले प्रदेशका ६ जिल्ला रूपन्देही, पाल्पा, बाँके कपिलवस्तु, रोल्पा र दाङमा सामाजिक विकास डिभिजन खोल्ने निर्णयसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय