मेडिकल कलेजको शोषणविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन, अवैध शुल्क फिर्ता गराएरै फर्किने उद्घोष

चिकित्साशिक्षा संघर्ष समितिले मेडिकल कलेजको अवैध असुलीविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । कलेजले विद्यार्थीबाट अवैध रुपमा असुलेको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्नेलगायत माग राख्दै संघले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

सेतो एप्रोनसहित प्रदर्शनमा सहभागी भएका मेडिकल विद्यार्थीले चिकित्साशिक्षा सुधारको नारा घन्काए । प्रदर्शनमा गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज, युनिर्भसल कलेज अफ मेडिकल साइन्सेस र नेसनल मेडिकल कलेजका विद्यार्थीसहित चिकित्साशिक्षा सुधारका अभियन्ता सहभागी थिए ।

प्रदर्शनकारीले ‘विद्यार्थीमाथिको दमन बन्द गर, अतिरिक्त शुल्क फिर्ता गर, विद्यार्थीलाई मानसिक तनाव दिन पाइँदैन, मेडिकल माफिया मुर्दावाद, स्वास्थ्यकर्मीमाथि दमन गर्न पाइँदैन’लगायत नारा अंकित प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । राज्यले तोकेको शुल्कमा विद्यार्थीले पढ्न पाउनुपर्ने तथा कलेजको शोषणमा परेका विद्यार्थीले न्याय पाउनुपर्नेमा विद्यार्थीको जोड थियो ।

प्रदर्शनकारीले न्याय नपाएसम्म काठमाडौंमा आन्दोलन जारी राख्ने बताएका छन् । सरकारले तोकेको शुल्क कार्यान्वयन नगर्ने, विद्यार्थीबाट लाखौँ रुपैयाँ लिने तथा उल्टै कलेजले सञ्चालकले नै गुन्डा लगाएर विद्यार्थीमाथि कुटपिट गर्ने, बन्धक बनाउनेलगायत ज्यादती गरेपछि काठमाडौंमा आएर आन्दोलन गर्नुपरेको चितवन मेडिकल कलेजका विद्यार्थी प्रवीण लामाले बताए । सरकारले पटक–पटक मेडिकल कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न निर्देशन दिए पनि कलेज सञ्चालकले अटेरी गरेका कारण आफूहरु आन्दोलनमा उत्रिनुपरेको लामाको भनाइ छ ।

यसअघि सोमबार नेपाल मेडिकल काउन्सिलले विद्यार्थीमाथि भएको शोषणको तत्काल छानबिन गरी कारबाहीका लागि चिकित्साशिक्षा आयोगलाई लेखी पठाउने बताएको छ । त्यसअघि शिक्षा मन्त्रालय र आयोगले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई अतिरिक्त शुल्क फिर्ता गर्न कलेजहरुलाई भनिसकेको छ ।

सरकारले पहिले पनि पटक–पटक अवैध असुलिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न समयसीमा तोकेरै निर्देशन दिइसकेको थियो । तर, कलेज सञ्चालकले भने सरकारको निर्देशन र विद्यार्थीको आन्दोलन दुवैलाई बेवास्ता गर्दै आएका छन् । आआफ्नो कलेजमा आन्दोलित हुँदा सञ्चालकले भौतिक रुपमै दमन गरेपछि विद्यार्थीहरु राजधानीमा भेला भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय