सुदूरपश्चिम सरकारले सवा ६ करोडमा किनेका १६ अत्याधुनिक एम्बुलेन्स स्वास्थ्यसंस्थालाई हस्तान्तरण

सुदूरपश्चिम प्रदेश सरकारले सवा ६ करोडमा किनेका १६ अत्याधुनिक एम्बुलेन्स वितरण गरेको छ । बुधबार धनगढीमा एक कार्यक्रमका बीच प्रदेश सरकारले स्वास्थ्यसंस्थाहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

प्रदेशअन्तर्गतका ९ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी अस्पताल तथा स्वास्थ्यचौकीलाई अत्याधुनिक एम्बुलेन्स प्रदान गरिएको छ ।

अब एम्बुलेन्स अभावमा प्रदेशवासीले मर्नुनपर्ने दाबी
एम्बुलेन्स हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले अब सुदूरपश्चिम प्रदेशमा एम्बुलेन्स अभावले बिरामीले ज्यान गुमाउनुनपर्ने दाबी गरे । प्रदेशको स्वास्थ्यसेवालाई गुणस्तरीय तथा छिटोछरितो बनाउने उद्देश्यका साथ मन्त्रालयले अत्याधुनिक एम्बुलेन्स खरिद गरी स्वास्थ्यसंस्थालाई उपलब्ध गराएको मन्त्री सुवेदीको भनाइ छ ।

आधुनिक प्रविधिजडित एम्बुलेन्स
सुदूरपश्चिमका अधिकांश स्वास्थ्यसंस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलिन्डरबाहेकका सुविधा थिएनन् । हाल वितरित १६ वटा नयाँ एम्बुलेन्समा फुल एसीसहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिन्डर, सुरक्षाका अन्य थुप्रै उपकरणलगायत सुविधा उपलब्ध छन् । नयाँ एम्बुलेन्सका चालकलाई तालिम प्रदान गरिरहेको सुदूरपश्चिम स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

कुन–कुन स्वास्थ्यसंस्थाले पाए ? कुन जिल्लालाई कति ?
सामाजिक विकास मन्त्रालयले प्रदेशका ९ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र तथा स्वास्थ्यचौकी गरी १६ वटा स्वास्थ्यसंस्थालाई एक–एकवटा एम्बुलेन्स वितरण गरेको छ । यसमध्ये सबैभन्दा बढी अछामका ४ स्वास्थ्यसंस्थामा एम्बुलेन्स दिइएको छ ।

ठूलो स्वास्थ्यसंस्थामा सेती प्रादेशिक अस्पताललाई एम्बुलेन्स दिइएको छ । त्यसैगरी, जिल्ला अस्पताल डोटी र जिल्ला अस्पताल अछामले पनि आधुनिक एम्बुलेन्स पाएका छन् । त्यस्तै, एम्बुलेन्स पाउने प्राथमिक स्वास्थ्यकेन्द्र र स्वास्थ्यचौकीमा दार्चुलाको हिकिला स्वास्थ्यचौकी र खार स्वास्थ्यचौकी, बैतडीको कुलाउ स्वास्थ्यचौकी र रुद्रेश्वर स्वास्थ्यचौकी, बझङको रायल प्राथमिक स्वास्थ्यकेन्द्र र मटेला स्वास्थ्यचौकी, डडेल्धुराको जोगबुडा अस्पताल र नवदुर्गा स्वास्थ्यचौकी, अछामको बालबा स्वास्थ्यचौकी, बान्नौगढी स्वास्थ्यचौकी र कमलबजार प्राथमिक स्वास्थ्यकेन्द्र, बाजुराको टाटे स्वास्थ्यचौकी, कञ्चनपुरको महाकाली अस्पताल छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय